आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दाहाल यज्ञनिधिको दैलो टेक्दा...

शनिबार, १८ भदौ २०७९, ०७ : ५४
शनिबार, १८ भदौ २०७९

दाहाल यज्ञनिधि नेपाली साहित्यिक पत्रकारिता जगत्को परिचित नाम हो । उनको सम्मान र सम्झनाका लागि धर्मपत्नी सुधा आचार्यले भर्खरै यज्ञनिधि–सुधा ट्रस्ट संस्था दर्ता गरी ‘दाहाल यज्ञनिधि पुरस्कार’को स्थापना समेत गरेकी छन् । 

सुधाले सो संस्थामा ५१ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजबाट हरेक वर्ष विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने योजना बनाएकी छन् । त्यही उद्देश्यअनुसार यस वर्ष ‘दाहाल यज्ञनिधि पुरस्कार २०७९’ बाट राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनः पहिलो पटक सम्मानित भैसकेका छन् ।

दाहाल यज्ञनिधि निर्भीक स्वभावका थिए । लामो समय रेडियो नेपालमा काम गरेका साहित्यिक पत्रकार दाहालको परिवारबारे बुझ्न रातोपाटीले विभिन्न साहित्यिक व्यक्तित्वहरूसँग सोधपुछ गर्यो । त्यस क्रममा नीलम कार्की ‘निहारिका’ले उनी निकट रहेर लामो समयसम्म रेडियो नेपालमै काम गरेको र दाहाल यज्ञनिधिकै प्रेरणाबाट योगमाया जस्तो मदन पुरस्कार प्राप्त कृति लेखेको हो भन्ने जानकारी पाएपछि उनीसँग सम्पर्कको प्रयास पनि भयो । 

तर देशबाहिर रहेकाले नीलमसँग सम्पर्क स्थापित हुन सकेन । त्यसपछि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘भाउजू सुधा दाहाल आचार्यसँग कुरा गर्दा अझ राम्रो हुन्छ नि’ भनेर फोन नम्बर उपलब्ध गराए । तर त्यो फोन अर्कैको परेछ । खोज्दै जाँदा प्रज्ञा प्रतिष्ठानको साहित्यकार–कलाकार कोशमा दाहाल यज्ञनिधिको घरकै फोन फेला पर्यो । 

बिहान ८ बजे उहाँलाई सम्पर्क गरियो । सुधा दाहालले सुकेधाराबाट भित्र एकताबस्तीमा रहेको घरमा आउन ‘लोकेसन’ पनि दिइन् । सुकेधाराबाट सिधै भित्र आएपछि धोवीखोला भेटिन्छ । त्यो नतरी किनारै किनार अलिकति उत्तर आएर दाहाल यज्ञनिधिको घर सोध्दा सबैले बताइदिने उनले जनाइन् । सोहीअनुुसार बिहान सवा १० बजे फोटो पत्रकार कृष्ण खड्का र म दाहाल यज्ञनिधिका घरमा पुग्यौँ । 

एकताबस्तीस्थित धोवी खोलाको पश्चिम किनारमा साढे दुई तलाको रातो रङको ठूलो कम्पाउन्डको घर रहेछ । दुईटा कालो रङका गेट । हामी दोस्रो गेटमा उभियौँ र उनलाई फोन गर्यौँ । एकछिनपछि उनी बाहिर आइन् र पहिलो गेटबाट दक्षिणतिर चिहाइन् । हामीले नमस्कार भन्दै पहिलो गेटतिर गयौँ । भित्र आउन अनुरोध गरेपछि उनलाई पछ्याउँदै गयौँ । खोलाको किनार भएर होला अलिकति जमिन उठाएर घर बनाइएको रहेछ । २, ३ वटा सिँढी उक्लेर हामी घरभित्र पस्यौँ । 

पहिलो तल्ला पूरै खुला, वेतबाँसबाट बनेका टेबल, कुर्सी र सोफाले सजाएको बैठक कोठा । हामी उत्तरतर्फको सोफामा बस्यौँ । घरभित्र दक्षिणबाट उत्तर–पश्चिम फर्किएर दाहाल यज्ञनिधिकी ८४ वर्षीय वृद्ध आमा कृष्णकुमारी घिमिरे कुर्सीमा बसेकी रहिछन् । ‘उहाँ आमा (सासू), सँगै बस्छौँ,’ उज्यालो अनुहार लगाउँदै सुधाले हामीसँग परिचय गराइन् ।   

घरको वालमा दायाँतर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ठूलो तस्बिर राखिएको, त्यसको दायाँतर्फ अलिक तलतिर दाहाल यज्ञनिधिको अद्र्धकदको तस्बिर सानो टेबलमाथि राखिएको, बायाँतर्फ नेपाली साहित्यका विशिष्ट प्रतिभा विश्वेश्वरप्रसाद कोइरालाको ठूलो तस्बिर र दाहाल यज्ञनिधिका केही सम्मानपत्रहरू सजाइएको थियो ।  

हामीले सुधा आचार्यलाई नेपाली साहित्यिक पत्रकारिता जगत्मा विशिष्ट योगदान दिने दाहाल यज्ञनिधिका बारेमा तपाईंकै मुखबाट सुन्न आएका बतायौँ । पीडा र हर्ष मिश्रित हाँसोका साथ ‘यहाँसम्म धाएर आउनुभएको छ, केही चिसो खाऊँ है’ भन्दै उनी भान्सातिर लागिन् । 

बर्को ओढेर हामी नजिकै बसेकी दाहाल यज्ञनिधिकी आमाले आफ्ना सबै छोराछोरीको देहान्त भइसकेको पीडा सुनाइन् । उनका तीन छोरा र दुई छोरी सबै पाँचै सन्तान वितिसकेका रहेछन् । पाँच छोराछोरीमध्ये कान्छो छोरा र माइली छोरीका मात्र सन्तान भएछन् । अरूका जायजन्म नै नभएको उनले बताइन् । उनले भनिन्, “मेरो १० वर्षको उमेरमा विवाह भयो । १४ वर्षमै छोराछोरी भए । तर सबै विते, अहिले एक्ली छु ।” 

उनी ३२ वर्षको हुँदा ४० वर्षकै उमेरमा पति तारानाथ दाहाल वितेको दुःखद क्षण उनका मनमा अझै काँडाझैँ विझिरहेको रहेछ । “२०२८ सालमा पतिको देहान्त भयो । अरू केटाकेटी सानै थिए । यही ठूलो छोरा (यज्ञनिधि) का काँधमा सबै जिम्मेवारी आयो ।” टिलपिलाएका आँशु पुछ्तै उनले भनिन् ।  

“एउटी छोरीको सानै छँदा अँगेनामा परेर जलेर मृत्यु भयो, अर्की छोरी बच्चाबच्ची भएपछि देहत्याग गरी,” उनले सुनाइन्, “२०७५ साउन २५ गते जेठो छोरो (दाहाल यज्ञनिधि) वित्यो, त्यसपछिको चैतमा अर्को छोरो (कान्छो शिवनिधि) वित्यो । माइलो छोरा (पुष्पनिधि) को पनि त्योभन्दा अघि नै ओछ्यान छेउमै लडेर मृत्यु भयो ।” 

सासूआमाको वाक्य नटुङ्गिँदै सुधाले भनिन्, “रोग पनि कस्तो जेनेटिक हुँदो रहेछ, पाँच जना छोराछोरी, सबै छोराछोरीलाई बाबुकै रोगले लग्यो ।” तीनै भाइको मिर्गौलाकै कारण निधन भएको रहेछ । 

कान्छा छोरा शिवनिधि प्रहरी सेवामा कार्यरत रहेछन् । प्रहरी अस्पतालमा उनको उपचार हुँदाहुँदै देहान्त भएको रहेछ । उनको पनि मिर्गौला फेल भएको रहेछ । 

दाहाल यज्ञनिधिका सन्तान रहेनछन् । यसबारे सुधाले भनिन्, “उहाँमा मिर्गौलासम्बन्धि वंशाणुगत रोग रहेछ । डाक्टरले यो रोग तपाईंहरूका सन्तानमा पनि सर्दै जान्छ, दुवै जना शिक्षित हुनुहुँदो रहेछ, विचार गर्नुस् भनेपछि हामीले सन्तान जन्माउनतर्फ लागेनौँ ।” सन्तान जन्मिएपछि फेरि त्यही रोगले पीडित हुनुपर्छ भन्ने लागेर हुन सक्छ, उनीहरूको सन्तान जन्माउने रहर त्यसै तुषारापात भयो । माइला छोरा पुष्पनिधिको पनि सन्तान नभएको वृद्ध आमाले सुनाइन् । 

तर कान्छा छोराका ४ सन्तान (दुई छोरा, दुई छोरी) रहेछन् । माइली छोरीका २ जना सन्तान भएछन् । ती सबैको आफ्ना जेठा छोरा दाहाल यज्ञनिधिले नै शिक्षादीक्षा र बिहेवारी गराएको ८४ वर्षीया यज्ञनिधिकी आमाले बताइन् । 

दाहाल यज्ञनिधि धेरै पहिलेदेखि नै बिरामी रहेछन् । त्यो समयमा नेपालका अस्पतालहरुमा मिर्गौला रोगबारे केही जानकारी नै रहेनछ । विभिन्न अस्पताल धाउँदा धाउँदा डाक्टर सत्याल र सुन्दरमणि दीक्षितको टिमले २०४२ सालमा दाहाल यज्ञनिधि मिर्गौलाबाट पीडित भएको पत्ता लगाएको अनि खानपान नियन्त्रण गर्न सुझाव र सुगरको औषधि सेवन गर्नु भनेर लेखिदिएको सुधाले बताइन् । 

सुगरले पो हानेको रहेछ ! हामीले शङ्का व्यक्त ग¥यौँ । “उहाँको मिर्गौला सुगरले हानेको होइन, वंशाणुगत नै रहेछ । पोलिसिस्ट भन्ने मिर्गौलामा लाग्ने रोग रहेछ । मिर्गौलाका वरिपरि सिस्ट नै सिस्ट पलाएर ढपक्कै ढाकेर काम नगर्ने हुँदो रहेछ,” सुधाले भनिन्, “जम्मा एउटा किड्नी २ सय ग्राम हुन्छ तर सिस्ट पलाएर उहाँको साढे ४ केजीको भएको रहेछ ।” उनलाई श्रीमानको किड्नी अपरेसनपछिको क्षण अझै ताजै रहेछ । “ल हेर तेरो श्रीमान्को यस्तो भएको रहेछ भनेर डाक्टरले देखायो,” उनी सम्झिन्छिन्, “इन्फेक्टेड हुँदा हुँदा पीप र रगतले भरिएर त्यत्रो भएको रहेछ । कसरी सहन सके होलान् ?” 

श्रीमान्को उपचारका लागि भौँतारिँदाका पीडा धेरै रहेछन् उनका । त्यस क्रममा उनले साई बाबाको अस्पतलामा उपचार हुन्छ भनेर बेङ्लोरको पुट्टपर्ती अस्पताल पनि पुर्याइन् । उनकै एकजना बहिनीले उपचार गरेर आएको, किड्नीको एकदम राम्रो उपचार हुन्छ भनेपछि त्यहाँ लगेको उनी बताउँछिन् । तर त्यहाँ लगेकोमा निकै ठूलो भूल गरेको ठान्छिन् उनी । “ उहाँ सन्त वन्त मन नपराउने, जान मान्नुभएको थिएन,” उनले भनिन्, “तैपनि भइहाल्छ कि भन्ने आशाले कर गरेर लिएर गएँ, तर भएन ।”

त्यहाँ लगेपछि अब यो रोगको उपचार नहुने रहेछ भन्ने लाग्यो क्यारे । त्यसपछि त उहाँ झन् बिरामी हुनुभयो भन्दै पश्चाताप मान्छिन् सुधा । “मलाई नै नचिन्नेसम्म भएपछि दिल्ली लगेँ, ८ दिन त उहाँलाई होस नै थिएन, पूरै कोमामा जानुभयो,” उनी भन्छिन्, “दिल्लीको अस्पतालमा २१ दिन राखेपछि काठमाडौं लिएर आएँ ।” अब निको होला भन्ने आशा उनले गरेकी थिइन् तर २÷४ दिनपछि फेरि उस्तै भएछ । अनि वीर अस्पताल भर्ना गरिन्, त्यहाँ पनि केयरलेस भएपछि घरमै ल्याइन् । 

त्यसपछि दिनहुँ पुतलीसडकको प्रमोद क्षेत्रीको अपोलो क्लिनिक र घर धाउँदा धाउँदै उनका ३÷४ महिना विते । “त्यतिबेला नक्सालमा राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा ऋषिकुमार कार्कीले डायलासिस सुरु गरिसकेका रहेछन्, त्यहाँ चेन्नईबाट आएको डाक्टरसँग भेट भयो,” उनले भनिन्, “उसले अब मिर्गौला ट्रन्सप्लान्ट नगरी हुँदैन भन्यो ।” अनि चेन्नई गएर मिर्गौला फेरेको उनी बताउँछिन् ।

चेन्नई जाँदासम्ममा करिब ७०÷७५ पटक डायलासिस गरिसकिएको थियो । “मिर्गौला दिने मान्छे पनि सँगै लिएर गएर साढे सात महिना बसेर ट्रन्सप्लान्ट गरेर ल्याएपछि १२ वर्षसम्म मज्जाले कार्यक्रम चलाउनुभयो,” उनी सम्झिन्छिन्, “रेडियो नेपाल, एचबीसीदेखि एपी वानमा पनि कार्यक्रम चलाउनुभयो ।” 

तर मिर्गौला फेरेको १२ वर्षपछि फेरि समस्या बल्झियो । अनि पुनः चेन्नई गइन् । के कारणले फेल भयो भनेर सोधखोज गरिन् । जबकि त्यतिबेला डाक्टरले उनलाई २०÷२५ वर्ष मजाले चल्छ भनेको थियो । तर डाक्टरले सबै कुरा त्यतिबेला खुलेर भनेको रहेनछ । उनले पहिलेकै डाक्टरलाई भेटिन् । “पहिलेको मान्छेको ६० प्रतिशत मात्र मिर्गौला उहाँलाई म्याच गरेको रहेछ, मिर्गौला ट्रान्सप्लान्ट गर्दा त्यसको आयु म्याचिङमा भरपर्दो रहेछ,” उनले भनिन्, “उसले अर्को मान्छे खोजेर ल्याऊभन्दा तुरुन्त ल्याउन सक्ने अवस्था नहुने भएकाले त्यही लगाइदिएको त्यो डाक्टरले बतायो ।” 

दुईवटै किड्नी निकालिसकेको मान्छे जुनसुकै बेला बित्न सक्छ भनेर त्यही लगाइदिएको रहेछ भन्छिन् उनी । “तेरो श्रीमानको उमेर र मिर्गौला दाताको उमेर धेरै नै फरक भएकाले मिर्गौलाको क्षमता नै कम भएको भनेर डाक्टरले पछि भन्यो,” उनी सम्झिछिन्, “त्यो मिर्गौला दिने केटाले पनि ढाँटेछ, हामीलाई २५ वर्षको भनेको थियो तर ऊ १९ वर्षको मात्र रहेछ, पछि मात्र थाहा भयो ।”

सुधा आचार्य र दाहाल यज्ञनिधिको विवाह २०३७ सालमा भएको रहेछ । विवाहको पाँच वर्षपछि नै २०४२ सालमा त उहाँमा समस्या सुरु भएको बताउँछिन् सुधा । “त्यतिबेला डाक्टर सत्याल र सुन्दरमणि दीक्षितको टिमले उहाँको रोग पत्ता लगाएको थियो । नेपालमा पहिलो पल्ट मधु घिमिरेले अल्ट्रा साउन्ड ल्याएका थिए”, उनले भनिन्, “उनले दाजु यो मेसिन तपाईंले नै उद्घाटन गर्नु हुने भयो, पहिलो अल्ट्रा साउन्ड गर्ने व्यक्ति तपाईं नै हुनुभयो भने ।”

त्यसभन्दा अघि यज्ञनिधिको कम्मरको पछाडिको भाग दुख्ने, पिसाबबाट रगत जाने हुन्थ्यो । डाक्टर कहाँ पुग्दा ३ सय पुगेको हुन्थ्यो प्रेसर, त्यतिबेला जँचाउने चलन नै थिएन भन्छिन् सुधा । त्यो समयसम्म यो रोगसम्बन्धि कुनै रिसर्च भएकै थिएन भन्छिन् उनी । 

२÷३ वर्ष त यत्तिकै अलमलमा पर्यौँ, रोगै पत्ता लागेन । रोग पत्ता लागेपछि सुन्दरमणिले प्रेसरको औषधि सुरु गर्नुस्, खानामा कन्ट्रोल गर्नुस्, गह्रौँ चिज नउचाल्नुस् । १०÷१२ वर्ष केही हुँदैन भनेर उनलाई सुझाए । १२ वर्षपछि चाहिँ म केही भन्न सक्दिनँ भनेका थिए डाक्टरले । त्यो रोगसँग लडाइँ गर्दा गर्दा २०७५ साउन २५ गते दाहाल यज्ञनिधिले हार्नुपर्यो, उनी दिवंगत भए । 

यस क्रममा सुधा आचार्यले उनलाई अथक सहयोग गरिन्, नेपाल र भारतका अधिकांश अस्पतालका झमेला व्यहोरिन् । अझै पनि उनी भन्छिन्, “उहाँसँग म ३८ वर्ष ४५ दिन सँगै रहेँ । त्यो अवधिमा एक पटक पनि ठूलो स्वर गर्नु भएन ।” दाम्पत्य जीवन जे जस्ता समस्या आइपरे पनि यो जीवनप्रति आफू पूर्ण सन्तुष्ट रहेको उनले बताइन् । 

कुराकानी सकिइसकेपछि हामीले विदा माँग्यौँ । ती ८४ वर्षीया आमा ढोकासम्म आएर सम्झेर आइदिएकोमा आशीर्वाद दिइन् । सुधाले पनि सम्झेर आएको धन्यवाद भनिन् । हामीले पनि जदौ भन्दै विदा लियौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप