आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

खोटाङमा चुनावी माहोल तात्यो, दलबाट को-को भए उम्मेदवार सिफारिस

आइतबार, १९ भदौ २०७९, ०९ : २१
आइतबार, १९ भदौ २०७९

आगामी मंसिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ । 

सत्तारुढ दल नेपाली कांग्रेसबाट  निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् । 

प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । उसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य ‘आरपी’, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि केन्द्रमा सिफारिस गरेको हो ।

यस्तै समानुपातिक कोटामा महिलातर्फ सरस्वती बजिमय र शान्ति राई, समानुपातिक खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको सिफारिस गरिएको छ ।

प्रदेशसभा (क) बाट प्रत्यक्षमा नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैँजुलाई सिफारिस गरेको छ । यसैगरी समानुपातिकमा रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हीराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

प्रदेशसभा (ख) बाट प्रत्यक्षतर्फ जिल्ला सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै समानुपातिकको खुला पुरुषबाट शहरमान राई, महिलातर्फ कमला राई तथा अन्यमा इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दीपराज राई, प्रतिक्षा राई, कान्ता केसी, ध्रुवकला राई, सपना राई, निर्मला राई र राजु ढकालको सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

 नेकपा एमाले खोटाङले प्रदेशसभा (ख)का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालको एकमात्र नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । उसले खोटाङको पाँचौँ जिल्ला भेलामा प्रदेखसभा (ख) का लागि अन्य नेताहरूको दाबी नरहेकाले जिल्ला अध्यक्ष दङ्गालको मात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । 

समानुपातिकमा प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामाया राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ । प्रदेशसभा (क)मा जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिशा खनालको दाबी रहेको जनाइएको छ । 

प्रदेशसभा (क)मा आकाङ्क्षी धेरै देखिए पनि सहमतिमा एक जनाको मात्र नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिए । प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्य पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ । 

यद्यपि प्रतिनिधिसभा सदस्यका लागि सहमति गरेर एक जनाको मात्र नाम सिफारिस गर्ने गरी छलफल भइरहेको एमाले खोटाङले जनाएको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छनोट गर्न दिक्तेलमा आयोजना गरिएको एमालेको बैठक जारी छ । 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) खोटाङको बैठक भोलि भदौ २० गते बस्ने तयारी गरिएको प्रदेश सदस्य एवं सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिए । माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईलगायतका नेताको दाबी छ ।

प्रदेशसभा (क)मा प्रदेश सदस्य जीवन राई, टङ्क तामाङ, सुरेश राई, मनकुमारी रसाइलीलगायतका नेताको नाम चर्चामा छ । प्रदेशसभा (ख)मा वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ, जिल्ला संयोजक आकाश पाण्डेलगायतका नेताहरूको दाबी छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्घीय परिषद अध्यक्ष अशोक राईको नाम सिफारिस गरेको छ । जसपा जिल्ला समन्वय समिति खोटाङको भदौ ११ र १२ गते भएको बैठकले अध्यक्ष राईको नाम सिफारिस गरेको हो ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी स्थायी घर भएका अध्यक्ष राई खोटाङबाट दुई पटक सांसद बनेका थिए । विसं २०४८ को आम निर्वाचनमा खोटाङ क्षेत्र नं ३ र २०५१ मा भएको मध्यावधि निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट नेकपा एमालेबाट सांसदमा निर्वाचित भएका थिए ।

सङ्घीय परिषद् अध्यक्ष राईसँगै राजनीतिक समिति सदस्य डा कृष्णकुमार राईको नामसमेत सिफारिस गरिएको जसपा खोटाङका अध्यक्ष पिके खम्बुले जानकारी दिए । समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमाया राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनिल चाम्लिङको नाम सिफारिस गरेको छ ।

प्रदेश (क) मा प्रत्यक्षमा सङ्घीय परिषद् सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, सङ्घीय परिषद् सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमाया राई, जिल्ला समिति उपाध्यष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिं राई, जिल्ला सदस्य झुमा पोखरेलको नाम राखिएको छ ।

प्रदेश (ख) प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रविन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुँयालको नाम परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्यूरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार १ नं प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहेका पोलिटब्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा समानुपातिक सदस्यमा जिल्ला अध्यक्ष जलसेर राई र सचिवालय सदस्य सङ्गीता राईको नाम सिफारिस गरिएको युवासङ्घ खोटाङका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । यस्तै प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य वीरबलकाजी राई, प्रदेश सदस्य उदयबहादुर कार्की, प्रदेश सदस्य भीम राई , जिल्ला सचिव राजन आचार्य, युवासङ्घको केन्द्रीय सचिवालय सदस्य भीम राई, प्रदेश सदस्य विष्णु दाहाल, समन्वय परिषद्को प्रदेश सदस्य तेजबहादुर राई र समानुपातिकमा केन्द्रीय सदस्य रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबि चाम्लिङ, प्रदेश सदस्य श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गरिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । जिल्लाबाट आ–आफ्नो दलको तर्फबाट उम्मेदवार सिफारिस भए पनि सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच केन्द्रमा सिट बाँडफाँटको टुङ्गो लागेको छैन । 

जिल्लाका अन्य साना दलहरूले पनि आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी छ । दश स्थानीय तह रहेको जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेका एक्लै र सत्तारुढ चार राजनीतिक दलका साझा उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप