बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफिसहरूलाई खाजा सर्भ गर्ने ‘टमी ट्रक’

आइतबार, १९ भदौ २०७९, ०९ : ३५
आइतबार, १९ भदौ २०७९

सामान्यतया, नेपालमा सञ्चालनमा रहेका ‘फूड डेलिभरी’ कम्पनीहरूले प्राय ‘वानटाइम सर्भिस’ दिन्छन् । अर्थात्, ती कम्पनीहरूले व्यक्तिगत सेवाग्राहीलाई लक्षित गरेर एक पटकको अर्डर पुरा गर्ने गरी सेवा दिइरहेका छन् । यस प्रकारका धेरै वटा कम्पनी बजारमा देख्न पाइन्छ । तर, यिनै कम्पनीहरूको भीडबीच ‘टमी ट्रक’ सिधै सेवाग्राहीलाई नभई कम्पनीलाई ‘फूड डेलिभरी’ दिन सुरु गरेको छ ।

कम्पनीहरूलाई सेवा दिने गरी खुलेको टमी ट्रकले साप्ताहिक र मासिक रूपमा सेवा सब्सिक्रिप्सन गरेपछि मात्रै सेवा दिन थाल्छ । कम्पनीकी सह–संस्थापक कृतिका शाह व्यक्तिगतरूपमा आउने अर्डर टमी ट्रकले नलिने बताउँछिन् । ‘हामी व्यक्तिगतरूपमा एक दुई जनाको अनलाइन अर्डर लिँदैनौँ,’ उनी भन्छिन्, ‘टमी ट्रकबाट सेवा लिनका लागि कम्पनीहरूले सब्सक्रिप्सन गर्नुपर्छ ।’ कम्पनीहरूले साप्ताहिक वा मासिक रूपमा सेवा लिने भएपछि मात्रै सेवा सुरु गरिने उनको भनाइ छ ।

कुनै एउटा कम्पनीले टमी ट्रकबाट एक हप्ता वा महिनाका लागि कर्मचारीहरूको खाजाको प्रबन्ध गर्न टमी ट्रकसँग जोडिन सक्छन् । बजारमा भइरहेका अन्य कम्पनीहरूले अनलाइनमार्फत लिनेजस्ता व्यक्तिगत अर्डर टमी ट्रकले लिँदैन । ‘टमी ट्रक भनेको लञ्च सर्भिस हो । यसले अफिसहरूलाई मात्रै सेवा उपलब्ध गराउँछ,’ शाहले भनिन्, ‘यसले १०–५ को अवधिमा मात्रै सेवाग्राहीलाई सेवा उपलब्ध गराउँछ । अफिस टाइमभन्दा अघि–पछि डेलिभरी सेवा दिँदैन ।’

यस्तै, टमी ट्रकको अर्को विशेषता भनेको प्रयोग गर्न नमिल्ने भनेर सरकारले पहिचान गरेको प्लास्टिकमा डेलिभरी गर्दैन । खाजा वा खाना डेलिभरीका लागि कम्पनीले टिफिन बक्स नै व्यवस्था गरेको छ । कम्पनीले भेज सेवाग्राहीका लागि हरियो र ननभेजका लागि अन्य रंगको टिफिन बक्स उपलब्ध गराउँछ । र, यो टिफिन बक्स पुनः प्रयोग गर्न मिल्ने खालको हुन्छ । ‘एउटा अफिसमा २०–३० जना सेवाग्राहीलाई एकै पटक टिफिन उपलब्ध गराउँछौँ,’ उनले भनिन्, ‘धेरै मात्रामा खाना उपलब्ध गराउँदा भेजहरूलाई ननभेज पर्ला भनेर यस्तो गरिएको हो ।’

यसरी बन्यो योजना

सूचना प्रविधिमा ब्याचलर्स गरेका दुई विद्यार्थीले जागिर खाने क्रममा भोगेको खाजा र खानाको समस्यालाई व्यवसायमा बदलेका हुन् । कम्पनीका सह–संस्थापकहरू कृतिका शाह र प्रशन्न चुडालले २०१८ अघिसम्म जागिर गर्थे । बिहान कलेज र दिउँसो अफिस हुँदा उनीहरूले खोजेजस्तो खाजा–खाना खाने ठाउँ नभेटिएपछि टमी ट्रकको कन्सेप्ट फुर्‍यो । जसले अफिसमा काम गर्ने कर्मचारीहरूका लागि मात्रै साप्ताहिक वा मासिक रूपमा सेवा दिने गर्छ ।

‘मेरो अफिस लाजिम्पाट क्षेत्रमा थियो,’ शाहले विगत सुनाउँदै भनिन्, ‘बिहान कलेज भएकाले टिफिन बनाउन भ्याइँदैनथ्यो । कलेज सकेर अफिस जाँदा भनेजस्तो खाजा खाने ठाउँ नपाएपछि त्यही समस्या समाधान गर्ने गरी टमी ट्रकको कन्सेप्ट जन्मियो । लाजिम्पाट क्षेत्रमा कि त धेरै महँगा र कि भट्टीस्तरका हाइजिन मेन्टेन नहुने रेस्टुरेन्टहरू छन् । दिनदिनै महँगा रेस्टुरेन्टमा खाना–खाजा खान पकेट मनीले नभ्याउने । भट्टीमा गएर खान हाइजिन मेन्टेन नहुने ।’ यहीकारण, शाह र चुडाल मिलेर सन् २०१८ को अन्तिम तिर टमी ट्रक नामको कम्पनी सुरु गरे । 

तर, कम्पनी सुरु गरेर हुर्कँदै गर्दा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीको चपेटामा टमी ट्रक समेत पर्‍यो । ‘सञ्चालनमा ल्याएको भर्खर १ वर्ष जति भएको थियो,’ शाहले सम्झिइन, ‘त्यही समयमा कोरोना सुरु भयो र झण्डै २ वर्ष जति कम्पनी बन्द भयो ।’ जुन, कोरोना सामान्य बन्दै गएपछि पछिल्लो १ वर्षयता पुनः कम्पनीले आफ्नो काम सुरु गरेको छ ।

हाल टमी ट्रकले विभिन्न कम्पनीमा काम गर्ने २३० जनाभन्दा धेरै कर्मचारीलाई खाना र खाजा उपलब्ध गराउँदै आएको छ । विशेष गरी, नक्साल, लाजिम्पाट, महाराजगञ्ज र बालुवाटार क्षेत्रका अफिसले टमी ट्रकसँग खाजा र खानाका लागि सम्झौता गरेका छन् । आफ्ना सेवाग्राहीलाई खाजा र खाना उपलब्ध गराउनका लागि टमी ट्रकको नखिपोटमा आफ्नै रेस्टुरेन्ट समेत सञ्चालनमा छ । जसमा हाल करिब १० जना कर्मचारी आबद्ध छन् । यस्तै, सुरूमा दुई जनाले सुरु गरेको कम्पनीमा हाल थप ३ जना जोडिएका छन् र कूल लगानीकर्ताको सङ्ख्या ५ पुगेको छ ।

कम्पनीले उपलब्ध गराउने न्यूनतम प्याकेज भनेको ५ हजार रुपैयाँको छ । यस्तै, अधिकतम ६ हजार रुपैयाँ मासिकको प्याकेज छ । ‘कतिपयले यसलाई पनि महँगो भन्नु हुन्छ । तर, योभन्दा न्यून मूल्यमा सेवा दिने हो भने गुणस्तर घट्न सक्छ । गुणस्तर मेनटेन गर्नका लागि यति मूल्य राखिएको हो,’ शाह भन्छिन् । कम्पनीले ४ वटा प्याकेजमा खाजा उपलब्ध गराउँदै आएको छ । टमी ट्रकले उपलब्ध गराउने अधिकांश खानाहरूको मेनु सार्वजनिक भएको हुन्छ । सोहीअनुसार आउने अर्डर अनुसार डेलिभरी हुन्छ । तर, कम्पनीले एउटा हिँड्न प्याकेज समेत राखेको छ । ‘यो सेवाग्राहीको मागअनुसारको हुने गर्छ । जसलाई सार्वजनिक गर्न मिल्दैन । मेनुमा रेगुलर लञ्चकारूपमा पाइने खाजा नै हुन्छ,’ शाहको भनाइ छ ।

टमी ट्रकको अर्थ

सह–संस्थापक शाहका अनुसार टमीको अर्थ पेट हुन्छ । यस्तै, टमी ट्रकले व्यक्तिलाई नभई कम्पनीलाई सर्भ गर्ने भएकाले ट्रकमा डेलिभरी गर्नुपर्ने भएकाले कम्पनीको नाम नै टमी ट्रक राखिएको हो । ‘हामी बल्कमा सर्भ गर्छौँ । सोही कारण, टमी ट्रक कम्पनीको नाम राखिएको हो,’ उनले भनिन्, ‘यसको अर्थ पेटमा जाने खाना ट्रकमा आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप