शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : २६ जना मन्त्री बने, ७ जनाको सांसद पद गुम्यो

यी हुन् प्रदेशसभामा सबैभन्दा कम उपस्थित हुने सांसद
आइतबार, १९ भदौ २०७९, १४ : ५६
आइतबार, १९ भदौ २०७९

प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा लुम्बिनी प्रदेशले हालसम्म दुई मुख्यमन्त्री र २६ जना मन्त्री पाएको छ । कुल ८७ जना सांसदमध्ये २६ जना मन्त्री बन्न सफल भएका हुन् । २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेलले शपथ लिएपछि दुई जना मन्त्री रहेको मन्त्रिपरिषद् बनाइएको थियो । त्यसपछि पोखरेल नेतृत्वकै मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीको संख्या बढ्यो भने सत्ता समीकरण परिवर्तनसमेत हुँदा हालसम्म २६ जना मन्त्री बनेका हुन् ।

पोखरेलले साढे तीन वर्ष सरकारको नेतृत्व गरे भने हालका मुख्यमन्त्री कुलप्रसाद केसीले एक वर्ष कार्यकाल बिताएका छन् । प्रदेशसभाको यो कार्यकालमा प्रदेशको नामकरण र स्थायी राजधानी तोकिनु मुख्य उपलब्धि मानिएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी तोकिए पनि अस्थायी मुकाम बुटवलबाटै सरकार सञ्चालन भइरहेको छ ।

संसदमाथि पार्टीका कारबाही, सांसदका राजीनामाले लुम्बिनी प्रदेशमा चार वर्षको अवधिमै ७ जना सांसदको पद गुमेको छ । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि अहिले कुलप्रसाद केसीको नेतृत्वमा मन्त्रिपरिषद् छ । यो क्याबिनेटमा राज्यमन्त्रीसहित १४ जना छन् । एक जना राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् ।

प्रदेशसभामा कुन सांसदको भूमिका कस्तो ?

लुम्बिनी प्रदेश प्रदेशसभाको १० वटा अधिवेशन अन्तर्गत जम्मा २०५ वटा बैठक सम्पन्न भएका छन् । प्रदेशसभाको आठौं अधिवेशनसम्म तत्कालीन नेकपा र त्यसपछि केही महिना नेकपा एमालेको सरकार रहेको लुम्बिनी प्र्रदेशमा नवौं र दशौं अधिवेशन हालको पाँच दलीय गठबन्धनको सरकारले सम्पन्न गरेको छ । आठौं अधिवेशनसम्म एमालेका नेता शंकर पोखरेलको नेतत्वमा सरकार थियो भने त्यसयता गठबन्धनबाट माओवादीका कुलप्रसाद केसी नेतृत्वको सरकार छ ।

प्रदेशसभामा कुल ८७ जना सांसद रहेकोमा हाल ८० जना सांसद छन् । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तत्थ्याङ्क अनुसार प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गत १८ वटा बैठक भएका छन् । १८ बैठकमा एमालेका नेता एवं यसअघिका मुख्यमन्त्री शंकर पोखरेल सबैभन्दा कम अर्थात् जम्मा दुईवटा संसद बैठकमा उपस्थित भएका छन् । उनी अहिले प्रमुख प्रतिपक्ष दलका नेतासमेत हुन् । प्रदेशसभा बैठकमा कम उपस्थित हुनेमा सांसदहरु दिपेन्द्रकुमार अधिकारी (५ पटक), डिल्ली बहादुर चौधरी (६ पटक), विमालाकुमारी खत्री ओली (७ पटक) र बिरेन्द्र कुमार कनौडिया (९ पटक) छन् । यी डिल्लीबहादुर चौधरी गठबन्धन सरकारका मन्त्री पनि हुन् । अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी १० वटा बैठकमा उपस्थित भएका छन् ।

नवौं अधिवेशनमा कुल १२ वटा बैठक भएका छन् । त्यसमध्ये सवैभन्दा कम उनै एमाले नेता शंकर पोखरेल एकपटक मात्र उपस्थित भएका छन् । त्यस्तै सांसदहरु रेवतीरमण शर्मा, चेतनारायण आचार्य, चिन्तावती कुर्मी र दिपेन्द्रकुमार अधिकारी ४/४ वटा बैठकमा उपस्थित भएका छन् । यो अधिवेशनका १२ वटै बैठकमा उपस्थित हुने सांसद कोही पनि छैनन् ।

आठौं अधिवेशनमा कुल १४ वटा बैठक भएका छन् । जसमा सबैभन्दा कम सांसद बिमला कुमारी खत्री ८ र कृष्णध्वज खड्का ९ पटक बैठकमा उपस्थित भएका छन् । खड्का हालका मन्त्री हुन् । यो अधिवेशनका १४ वटै बैठक सहभागी सांसद पनि कोही छैनन् ।

सातौं अधिवेशनमा ५ वटा बैठक भएका छन् । जसमा सबैभन्दा कम सहसराम यादव १ र नेता शंकर पोखरेलले दुई वटा बैठकमा उपस्थिति जनाएका छन् । यादव पनि अहिले मन्त्री बनेका छन् । छैठौं अधिवेशनमा कुल ३१ व्टा बैठक भएका छन् । जसमा सबैभन्दा कम सुमन शर्मा रायमाझी ११ वटा, नेता शंकर पोखरेल र वीरबहादुर राना १४/१४ वटा बैठकमा उपस्थित भएका छन् । रायमाझी र राना दुबै मन्त्री हुन् ।

पाँचौं अधिवेशनमा कुल १० वटा संसद बैठक बसेको छ । जसमा सबैभन्दा कम दिपेश थारु र इन्द्रजीत थारु १/१ वटा र शंकर पोखरेल २ वटा बैठकमा उपस्थित भएका छन् । चौंथो अधिवेशनमा कुल ३२ वटा बैठक भएका छन् । त्यसमध्ये सबैभन्दा कम शान्ति सुनार ११ वटा र इन्द्रजीत थारु तथा सुमन शर्मा रायमाझी १२/१२ वटा बैठकमा सहभागी भएका छन् ।

तेस्रो अधिवेशन अन्तर्गत कुल ३३ वटा बैठकमध्ये सबैभन्दा कम सुमन शर्मा रायमाझी ३ र शंकर पोखरेल ७ वटा बैठकमा उपस्थित भएका छन् । त्यस्तै दोस्रो अधिवेशन अन्तर्गत कुल २८ वटा संसद वैठक भएका छन् । जसमा सबैभन्दा कम सांसद कल्पना पाण्डे ६ र विरेन्द्रकुमार कनौडिया ७ वटा बैठकमा उपस्थित भएका छन् ।

पहिलो अधिवेशन अन्तर्गत कुल २२ वटा बैठक भएका छन् । जसमा सबैभन्दा कम डिल्लीबहादुर चौधरी ८ र बिरेन्द्रकुमार कनौडिया ९ वटा बैठकमा उपस्थित भएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप