मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा : धन कमाउने तरिका

आइतबार, १९ भदौ २०७९, ०९ : ३९
आइतबार, १९ भदौ २०७९

परापूर्वकालमा एउटा गाउँमा गरीब सज्जन बस्थे । गरीवीको कारण उनको जीवन कहालीलाग्दो नारकीय दुःखमा पिल्सिन विवस थियो । सन्तान धेरै थिए आम्दानी थिएन । घरमा न खाने दाना थियो न लगाउने कपडा । उनले त एकसरो कपडाले जेनतेन शरीर ढाक्दै आएका थिए । पत्नीलाई भने त्यो पनि गाह्रो भइसकेको थियो । सुरूसुरूमा गाउँघरमा मागजाम गरेर पनि चलाए तर माग्ने पनि कति, दिनेले दिने पनि कति । एक दिन होइन दुई दिन होइन । सँधै माग्न थालेपछि गाउँलेहरूले पनि वास्ता गर्न छाडे । 

गरीवीले आजित भएपछि सज्जन देवीदेवताका पुकारा गर्नतिर लागे । देवीदेवता डाक्ने काम पनि गरे भूतप्रेत भाक्ने काम पनि गरे । तैपनि उनको गरीवी हटेन । हटोस् पनि कसरी ? गरीवी हटाउन आम्दानी हुने काम गर्नुपर्ने थियो । यही नै प्रकृतिको नियम हो तर उनले त्यो त जानेकै थिएनन् ।   

उनी बरोबर देवीदेवतासँग गुहार लगाइरहन्थे देवीदेवता सुन्नेकानै लगाउन्नथे । किनकि पूजा गरेको भरमा गरीवी निवारण हुन्न भने कुरा उनीहरूलाई राम्रै थाहा थियो तर उनी भने एउटाले नसुने पनि अर्कोले कसो नसुन्लान् भन्दै फेरिफेरि देवताको पूजा गर्ने गर्थे । एवंरीतले जानेबुझेजति सबै देवीदेवताको पूजा गरे तर कसैले पनि उनको पुकारा सुनेनन् । त्यसपछि दिक्क भएर अहिलेसम्म कसैले नामै नसुनेको देवताको पूजा गर्छु भन्न थाले ।   

यस्तैमा एक दिन आकाशमा कुण्डधार नामक मेघलाई देखे, जुन यस अघि कहिल्यै देखिएका थिएनन् । उनलाई देख्नासाथ सज्जनले उनैको पूजा गर्न थाले । केही समयपछि उनको पूजाबाट प्रशन्न भएका कुण्डधारले आएर भने–

‘भन मनुवा ! किन सम्झना ग¥यौ ? प्रशन्न छु, आफ्नो कुरा राख्न सक्छौ ।’

सज्जन यस्तै अवस्थाको प्रतीक्षामा थिए, खुसी हुँदै भने–

‘प्रभु ! ज्यादै गरीव छु । त्यसैले तपाईँको पुकारा गरेको हुँ । यदि मसँग प्रशन्न हुनुहुन्छ भने यति धन दिनुस् कि जीवनमा कहिल्यै दुःख पाउनु नपरोस् ।’

अब मेघलाई आपत प¥यो । उनको पासमा त पानी बाहेक केही थिएन । जसले पनि दिन सक्ने भनेको आफूसँग भएको चीज नै हो । त्यसैले केही समय धैर्य गर्न आग्रह गर्दै उनी देवीदेवताको स्तुति गर्न लागे । उनको स्तुतिबाट सन्तुष्ट भएर मणिभद्र नामक यक्षले आएर भने–

‘कुण्डधार ! भन तिमीलाई के चाहिन्छ । सबै देवताका प्रतिनिधि भएर आएको हुँ । चाहेको चीज माग्न सक्छौ ।’

मणिभद्रको कुरा सुनेर कुण्डधार बोले–

‘भगवन् ! मलाई त खासै केही चाहिन्न । तपाईँहरूका कृपाले सबै चीज छन् तर मेरो भक्त साह्रै गरीव छन् । यदि मेरो स्तुतिबाट खुसी हुनुहुन्छ भने ती भक्तलाई प्रचुर सम्पत्ति दिएर सुखी बनाइदिनुस् ।’

कुण्डधारको कुरा सुनेर मणिभद्रले सम्झाउँदै भने–

‘कुण्डधार ! यस्तो वरदान दिन सकिन्न । किनकि धनसम्पत्ति उनकै साथमा छ, जुन प्रकृतिकोतर्फबाट सित्तैमा प्राप्त भएको हो । यो प्रकृतिको उपहार हो, जसलाई उनी आफैँले लिने प्रयास गर्नुपर्छ । यसै पनि धनसम्पत्ति भन्ने चीज आफैँले कमाउनुपर्ने चीज हो, अरूले दिएर हुने होइन । यसलाई अरूले दिनै सक्दैनन् । दिए पनि टिकाउ हुँदैन ।’

उनको कुरा सुनेर कुण्डधारले आश्चर्य मान्दै भने–

‘देवश्रेष्ठ ! यस्तो कसरी हुन्छ । उसकै साथमा भएको भए किन दुःखी हुन्थे ? मानिस दुःखी त्यतिबेला हुन्छ, जतिबेला साथमा सम्पत्ति हुँदैन । त्यसैले मेरो उपासना गरेका हुन् ।’

मणिभद्रले सम्झाउँदै भने–

‘कुरा त्यसो होइन कुण्डधार ! उनको पासमा धनसम्पत्ति छ तर आफ्नै आलश्यका कारण देख्न सकिरहेका छैनन् । गरीवीले दुःख दिएपछि धन प्राप्त गर्ने प्रयास गर्नुपर्ने थियो तर उनले त्यता ध्यानै दिएनन् । उल्टै देवीदेवताका मुख ताकेर रोइकराई गर्न थाले । यसरी हुँदैन । देवीदेवताको पूजा गर्नु नराम्रोे होइन, गर्नुपर्छ तर के बुझ्नुपर्छ भने कुनै पनि देवीदेवताले सिधै धनसम्पत्ति दिँदैनन् । उनीहरूले दिने भनेको त्यसलाई प्राप्त गर्ने साधन हुन्, जुन दिएकै छन् । शरीर दिएका छन्, बुद्धि र बल दिएका छन् । कमाउने स्थान दिएका छन्, तरिका सिकाएका छन् । योभन्दा बढी के दिने भन्नुस् त ? त्यसैले अहिले नै गएर आफ्ना भक्तलाई सम्झाइदिनुस् । एक दिन पक्कै धनी हुनेछन् ।’

यति भनेर मणिभद्र विदा भए । कुण्डधारलाई उनको कुरा ठीक लाग्यो । तत्कालै गउर भक्तलाई सम्झाए । बल्ल सज्जनको आँखा खुल्यो । देवीदेवताको पूजामा खर्च हुने समय र स्रोत पौरख गर्नमा खर्चिन थाले । उनको देखासिकी गरेर परिवारका सदस्यले पनि त्यस्तै गर्न थाले, जसले गर्दा चाँडै नै धनी भएर सुखपूर्वकले रहन लागे ।                       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप