शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विद्युत खपत प्रवर्द्धन कार्यक्रम शुरु, दुई वर्षपछि २ खर्बको बिजुली निर्यात गर्ने प्राधिकरणको उद्घोष

शुक्रबार, १७ भदौ २०७९, २२ : ३३
शुक्रबार, १७ भदौ २०७९

नेपाल विद्युत प्राधिकरण (एनईए) ले विद्युत खपत प्रवर्द्धन कार्यक्रम, २०७९ को शुरुआत गरेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै प्राधिकरणले विद्युतको उत्पादन, स्वदेशी खपत र अन्तर्राष्ट्रिय बजारमा अधिकतम बिक्री सम्मको कार्यक्रम घोषणा गरेको हो । 

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले वार्षिक २ खर्ब रुपैयाँ बराबरको विजुली निर्यात गर्ने लक्ष्यसहित प्राधिकरण अघि बढेको बताए । केही महिनायता मात्र प्राधिकरणले ३६५ किलोवाट विद्युत निर्यात गर्न सफल भएको बताउदै प्रमुख घिसिङले थप सोही परिणाम बराबरको विद्युत निर्यात वृद्धि गर्ने योजनामा प्राधिकरणले जानकारी दिए ।

‘प्रतियुनिट १३ रुपैयाँका दरले यसैवर्ष मात्र प्राधिकरणले ३६५ किलोवाट विद्युत निर्यात गर्न सफल भएको छ । यसबाट करिब साढे अर्ब रुपैयाँ आम्दानी भएको छ’ घिसिङले भने, ‘थप ३५० किलोवाट विद्युत निर्यात गर्ने योजनामा प्राधिकरण रहेको छ । दुई वर्षपछि कम्तिमा दुई खर्बको विद्युत निर्यात गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो’  घिसिङले भने ।

बुढीगण्डकी, पश्चिम सेती, रसुवागढी, सान्जेन जस्ता ठूला (साना आयोजनाबाट निकट भविष्यमा नै ठूलो परिणाममा विद्युत उत्पादन हुने चरणमा रहेकाले निर्यातमा वृद्धि हुने उनले बताए । अबको ५ वर्षपछि कम्तिमा ७ हजार मेगावाट विद्युत थपिने घिसिङले बताए । सोही अवसरमा कार्यकारी प्रमुख घिसिङले अब विद्युतको खपत बढाउन सबै खाले इनर्जीलाई विद्युतीकरण गर्नुपर्ने बताए ।

‘छ वर्षअघिसम्म हामी आफै विद्यालय विद्यालय गएर विद्युत खपत कम गर्ने उपाय सिकाउँदै हिँडेका थियौं । विद्युत खपत कम गर्न भनिरहेका थियौ । तर, अब हामीले विद्युत खपत बढाउन भनिरहेका छौं’ उनले भने, ‘अब वार्षिक ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ र दुई खर्ब रुपैयाँ बराबरको अन्य आयात विस्थापित गर्न पनि विद्युतीय खपत बढाउँ ।’ 

घिसिङले खाना पकाउन, विभिन्न प्रकारका मेसिनरी प्रयोगमा र सवारी साधनमा समेत विद्युतीय प्रयोग बढाउनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि तथा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले विद्युतको दुनियाँमा नेपाल नयाँ युगमा प्रवेश गरिसकेको बताइन् । ‘नेपालले विद्युत उत्पादन गर्न थालेको ११२ वर्ष भएछ । तर, हामी भन्दा पछिका देशहरुले धेरै छिटो प्रगति गरे । यद्यपि, ढिलै भएपनि विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा छौ’ सोही अवसरमा मन्त्री भुसालले भनिन्, ‘आज म धेरै खुशी छु, किनकि आफ्नै पालामा बुढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना त्यो पनि स्वदेशी लगानीमा नै सम्पन्न गर्नेगरी स्थापित कम्पनीले प्रमाणपत्र प्राप्त गरेको छ ।’ 

लामो रस्साकस्सीपछि अन्ततः आफ्नै लगानीमा निर्माण गर्ने गरि सरकारले बुढीगण्डकी जलविद्युत कम्पनी खडा गरेर जाने निर्णय गरेको थियो । सोही कम्पनीले शुक्रबार कम्पनी रजिस्ट्रारको कार्यलयबाट रजिस्टरको प्रमाणपत्र प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप