बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तनहुँमा फौजी किराको प्रकोप, मकै र कोदोबाली नष्ट

आइतबार, १९ भदौ २०७९, ०७ : २४
आइतबार, १९ भदौ २०७९

तनहुँकाे व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । 

करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ  छ । 

किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ ।  सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेशा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ  ।

कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेशा गरौँ भनेर अँगाल्दा घाटामात्रै भोग्नुपरेको उनको दुःखेसो छ । उनले मकैखेती सँगसँगै कोदोखेतीका साथै गाईपालन पनि गर्दै आएका छन् । मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पुर्यएको छ । मकै र कोदोबालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यलय वडाको कृषि प्रविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ । 

स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकैबाली नष्ट हुँदा घाटा व्यहोर्नुपरेको बताए । किसानलाई घाटा पर्दा कुनै पनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उनले बताए । बिहान उठेर मकैबारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन् ।

व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । कृषिखेती गर्ने किसानले भरिएको वडा भए पनि सधैँ किसानले नोक्सान व्यर्होनुपरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप