आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन

सोमबार, २० भदौ २०७९, १३ : ०२
सोमबार, २० भदौ २०७९

रुपन्देहीको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र  नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सब स्टेसनको उद्घाटन गरेकी हुन् ।

 प्रसारण लाइन र सब स्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन्। ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ, यसका साथै बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिने छ,’उनले भनिन्, ‘खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको विस्थापित गर्ने, उद्योगलाई मागे जति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सब स्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागे जति विद्युत् दिन सकिने अवस्था बनेको बताउनुभयो । बुटवल सबस्टेसनमात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।

‘लोडसेडिङ अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति, उद्योगलाई मागेजति विद्युत् दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् दैनिक रूपमा झन्डै १० करोड रुपैयाँको निर्यात गरिरहेका छौँ ।’

स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युत्को भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सब स्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बन्ने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप