राजीनामा दिएलगत्तै पार्टी प्रवेश गर्न पुगेका झाविरुद्ध जब हुटिङ भयो....
मधेश प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा राजीनामा दिएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मुख्यन्यायाधिवक्ता झाले पदबाट राजीनामा दिएका थिए ।
शनिबार महोत्तरीको सदरमुकामा जलेश्वरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टिका लगाएर उनी पार्टी प्रवेश गरेका छन् । तर झालाई पार्टी प्रवेश असहज र चुनौतीपूर्ण रहन सक्ने संकेत देखिएको छ । पार्टी प्रवेश गर्दागर्दै उनले जसपाका स्थानीय नेता–कार्यकर्ताहरुबाट सास्ती खेपेका छन् । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य दिँदै गर्दा सुरुमा उनको माइक काटियो । त्यसपछि जसपाका कार्यकर्ताले उनी बोल्दाबोल्दै सिटी बजाएर उनका विरुद्धमा हुटिङ समेत गरे ।
माइक काटिदिएपछि उनले लोकतन्त्रमा बोल्नेको अधिकार सबैको हुने भन्दै व्यक्तिगत स्वतन्त्रताको अधिकार नखोस्न आग्रह गरे । आफु घर, परिवार र व्यक्तिगत करियर छाडेर राजनीतिमा होमिएको बताउँदै जलेश्वर क्षेत्र, मधेश र देशका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने बताए ।
उनले भने, ‘मलाई कसैले रोकेर रोकिन्न, म घरपरिवार र व्यक्तिगत करियर छाडेर, सर्वोच्च अदालतमा वकालत गर्न छाडेर राजनीतिमा आएको छु । म अगाडि बढिसकेको छु, संघर्ष गर्न तयार छु ।’ राजनीतिको नर्सरी क्लासमा भर्ना भएको बताउँदै उनले आफुलाई बालबालिकालाई झै सिकाउन जेष्ठ नेताहरुसँग आग्रह गरे । उनले योपटक मधेशी मुलबाट उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउन लाग्नुपर्ने समेत बताए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानाताका लागि जारी आन्दोलनको अर्को मोर्चा निर्वाचन पनि भएकोले त्यसको तयारीमा जुट्न सबै नेता कार्यकतालाई निर्देशन दिए । उनले संघीयता र गणतन्त्र खतरामा परेका बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गरे ।
संघीयता र गणतन्त्रको रक्षाको लागि आफुहरु अझै पनि गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे । यद्यपि सबै सिट आफुलाई मात्रै चाहिन्छ भन्ने प्रयास कतैबाट भइरहे त्यो स्वीकार्य नहुने यादवले चेतावनी दिए । पार्टी प्रवेश कार्यक्रममा लोसपा नेता हरि मण्डलसहित दर्जनौँ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।