शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आम निर्वाचन  र एमाले-राप्रपा तालमेलको सवाल

शनिबार, १८ भदौ २०७९, १९ : २८
शनिबार, १८ भदौ २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको निमित्त ५ दलीय गठबन्धनले सिटको बाँडफाँट सहज रूपमा टुङ्गो लगाउन सकेको छैन । चुनावी क्षेत्रको बाँडफाँट निर्धारण गर्ने जिम्मेवारी पाएको कार्यदललाई निकै नै निकै ठुलो सकस देखिएको छ । शीर्षस्थ नेताहरूको चुनावी क्षेत्र नै सुनिश्चित गर्न हम्मे हम्मे परेको छ ।  यता यस्तो परिस्थिति छ भने एक्लै निर्वाचनको मैदानमा उत्रनु पर्ने  बाध्यात्मक अवस्थाबाट गुज्रिएको नेकपा (एमाले) साना दलहरूसँग नजिकिएको छ । 

थोरै भोटको सहयोग मात्र पनि महत्त्वपूर्ण हुने अवस्थामा पुगेको नेकपा (एमाले) आफ्नै बलबुतामा उभिन पछिल्लो समय कम्मर कसेर लागेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय तीन पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नुले पनि उनी अरूको भरमा नपर्ने "मुड"मा देखिन्छन् । आफ्नो जित सुनिश्चितताको निमित्त ओलीले आफै मेहनत गरेको देखिन्छ । 

अन्य पार्टीसँग सहकार्य गर्नुभन्दा अरूलाई आफ्नो पार्टीमा प्रवेश गराएर उचित मान-मनितो सम्मान दिने सोचाइमा ओली रहेको उनको गतिविधिले प्रस्ट पार्दछ । 

यसै क्रममा उनले राप्रपासँगको तालमेललाई पनि प्राथमिकतामा राखेको देखिँदैन । कुरा मीठो गरिदिने तर महत्त्व नदिने उनको रणनीति देखिन्छ । राप्रपासँगको सहकार्य ओलीको भित्री इच्छाको विषय पनि नरहेको उनका निकटहरू बताउँछन् । राप्रपासँगको सहकार्यले उनलाई धेरै कोणमा बिझाउने उनको टिप्पणीबाट सहजै बुझ्न सकिन्छ ।

 "राप्रपासँग सहकार्य गर्ने भए अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रका राप्रपाका कार्यकर्तालाई ओलीले एमालेमा प्रवेश गराउने थिएनन्, यति सामान्य कुरा त बुझ्नु पर्छ नि राजनीति गर्नेले " एमाले कै एक उच्चस्तरका एन नेताले प्रतिक्रिया दिएका छन् । उनका अनुसार यति मात्रै होइन अरू महत्त्वपूर्ण विषयहरू छन् जसले राप्रपासँग सहकार्य गर्ने बाटोमा अवरोध सृजना गर्नेछन् । उनका अनुसार राजेन्द्र लिङ्देनको नेताहरू सबै चोर हुन् भन्ने नेपाली काङ्ग्रेसको महाधिवेशनका क्रममा भृकुटीमण्डपमा गरेको भाषणलाई अध्यक्ष ओलीले अत्यन्तै आपत्तिजनक रूपमा लिएका छन् ।

 यो मात्रै होइन , लिङ्देनले लिएको सक्रिय राजाको मुद्दालाई कुनै पनि एमालेका कार्यकर्ताले स्विकार्न सक्दैनन् । राप्रपासँगको सहकार्य कार्यकर्ता स्तरमा नै अस्वीकार्य हुने ओलीको विश्लेषण रहेको छ । ती नेताको भनाइ अनुसार राप्रपालाई सहयोग गरेर केही सिटमा जिताउँदा पनि उनीहरू भोलि गठबन्धन दलको कित्तामा पुग्ने  ओलीको ठम्याई छ ।  काङ्ग्रेस महाधिवेशनमा लिङ्देनले नेताहरू चोर भनेकाले कुन नैतिकताले मैले राजेन्द्रलाई भोट माग्ने भनेर आफ्ना निकटतमलाई ओलीले भन्दै आएका छन्। 

झापा क्षेत्र नं ३ मा ओली निकट दुर्गा प्रसाईँले चुनावको छुट्टै तयारी समेत गरिसकेका छन्। उनलाई ओलीले नै "ग्रिन सिग्नल" दिएका हुन्। त्यो क्षेत्रमा एक्ला एक्लै भिड्दा दुर्गा प्रसाईँले जित्ने सम्भावना रहेकोले पनि विगतमा पटक-पटक धोका दिएका राजावादी लिङ्देनलाई सहयोग गर्नु अनैतिक हुन्छ भन्ने झापा एमाले नेतृत्वको भनाई छ। यसलाई ओलीले पनि अस्वीकार गर्दैनन् । पहिला सहयोग गरेर जिताएर ल्याउँदा पनि एमालेको पक्षमा कहिल्यै सहयोगी भूमिकामा नदेखिएको र धोका मात्रै दिएको घटनाक्रमले नै पुष्टि गरेको कुरा ओलीले किचेन क्याबिनेटको बैठकमा भन्ने गरेका छन् ।" त्यो मान्छे अलि बैगुनी रैछ ,चिसो रैछ " ओलीले भन्ने गरेका छन् ।

 लिङ्देनको धोकाबाट राष्ट्रिय  सभामा सिट गुमेको , संसद्मा चाहिने बेला अनुपस्थित हुने गरेको लिङ्देनको चतुर्‍याइँको आफू भुक्तभोगी भएको फलिको कथन हुने गरेको छ ।  अर्को महत्त्वपूर्ण पक्ष राजेन्द्र लिङदेनले दमक नगरपालिकामा गठबन्धनबाट मेयर जितेका राम थापालाई देखाएर ओलीलाई तर्साउने गरेका छन्। तर राम थापाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्ने आफ्नो नैतिक बाध्यता रहेको बताएका छन्। ओलीको झापा निर्वाचन क्षेत्र नं ५ बाट माओवादीका गगन पुरीले टिकट पाउने सम्भावना छ। गिरीसँग राम थापाले स्थानीय चुनावमा गठबन्धनलाई सघाउने लिखित सम्झौता गरेको स्वयं गिरीले बताएका छन्। 

राप्रपा नेपालका अध्यक्ष कमल थापासँगको ओलीको निकटता र आत्मीय सम्बन्धले पनि लिङ्देनको राप्रपासँगको मोह कम हुने अड्कल  गर्न सकिन्छ ।राप्रपा विभाजनको कारण पनि सहकार्य गर्न ओलीको रुचि कम रहेको देखिन्छ । झापा र रुपन्देहीमा सामान्य बाहेक अन्य ठाउँमा लिङ्देन राप्रपाको उपस्थिति उल्लेख्य नहुनुले पनि तालमेलमा शिथिलता ल्याएको हो । अब राप्रपा एक हुने र तालमेलको विषयमा कमल थापाको अग्रसरता हुने हो भने एमालेसँग चुनावी तालमेल सहज हुने देखिन्छ । 

यो ब्लग लेखककाे निजी धारणा हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप