सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन्, अन्तिम खेलमा छल्कियो आँसु
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलविदा भनिन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् । न्युयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।
खेलपछि उनी भावुक देखिइन् र हात हल्लाएर मानिसहरूबाट बिदा भइन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई यहाँ नै अन्त्य गरिन् । कोर्टको बिचमा नै उनको अन्तरवार्ता गरियो तब उनको आँखाबाट आँसु छल्कियो । उनले आफ्नो परिवार, टिम, दर्शक र आफ्नो प्रशंसकलाई उनको समर्थनका लागि धन्यवाद दिइन् ।
उनले भनिन्, ‘मलाई वर्षौँदेखि दशकौँसम्म सहयोग गरेकोमा यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । दशक बित्यो तर मलाई विश्वास लाग्दैन ।’ उनलाई यो हप्ता आफ्नो प्रदर्शनलाई ध्यानमा राख्दै अवकाशको निर्णयमा पुनर्विचार गर्ने हो कि भनेर सोधिएको थियो । यसबारे सेरेनाले भनिन्, ‘म यसमा आफ्नै तरिकाले खेलिरहेको थिएँ र राम्रो हुँदै गइरहेको थिएँ । मलाई लाग्दैन कि म फेरि सोच्नेछु तर पछि के हुन्छ, कसैलाई थाहा हुँदैन ।’
सेरेना विलियम्सले आफ्नो पहिलो व्यावसायिक खेल सन् १९९५ मा खेलेकी थिइन् । आफ्नो करियरमा, उनले २३ सिंगल्स ग्रान्ड स्लाम उपाधि जितिन् र लामो समयसम्म विश्वको नम्बर एक खेलाडी बनिरहिन् ।