आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम दिने

आइतबार, १९ भदौ २०७९, १६ : ५७
आइतबार, १९ भदौ २०७९

भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ । भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने वेकरी तालिमको समापन कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रवर्द्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् ।  

तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । ‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उनले भनिन्,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौँ । अबको प्राथमिकता उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने नै हो ।’मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलै संख्यामा रोजगारी सिर्जना हुने बताइन् । भरतपुरमा भइरहेको सहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उनको भनाइ थियो ।

भरतपुर बहुप्राविधिक शिक्षालयले छोटो समयमा धेरै जना दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले खुसी व्यक्त गरिन् । शिक्षालयले ३ वर्षदेखि सिटिईभिटीको आङ्गिक कलेजका रुपमा स्थापना भई होटेल व्यवस्थापनको कक्षा र तालिम सञ्चालन गर्दै आएको छ । शिक्षालयले उपभोग गर्दै आएको ३ बिघा जग्गा सिटिईभिटी मातहत ल्याउन नसक्दा आवश्यक पूर्वाधार निर्माण गर्न कठिन भएको छ । मेयर दाहालले कार्यपालिका बैठकबाट निर्णय गरी सिटिभिटीको नाममा जग्गा आएसँगै शिक्षा मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी दिइन् । शिक्षालयको अधुरो कामलाई तीव्र ढङगबाट अगाडि बढाउने प्रतिबद्ध व्यक्त गरिन् । शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएको थियो ।

यसैबीच शिक्षालयले २८ दिने वेकरी तालिम लिने २० जनालाई माइक्रो वेभ ओभनसहित प्रमाण–पत्र वितरण गरिएको छ । सिटिईभिटीको दक्षता परियोजना अन्तरगत कार्यक्रम सञ्चालन भएको तालिम होटेल व्यवस्थापन प्रमुख सञ्जिव अर्यालले प्रशिक्षण दिएका थिए । अन्तर्राष्ट्रिय होटल प्रयोग गर्ने उपकरणसहित तालिम प्रदान गरिएकाले विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा सहजै रोजगारी पाउने अर्यालले बताए ।  कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, वडा नम्बर २४ का अध्यक्ष रामु गोदार लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप