बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रत्येक विद्यालयमा योग र ध्यान कक्षा सञ्चालन गर्नुपर्छ : अर्थमन्त्री शर्मा

शनिबार, १८ भदौ २०७९, ०७ : ००
शनिबार, १८ भदौ २०७९

अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक विद्यालयमा योग र ध्यान कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले आधा घण्टामात्र भएपनि प्रत्येक विद्यालयमा योग कक्षा सञ्चालन गर्नुपर्ने बताए । शनिबार गौतम बुद्ध जीवन योग प्रयोगशालाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस वर्षको बजेटमा समेत विद्यालयमा योग कक्षा सञ्चालन गर्ने विषयलाई समेटिएको बताए ।

उनले भने, ‘यो वर्षको बजेटको एउटा बुँदामा यसलाई पनि उल्लेख गरेको छु । अब प्रत्येक विद्यालयमा योग र ध्यानको कक्षा सुरुवात गर्नुपर्छ । त्यसले विद्यार्थीहरुको अध्ययन गर्ने क्षमतामा वृद्धि गर्न सकिन्छ भनेर एउटा कार्यक्रम पनि बनाइएको छ । त्यसलाई शिक्षा मन्त्रालयमार्फत अघि बढाउने तयारी भैरहेको छ ।’

अर्थमन्त्री शर्माले योग र ध्यानलाई जीवन विज्ञानसँग जोडेर लैजानुपर्ने बताए । उनले भने, ‘यसलाई जीवन विज्ञानसँग कसरी जोड्ने भन्ने कुरा उठेको छ । मलाई पनि त्यसको योजना निर्माण गर्नुपर्छ भन्ने लागिरहेको छ ।’

प्रकृतिको मुख्य शक्ति गति भएकोले योग विज्ञानले पनि गतिसँग तादाम्यता गर्न सिकाउने उनले बताए । जीवन विज्ञान प्रयोगशालामा आफु पनि जोडिएको बताउँदै उनले यहाँ आएर बेला बेलामा योग अभ्यास गर्ने गरेको र व्यक्तिगत रुपमा महत्वपूर्ण उपलव्धी हासिल भएको बताए  । कुनै पनि प्रगतिका लागि स्वस्थ विचार, मन र अभ्यास आवश्यक हुने बताउँदै उनले योग र ध्यानबाट ती कुराहरु प्राप्त हुने बताए ।

परम्पराबाट दीक्षित भएर आएको योग विज्ञानलाई अझ विस्तृत बनाउनुपर्नेमा उनले जोड दिए । यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न आयोजक संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले धन्यवाद समेत दिए ।

शनिबार राजधानीमा भएको योग कार्यक्रममा जीवन योग विज्ञान प्रयोगशालाका संस्थापक एलपी  भानु शर्माले प्रवचन दिएका थिए । गौतम बुद्ध जीवन योग प्रयोगशाला जीवन योग विज्ञान प्रयोगशालाको शाखा हो । जीवन योग विज्ञान प्रयोगशालाले ५० देशमा शाखा विस्तार गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप