सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

होमस्टे : ग्रामीण विकासको औजार

सोमबार, २० भदौ २०७९, १२ : ५५
सोमबार, २० भदौ २०७९

विश्वमा भइरहेको आर्थिक असमानतालाई न्यूनीकरण गर्न विभिन्न देशहरूमा विभिन्न छलफल, सेमिनार, अन्तत्र्रिmया तथा गोष्ठी भइरहने गर्दछन् । आजका अर्थशास्त्रीहरूको सम्भाव्यता र चुनौती पनि यसैसँग जोडिएर आएको छ । आर्थिक विपन्नता बढ्दै जाँदा यसले समाज, राष्ट्र र विश्वमा नै नकारात्मक परिस्थिति सिर्जना गर्छ भन्ने कुरालाई मध्यनजर गर्दै नयाँ सोचका साथ गरिबी न्यूनीकरण विषयमा विभिन्न अनुसन्धान भएका छन् । लामो बहसपछि सेयरिङ इकोनोमी वा चलायमान आर्थिक अवसरलाई कसरी बाँडफाँट गर्न सकिन्छ भनेर अध्ययनहरू गरिँदै छ । यही अवधारणाका माध्यमबाट नयाँ आर्थिक वितरणको सम्भाव्यताका आधारमा होमस्टे व्यवसायलाई व्यवस्थित गर्दै लगिएको विश्व परिवेशबाट पनि बुझ्न सकिन्छ ।

होमस्टेको इतिहास अध्ययन गर्दा सन् १९७८ मा मलेसिया सरकारले विकासको औजारका रूपमा प्रयोग गरेको देखिन्छ । यो अत्यन्तै प्रभावकारी भएको पनि विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यसको माध्यमबाट बहुआयामिक क्षेत्रको विकास गर्न सकिन्छ । जस्तै स्वास्थ्य, शिक्षा, सामाजिक परिवेश, वातावरण संरक्षण, कला संस्कृतिको विकास आदिमा समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।

पर्यटन व्यवसायी सुविधा सम्पन्न स्थान (सहर) मा मात्र केन्द्रित भई ठूलो लगानी गर्ने र त्यसबाट प्राप्त नाफा उनीहरूले मात्र प्राप्त गर्दा एउटा ग्रामीण क्षेत्र वा दूरदराजमा बस्ने मानिस वञ्चित हुन्छ । यसबाट उनीहरूलाई फाइदा पु¥याउन सकिन्छ भनेर होमस्टेले अवधारणा ल्याइएको हो । यसलाई विकासोन्मुख देशहरूले विकासको औजारको रूपमा नै स्वीकार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

होमस्टे विश्व पर्यटनको एक महत्त्वपूर्ण अङ्का रूपमा विकास हुँदै गएकाले पर्यटनको विस्तार भएका ठाउँमा सँगै जोडिएर आउँछ । ग्रामीण क्षेत्रका मानिसलाई सचेत गराउने र नागरिकको आर्थिक अवस्था सुधार गर्न यसलाई औजारको रूपमा लिन सकिन्छ ।

नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । नेपालमा अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । सोअनुसार होमस्टे सञ्चालनका मूलतः दुईवटा उद्देश्य छन् । पहिलो, पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने हो । दोस्रो, उद्देश्य पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकास विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने ।

हाम्रोजस्तो भौगोलिक विविधता भएको मुलुकमा होमस्टे सञ्चालनको ठूलो महत्त्व छ । हिमाल, पहाड र तराईले मिलेर बनेको देश हो नेपाल । यहाँ १२५ जातजाति र १२३ भाषाभाषी छन् । प्रत्येक जातिका भाषा, कला, संस्कृति, संस्कार, रीतिरिवाज, परम्परा, खानपान, संस्कार र सभ्यता आफैँमा महत्त्वपूर्ण छन् । त्यसको स्वाद भिन्न क्षेत्रबाट आउने पर्यटकलाई दिन सके आर्थिक मात्र होइन, सांस्कृतिक संरक्षण पनि हुन सक्छ ।

नेपालका ६८ जिल्लाका करिब पाँच सय स्थानीय तहमा होमस्टे सञ्चालनमा छन् । केही होमस्टेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइसकेका छन् भने केहीले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । आज ग्रामीण क्षेत्रको वातावरण, प्रकृति र संस्कृतिको संरक्षणमा पनि होमस्टेको ठूलो महत्त्व छ ।

नेपालको भौगोलिक बनावटको आधारमा पर्यटनलाई विशेष महत्त्व दिएको पाइन्छ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६–२०२५) मा पनि ग्रामीण पर्यटन, पर्यटन र होमस्टेको उल्लेखसहित व्याख्या गरिएको छ । त्यसैगरी समय सान्दर्भिक प्रकाशन गरिएको नेपालमा पर्यटन विकास र समृद्धिको आधार २०७५ भन्ने पर्यटनको महत्वपूर्ण सङ्कलित पुस्तकमा पनि होमस्टे पर्यटनको आवश्यकताका सन्दर्भमा प्राथामिकताका साथ उल्लेख गरिएको छ । पछिल्लो समयमा प्रदेश सरकारले समेत यसमा चासो देखाउँदै आवश्यक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकारको पर्यटन प्रवद्र्धन नीति तथा कार्यक्रमअनुसार प्रत्येक गाउँपालिका, नगरपालिका तथा महानगरको बजेटमा समेत केही न केही रकम होमस्टेका लागि विनियोजन गर्न थालेको देखिन्छ । हाल स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विभिन्न ऐन तथा कार्यविधि बनाएर होमस्टेलाई साथ दिएको देखिन्छ । आगामी दिनमा होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि समयसापेक्ष कार्यक्रम तर्जुमा गर्न सकियो भने यसले दीर्घकालीन विकासको औजारका रूपमा स्थापित हुन सक्ने विभिन्न अभ्यास र अनुभवले देखाएको छ ।

होमस्टेको अवसर

विश्व अर्थतन्त्रका आर्थिक अवसरलाई हेर्ने हो भने फरक फरक प्रकारका विकासका मोडेल देख्न सकिन्छ । ती मोडल विकसित र विकासोन्मुख देशमा भिन्न भिन्न प्रकारका देखिन्छन् । यसमा पनि भौगोलिक बनावट, प्राकृतिक र सांस्कृतिक संरचना, शिक्षा र समाजको चेतनाको स्तर, भौतिक पूर्वाधार, स्वास्थ्य, सुरक्षा आदि यसका आधार बन्न सक्छन् ।

पछिल्लो समय विकसित देशमा भन्दा पनि विकासोन्मुख देशमा होमस्टेको प्रभाव बढ्नुका साथै सकरात्मक सन्देश प्रवाह गरेको विभिन्न अध्ययनले देखाएका छन् । जहाँ विकास आवश्यक छ, त्यहाँ होमस्टे पुग्नुपर्छ भन्ने जुन विश्वास समाजमा सिर्जना भएको छ यसबाट नै प्रष्ट हुन्छ कि होमस्टे विकास र समृद्धिको बलियो आधार हो । होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । पछिल्लो समय नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्त्वकासाथ हेरेको पाइन्छ ।

भौगोलिक बनावटका आधारमा नेपालमा १७ प्रतिशत हिमाल, ६८ प्रतिशत पहाड र १५ प्रतिशत तराई  छ । विकास र प्रवद्र्धनको हिसाबले होमस्टेको सम्भावना सबै क्षेत्रमा उत्तिकै रहेको पाइन्छ । होमस्टे विकासको औजार हुनुको केही आधारहरू -

स्थानीयवासीसँग सहकार्य गर्न

ग्रामीण क्ष्ोत्रमा बसोबास गर्ने मानिसको सङ्ख्या अत्यन्तै धेरै रहेको छ । सानो अपेक्षा लिने तर धेरै आनन्द महसुस गर्नेको समूह ग्रामीण भेगमा पाइन्छ । जुन ठूला सहरमा बसोबास गर्ने मानिसको सोच र व्यवहारभन्दा फरक पाइन्छ । कुनै पनि देशका मानिसको यथार्थ अवस्था, आर्थिक, रोजगारी तथा क्षमताको विकास हेर्न स्थानीय मानिससँगको सहकार्य आवश्यक हुन्छ । यस्ता सहकार्यका माध्यमबाट पर्यटकले अनेकन विषयवस्तुको भोगाइ, सिकाइ आदिको अवसर प्राप्त गर्दछन् । यस्ता विषयवस्तुको सिकाइको लागि पनि ग्रामीण पर्यटन वा होमस्टेको बसाइ आवश्यक छ ।

आर्थिक अवसर सिर्जना गर्न

होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । सामान्य आय स्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । जब पाहुनाहरू होमस्टेमा आउँछन उनीहरूले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिससले गर्ने सेवाको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्त्व बझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छ । आफ्नै घरमा पाहुनालाई राखेर, आफैसँगै बसाएर आफँैले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसहरूले आय प्राप्त गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो ।

नयाँ स्थानको अनुभव प्राप्त गर्न

पर्यटक भनेको घुम्ने र नयाँ अनुभव प्राप्त गर्ने व्याक्ति हो । विभिन्न स्थानमा जानु, बस्नु नयाँ अनुभूतिको अनुभव गर्दै आनन्दको महसुस गर्ने उसको लक्ष्य रहेको हुन्छ । सामान्यतया अत्यधिक पर्यटकले धेरै होटल, मोटेल, रिसोर्ट, कटेज, गेस्टहाउस आदिको अनुभव सजिलै प्राप्त गर्न सक्छन् । यस्ता क्षेत्रबाट पाइने अनुभव र सेवा करिब करिब उस्तै रहेका हुन्छन् । पर्यटकहरूले नयाँ स्थान त्यसमा पनि ग्रामीण परिवेशमा अनुभवको आदान प्रदान गर्न सकिने एउटै मात्र सजिलो माध्यम होमस्टे नै हो । सामान्य गाउँको सिकाइ, स्थानीय कठिनाइ, शिक्षाको अवस्था, सुरक्षाको स्थिति आदिको प्रत्यक्ष अनुभूतिसमेत होमस्टेको माध्यमबाट गर्न सकिन्छ । पर्यटकले परिकल्पना गरेको भन्दा पनि भिन्न प्रकारको ज्ञान र अनुभव होमस्टेको माध्यमबाट प्राप्त गर्न सकिन्छ । वास्तवमा नै होमस्टेको बसाइबाट नयाँ र स्मरणयोग्य अनुभूति प्राप्त रहेको हुन्छ ।

नयाँ खानाको स्वाद

सहर केन्द्रित आवसमा लगभग एकै प्रकृतिको खाना पाइन्छ । त्यो स्वादमा मीठो भए पनि स्वास्थ्यमा पार्ने प्रभाव बारेमा कुनै लेखाजोखा गरिएको हुँदैन । तर होमस्टेमा तयार गरिने खानाका परिकारहरू स्थानीय उत्पादनमा आधारित हुन्छन् । ती उत्पादन स्थान र जाति विशेषसँग पनि सम्बन्धित रहका हुन्छन् । यसमा पनि समयअनुसारको खाना, संस्कार र संस्कृतिमा आधारित खाना, मेलाजात्रामा तयार गरिने खाना फरक फरक प्रकारका हुन्छन् । यी सबै स्थानमा एकै प्रकारको हुँदैन । यसबाट होमस्टेमा बस्ने सबै पाहुनाले यस्ता खानाको परिकारको भिन्न स्वाद प्राप्त गर्दछन् । यो ठूला होटलमा पाउन सकिँदैन । स्थानीय उत्पादनको संरक्षण र रैथाने (परम्परागत) खानाको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन भएका हुन्छन् । जहाँ पर्यटकले कहिल्यै नबिर्सने खानाको परिकारहरू खान पाउँछन् ।

एकल यात्रीका लागि उत्तम

आधुनिक समयमा नयाँ स्थानको भ्रमण गर्ने सबैको इच्छा हुन्छ । समय परिस्थिति र व्यस्तताले मानिस एकै परिवारका पनि एकै समयमा घुम्न सक्दैनन् । यसबाट धेरै मानिस एक्लै घुम्ने अवस्थाको सिर्जना हुन्छ । यसरी घुम्दा उनीहरू ठूलो सहर वा ठूलो होटलमा जाँदा वा वस्ता एक्लो महसुस गर्दछन् । पर्यटकहरूलाई एक्लोपनबाट टाढा रहनका लागि होमस्टे अपरिहार्य नै हुन्छ । एकल पर्यटकहरूको बसाइको लागि भने होमस्टे नै सबैभन्दा उत्तम बसाइको विकल्प हुन सक्दछ । यस्ता बसाइमा आफ्नै घरको अनुभव र सम्झनयोग्य अवसर प्राप्त हुन सक्छन् ।

स्थानीय भाषाको संरक्षण र सिकाइ

होमस्टेको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय भाषाको संरक्षण र सिकाइ पनि हो । पर्यटकहरू आउँदा ठूला र सुविधा सम्पन्न होटलमा बस्छन् भने उनीहरूको आफ्नै देशको राष्ट्रिय भाषाबाहेक अन्य सिक्न सक्दैनन् । किनकि त्यहाँ दोभाषेहरू वा पर्यटकले बोल्ने गाइडहरू पाउन सकिन्छ । तर होमस्टेको बसाइमा पर्यटकले स्थानीय भाषा सिक्ने, बोल्ने ठूलो अवसर प्राप्त गर्न सक्छ । अझै विद्यार्थीको रूपमा जाँदा, व्यपार व्यवसायको सन्दर्भमा घुम्दा वा कूटनीतिक तरिकाबाट अन्य देशमा जाँदा उक्त देशको भाषा आवश्यक पर्दछ । त्यो होमस्टेमा पाउन सकिन्छ । यसले गर्दा दोहोरो फाइदा प्राप्त गर्न सकिन्छ । एकातिर पर्यटकले स्थानीय भाषा सिक्ने अवसर प्राप्त गर्दछ भने अर्कोतिर स्थानीयहरूले आफ्नो भाषाको महत्त्वलाई बुझेर त्यसको संरक्षणसमेत गर्दछन् ।

स्थानीय पदमार्गको अनुभव

पर्यटकको मूल उद्देश्य भनेको यात्राबाट केही न केही नयाँ अनुभव प्राप्त गर्नु हो । नयाँ अनुभव पाउन नयाँ गन्तव्यको भ्रमण गर्न आवश्यक हुन्छ । यसका लागि सबै देशमा आआफ्ना पहिचानका वस्तुहरू रहेका हुन्छन् । तर होमस्टेबाट नयाँ अनुभव प्राप्त गर्न कुनै नयाँ देशमा जानैपर्छ भन्ने हुँदैन । देशभित्रै सञ्चालनमा रहेका सयौँ होमस्टेमा हजाराँै नयाँ अनुभव प्राप्त गर्न सकिन्छ । त्यति मात्र होइन स्थानीय पदमार्ग, त्यसले जोडेका पर्यटकीय गन्तव्य सबैले देख्ने अवसर प्राप्त गरेका हुँदैनन् । तर होमस्टेमा आउने पर्यटकले यस्ता वस्तुहरूको अनुभव प्राप्त गर्न सक्छन् । साथै उक्त स्थानमा रहेका मार्गको पहिचान, अवस्था र आवश्यकताका बारेमा समेत स्थानीयले बताउँन सक्छन् । यसबाट पर्यटकले त्यसको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लगायतका महत्त्वका बारेमा बुझ्न सक्छन् । उक्त पदमार्गमा देखिने दृश्य, जङ्गल, जगङ्ली जनावर, फूल लगायतको नयाँ अनुभूति पर्यटकले गर्न सक्छन् ।

स्थानीय संस्कृति चिनाउन र बचाउन

होमस्टे बसाइको सुरुवात तथा स्वागत नै स्थानीय संस्कृतिमा आधारित हुन्छ । जहाँ होमस्टे हुन्छन् त्यहाँ स्थानीय पहिचानसहितको संस्कृति पाउन सकिन्छ । अबको समयमा संस्कृतिलाई बचाउन सजिलो छैन । संसार साँघुरो घेरामा रहेको छ । तर होमस्टे प्रवद्र्धन र सञ्चालनबाट पर्यटकीय सम्पत्ति संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । आज मानिसहरूले आफूलाई मात्र भुल्ने होइन आफ्ना संस्कार, संस्कृति, पहिचानसमेत गुम्दै गएको अवस्थामा होमस्टेले मात्र यसलाई बचाउन सक्छ । यस्ता होमस्टेमा आउने सबै पाहुनाहरूले संस्कृतिको पहिचान देख्न पाउँछन् । नेपालमा रहेका अधिकांश होमस्टेमा स्थानीय संस्कृति पाहुनालाई देखाउने र देखाएबापत केही रकम लिने गर्दछन् । संस्कृतिलाई होमस्टेको गहनाको रूपमा नै विकास गरिँदै लगिएको छ । जब संस्कृतिलाई आयआर्जनसँग जोडिन्छ, त्यसले दीर्घकालीन विकासको योजनालाई मदत गर्दछ ।

एक वास्तविक ‘घरबाट अर्को घर’

होमस्टेको बसाइ आफ्नो घरभन्दा भिन्न हुँदैन । पाहुनाहरू परिवारको सदस्यजस्तै भएर बस्ने, गफ गर्ने, अनुभव साटासाट गर्ने, स्थानीय परिवारसँगै बसेर घरको काम गर्ने गर्दछन् । जसबाट उनीहरू टाडा वा भिन्नै ठाउँमा गएको महसुस गर्दैनन् । जुन होमस्टेमा बस्छन् त्यहाँ परिवारिक मायाको अनुभूति गर्दछन् । पर्यटन क्षेत्रमा होमस्टे यस्तो सुखद व्यवसाय हो, जसमा सबै रमाउन सक्छन् । पर्यटक गएर बस्दा पनि उसले आफ्नै तर अर्को घरमा बसेको अनुभूति गर्दछ । यस्ता बसाइबाट सधैँ एकले अर्कोलाई सम्झने र आरामदायी बसाइको अनुभव साट्ने अवसर प्राप्त गर्दछ । जुन  अन्य कुनै बसाइमा प्राप्त गर्न सकिँदैन । यसले आपसमा व्याक्तिगत मात्र होइन देश देशबीचमा कूटनीतिक सम्बन्ध समेत विस्तार हुने गर्दछ । पाहुनाले कहिल्यै पनि टाढाको बसाईको महसुस नगर्ने भनेकै होमस्टे हो ।

सम्झनयोग्य यात्रा

प्रत्येक यात्राका आफ्ना आफ्नै सोच र अनुभव रहेका हुन्छन् । कसैले ठूला हिमालको दृश्य सम्झन्छन्, कसैले पदमार्गको, कसैले जङ्गली जनावरहरूको दृश्य आदि । केही समयको अन्तरमा यस्ता प्रकारका अनुभवहरू विर्संदै जान्छन् । जुन मानवीय स्वभाव पनि हो । तर होमस्टेमा बस्ने पाहुनाले बसाइको अनुभव त्यस दिनसम्म सम्झन्छ जुन दिनसम्म ऊ आफ्नो जीवनका यात्राहरू स्मरण गर्न सक्छ । पाहुनाले अनुभूति गर्न सक्ने केही यस्ता वस्तुहरू छन्, जुन होमस्टेमा स्थानीय कच्चा वस्तुबाट निर्माण गरिएको आवास, सुत्नका लागि बनाएको खाट, प्रत्यक्ष देखिने कुटानी, पिसानी तथा पेलानी आदिका दृश्यावलोकन कहिल्यै भुल्न सकिँदैन । त्यति मात्र होइन अगेनो र चुलोमा पकाएको खाना, मानिसको स्वार्थरहित व्यवहार आदि पर्यटकको मानसपटलमा सधैँ घुम्ने विषय बन्न सक्छन् । दुरदराजका ग्रामीण क्षेत्रमा रहेको अतिथि देवो भवःको वास्तविकता पनि पर्यटकले भुल्न गाह्रो हुन्छ ।

निष्कर्ष

अन्त्यमा अहिलेको विकासको लहर, भौगोलिक अवस्था र मानिसको चेतनाको स्तर, शिक्षा र संस्कृतिको बेथिति, भौतिक पूर्वाधारको अवस्था, तीन तहका सरकारको चासो र सक्रियतालाई हेर्दा पनि आज होमस्टेलाई प्राथमिकतामा राखेको पाइन्छ । नेपालको पर्यटनको सम्भाव्यता र आकर्षण भनेको प्रकृति र संस्कृति नै प्रमुख हुन् । यसलाई बचाउने र संरक्षण गर्ने कार्य होमस्टेबाट मात्र सम्भव हुन्छ भन्ने विश्वास सबैमा बढ्दै गएको छ । होमस्टेमा देखिएका कमीकमजोरीलाई पनि सुधार गर्दै लाने र बलियो अनुगमन गर्ने हो भने अबको समृद्धि होमस्टेबाट सम्भव छ । यसलाई बहुआयामिक विकासको औजारका रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रसाईं नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका महासचिव तथा होमस्टे महासङ्घका सल्लाहकार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. आलोक प्रसाईं
डा. आलोक प्रसाईं
लेखकबाट थप