बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतीय नौसेनामा सामेल २ खर्ब भारुको नयाँ युद्धपोत ‘विक्रान्त’ मा के छ विशेषता ?

शनिबार, १८ भदौ २०७९, २१ : १०
शनिबार, १८ भदौ २०७९

शुक्रबार भारतले आफ्नो सबैभन्दा ठूलो र देशभित्रै बनेको युद्धपोत विक्रान्तलाई आफ्नो नौसेनामा सहभागी गरायो । त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए ।  युद्धपोतलाई दिइएको नाम विक्रान्तको अर्थ संस्कृतमा ‘बहादुर’ भन्ने हुन्छ । यसलाई निर्माण सम्पन्न गर्न १३ वर्ष लाग्यो ।  

युद्धपोतभित्र २३०० कम्पार्टमेन्टहरू छन् । २६२ मिटर लम्बाई र ६० मिटर उचाईको यो समून्द्री वाहनलाई समुन्द्रको ठूला छालले पनि कुनै असर गर्दैन ।  एयर कन्डिसनरहरूले भित्र बस्ने मानिसहरुलाई बाहिरको आर्द्रता र गर्मीको अनुभूति हुन दिँदैन । 

यसअघि प्रयोगमा रहेको भारतको पहिलो युद्धपोतको नाम पनि विक्रान्त नै थियो । त्यसलाई बेलायतको शाही नौसेनाबाट किनेर सन् १९६१ मा कमिशन गरिएको थियो भने सन् १९९७ मा प्रयोगबाट हटाइएको थियो । पहिलो विक्रान्तले भारतलाई धेरै सैन्य अपरेशनमा महत्त्वपूर्ण सहयोग गरेको थियो । 

नयाँ विक्रान्तको कुरा गर्दा यसमा १७०० जनाले काम गर्नेछन् । तर, हाल निर्माण पूर्णत नसकिएकाले थप २००० भन्दा बढी मानिस काम गरिरहेका छन् । जसमध्ये कोही जहाजमा रंगरोगन गर्दैछन् भने कोही भित्रको काम सकाउँदैछन् । 

विक्रान्तभित्र सानो अस्पतालमा पाइने सुविधा उपलब्ध छ । १६ शैयाको चिकित्सकीय सेवामा दुइवटा अपरेशन थिएटर र प्रयोगशाला पनि छन् । आईसीयू र सीटी स्क्यानको पनि व्यवस्था छ । त्यहाँ ५ जना अधिकारी, डाक्टर र १५ जना प्यारामेडिकहरु सँधै खटिरहेका हुन्छन् । 

विक्रान्तमा ३० वटा लडाकु विमान र हेलिकप्टर राख्न सकिन्छ । यस युद्धपोतको पछाडि भागमा दुई रुसी ‘मिग–२९ के’ लडाकु विमान र कामोभ–३१ हेलिकप्टर राखिएका छन् । कमिसन गर्नुअघि विक्रान्तमा धेरै कुराको परीक्षण गरिएको छ, तर यसमा निरन्तर उडान सञ्चालनको परीक्षण गर्नै बाँकी छ । नौसेनाले यो परीक्षण वर्षको अन्त्यसम्म त्यसको पनि परीक्षण गरिसक्नेछ । 

लेफ्टिनेन्ट कमाण्डर सिद्धार्थ सोनी फ्लाइट डेक अफिसर र हेलिकप्टर पाइलट पनि हुन् । उनका अनुसार विक्रान्तको फ्लाइट डेक करिब १२५०० स्क्वायर मिटरको छ, यहाँबाट एकैपटक १२ वटा लडाकु विमान र ६ वटा हेलिकप्टर चलाउन सकिन्छ ।  तर ४५ हजार टनको यो शक्तिशाली युद्धपोत शत्रुको निशानामा पर्ने सम्भावनामा पनि छ । त्यसैले यसको सुरक्षाको लागि अलग व्यवस्था गरिएको छ । 

युद्धपोतको सुरक्षा व्यवस्था
सुरक्षाका कारण युद्धपोतहरु कहिल्यै एक्लै निस्कदैनन् । योसँग सधैं एन्टी सबमेरिन र वायुरोधी क्षमता रहेका जहाजहरु पनि सँगै हुन्छन् ।  त्यस अतिरिक्त विक्रान्त आफैंमा पनि विभिन्न रक्षात्मक सुविधाहरूले सुसज्जित छ ।  अन्य जहाजभन्दा फरक युद्धपोतको विशेषता के हुन्छ भने यसले आवश्यकता अनुसार पूरा एयरफिल्डलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्छ । विक्रान्तको आगमनसँगै भारतमा अब दुईवटा करियर हुनेछ ।

तर भारतको नौसेनाले आफ्नो शक्ति मजबुद बनाउने हो भने कम्तिमा थप एक युद्धपोत चाहिने बताएको छ । भारतका नौसेना प्रमुखहरूले यसको पक्षमा खुलेरै आफ्नो धारणा व्यक्त गरेका थिए । भारतको केन्द्रको मोदी सरकारले रक्षा उत्पादनमा आत्मनिर्भर हुने कुरामा जोड दिइरहेको भएपनि तेस्रो युद्धपोतको लागि आवश्यक रकम भने उपलब्ध गराइएको छैन ।

पछिल्लो समय नौसैनिक शक्तिको रुपमा विकास भइरहेको चीनले सन् २०१२ र सन् २०२२ को १० वर्षको अन्तरमा दुईवटा युद्धपोत कमिसन गर्यो । तेस्रो र सबैभन्दा ठूलो युद्धपोतमा काम भइरहेको छ ।  चीनकै विकासलाई हेरेर पनि भारत सरकारमाथि युद्धपोत बढाउनुपर्ने दबाब छ । तर भारतमा युद्धपोतको निर्माणको रफ्तार ढिलो भएकोप्रति केहीले प्रश्न उठाएका छन् । 

हाल कमिसन भएको विक्रान्त निर्माणको लागि सरकारले सन् २००३ जनवरीमै स्वीकृति दिएको थियो । सन् २००७ मा पहिलो सम्झौता भएपछि काम सुरु भएको यस युद्धपोतको दोस्रो चरणको निर्माणमा ढिलाइ भएको थियो ।       २ खर्ब भारु खर्चेर बनेको यस युद्धपोतका ७६ प्रतिशत सामान भारतमा बनेका छन् । यसको निर्माणमा करिब ५ सय भारतीय कम्पनी संलग्न भएका थिए । 

नौसेनाले यसलाई भारतीय रक्षा क्षेत्रमा लगानीको रूपमा हेरेको छ । सरकारका अनुसार यस युद्धपोतको निर्माणका क्रममा गत १३ वर्षमा जहाज निर्माण क्षेत्रमा करिब १५ हजार रोजगारी पाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप