बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत !
सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि अब सिट बाँडफाँट शीर्ष तहमै सहमति जुटाएर गर्ने तयारी भएको छ ।
‘आवश्यक परे कार्यदलका केही सदस्यलाई पनि छलफलमा बोलाइन्छ नत्र शीर्ष तहबाटै टुंगो लगाउने गरी नेताहरू जुट्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘कार्यदलले प्रारम्भिक खाका दिएकाले अब निर्णयमा शीर्ष नेतृत्व नै खट्ने भएको छ ।’ आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।
छलफलमा सहभागी एक नेताका अनुसार बालुवाटार छलफलमा नेताहरुबीच सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ भएको छ । ‘गठबन्धनमा रहेका दलहरुमा कसको सम्भावना कहाँ छ, र कसलाई टिकट दिँदा जित्न सकिन्छ त्यसबारेमा केही स्थानको माइक्रो एनालाइसिस भयो’, काँग्रेसका एक नेताले भने, ‘कसले कति सिट लिने भन्दा पनि कहाँ कसको अवस्था मजबुत छ र कसलाई टिकट दिँदा जितिन्छ भन्ने कुरामा केही तथ्यसहित छलफल भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘अझै छलफल गर्नुपर्ने देखिएकाले गठबन्धनको बैठकमा थप छलफल हुन्छ । ’
ती नेताका अनुसार गठबन्धनभित्रका पार्टीहरूले गरेको दाबीमाथि ८, १० सिट तलमाथि गरेर भए पनि सहमतिमा पुग्नुपर्नेमा नेताहरू सहमत छन् । ‘अहिलेसम्म दाबीको कुरा आइरहेको छ । अव त्यो दाबीको आधारसहित छलफल भएर त्यसका लागि आइतबार ३ बजे गठबन्धनको बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए । ‘३ बजे गठबन्धनको बैठक बस्दै छ । आज र भोलिमा सिट बाँडफाँट संख्या टुंग्याउनेगरी नेताहरू उठ्नुभएको छ’, परियारको भनाइ छ ।
बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुबीच संघसहित प्रदेशसमेतमा सहमति जुटाउने गरी आन्तरिक छलफल गर्ने र गठबन्धनको बैठकमा टुङ्ग्याउने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले बताएका थिए । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि कर्णाली पुगेर प्याकेजमै सिट बाँडफाँट हुने बताएका थिए ।
स्रोतका अनुसार काँग्रेसले सय सिटको दाबी छोडेर ८६,८७ सम्म झर्ने, माओवादीले ६० छोडेर ५०,५६ सम्म झर्ने र नेकपा एकीकृत समाजवादीले १८,१९ सिटमा झर्नेगरी नेताहरुबीच छलफल भएको छ । बाँकी रहेका सिटमा जसपा र जनमोर्चालाई एडजस्ट गर्ने गरी नेताहरुबीच कुराकानी भएको छ । तर, त्यसो गर्दा हार्ने गरी सिट बाँडफाँट गर्न नहुनेमा नेताहरू सचेत देखिएका छन् ।
‘गठबन्धन गरिसकेपछि सिट लिएर मात्रै हुँदैन । जित्नैपर्छ । त्यसो गर्दा जित सुनिश्चित भएका स्थानमा जसलाई दिँदा हुन्छ, उसैलाई दिने हो’, आइतबार बालुवाटार छलफलमा सहभागी ती नेताले भने, ‘गठबन्धनमा सिट भागबन्डा गर्ने अनि एमालेले जित्ने हुनुहुँदैन भन्नेमा सचेत हुन जरुरी छ ।’
ती नेताका अनुसार आइतबार गठबन्धनको बैठक बसेर सोमबार बेलुकासम्म अन्तिम टुंगो लगाउने गरी नेताहरू आन्तरिक गृहकार्यमा लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी