प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : ३११ वटा बैठक, ३६४ घण्टा छलफल
प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएसँगै अप्रत्याशित कुनै घटना नभए अब प्रदेशसभाको यो कार्यकालमा अर्को बैठक बस्ने छैन ।
आगामी मंसिर ४ गतेपछिको निर्वाचनबाट निर्वाचित सांसदसहित अब प्रदेशसभाको बैठक बस्ने छ । प्रदेशसभाको अधिवेशन अन्त्यसँगै सभामुख प्रदीपकुमार भण्डारीले सांसदहरुका लागि सामान्य चियापान आयोजना गरे । सांसदहरुले प्रदेशसभा भवनभित्रै फोटो सेसन पनि गरे ।
चियापानका क्रममा सभामुख भण्डारीले भने, ‘यो कार्यकालको बैठक लगभग सकिएको हो, अब अप्रत्याशित ढंगले कुनै विशेष अधिवेशन आह्वान गर्नुपर्न अवस्थामा मात्रै प्रदेशसभाको बैठक बस्नेछ, नभए हाम्रो कार्यकालको अन्तिम मानेर चियापानमा सहभागी हुनुहोला ।’ सभामुख भण्डारीले भनेजस्तै प्रायः सांसदहरुले संसद सचिवालयका कर्मचारीहरुसँग पनि बिदा मागेका थिए ।
पहिलो कार्यकालमा ३११ वटा बैठक, ३६४ घण्टा छलफल
संसद सचिवालयले दिएको जानकारी अनुसार प्रदेशसभाको साढे ४ वर्षको कार्यकालमा ३११ वटा बैठक बसेको छ । उक्त बैठकमा ३६४ घण्टा ४३ मिनेट छलफल भएको छ ।
हेर्नुहोस् तथ्याङ्क
तथ्यांक अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा ३९ वटा बैठक सञ्चालन भएको छ भने ३९ वटा विधेयक पारित भएको छ । यस्तै दोस्रो अधिवेशनमा ५२ वटा बैठक बस्दा १२ वटा विधेयक पारित भएको छ । तेस्रो अधिवेशनमा ३५ वटा बैठक बस्दा ६ वटा विधेयक पारित गरेको छ भने चौथो अधिवेशनमा ५४ वटा बैठकले १४ वटा विधेयक पारित गरेको छ ।
तथ्यांक अनुसार पाँचौं अधिवेशनमा २२ वटा बैठक बस्दा एउटा विधेयक पारित गर्दा छैठौं अधिवेशनमा ३७ वटा बैठक बसी १० वटा विधेयक पारित गरेको छ । यस्तै सातौं अधिवेशनबाट ८ बैठक बसे पनि कुनै पनि विधेयक पारित गरेको छैन । आठौं अधिवेशनमा २८ बैठक बसी ३ विधेयक पारित हुँदा नवौं अधिवेशनमा १२ वटा बैठक बसी १ विधेयक पारित भएको छ । दशौं अधिवेशनमा भने २४ वटा बैठक बसेर ४ वटा विधेयक पारित गरेको छ ।
संसदले पारित गरेका उल्लेखित विधेयकहरु संशोधनसहितका हुन् । हालसम्म पारित गरेको जम्मा विधेयकको संख्या भने ६३ वटा रहेको संसद सचिवालयले जनाएको छ ।
साढे ४ वर्षको समयमा सांसदहरूले शून्य समयमा ८ सय ८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६४ पटक र विधेयकमाथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक आफ्ना कुरा राखेका छन् ।
बिर्सन लायक सातौं अधिवेशन
संघीय संसद पटकपटक विघटन र नेकपाको विभाजनको असर प्रदेश १ संसदले पनि व्यहोर्न बाध्य भयो । प्रदेशसभाको सातौं अधिवेशनभर कुनै पनि विधेयक पारित नगरी प्रदेशसभा बन्धक जस्तै बनेको थियो ।
‘२०७७ साल माघ ७ गते सुरु भएको सातौं अधिवेशनमा २०७८ साल वैशाख ५ गते सम्म २ घण्टा २३ मिनेटको समय अवधिमा ८ वटा बैठक बसेको छ । यो अधिवेशनले कुनै पनि विधेयक पारित गरेन,’ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले भने ।
छैठौं अधिवेशनको अन्त्यतिरदेखि नै नेकपाको विवादमा तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई हटाउने खेलमा नेता भीम आचार्यको नेतृत्वमा नेकपाका सांसदहरु संगठित भएका थिए । पछि नेकपा विभाजन भयो । नेकपा विभाजनपछि सोही अवधिमा एमालेका नेता भीम प्रसाद आचार्यको नेतृत्वमा प्रदेश सरकरार गठन भयो । उनको नेतृत्वमा सरकार गठन भएकै बखत एमाले पनि विभाजित भयो । यस्तै खिचातानीले उक्त अधिवेशनमा प्रदेशसभाले कुनै काम गर्न नसकेको सांसदहरु बताउँछन् ।
सभामुखको समीक्षाः आफ्नो कार्यक्षेत्र भित्रका महत्वपूर्ण काम गर्यौं
प्रदेशसभामा निर्वाचित सांसदको बैठक प्रक्रिया भने २०७४ साल माघ ७ गतेदेखि तत्कालीन प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ ग्रहण गराएसँगै भएको थियो । शपथग्रहणपछि सरावगीले नै अन्य सदस्यहरुलाई २०७४ माघ १७ गते शपथग्रहण गराएका थिए ।
मोरङको साविक जिल्ला विकास समिति, विराटनगरको भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको थियो । ‘त्यसबेला प्रदेशसभाका कामलाई अगाडि बढाउन संवैधानिक अधिकार अनुसार प्रदेशसभा नियमावली आफैले बनाएर सो बमोजिम आफै स्वचालित भएर सम्पादन गर्न सुरु गरेका हौं,’ सभामुख भण्डारीले भने, ‘यसरी पहिलो अधिवेशनदेखि चालु दशौं अधिवेशनको अन्त्यतिर आइरहँदा हामीले जम्मा ६३ वटा विधेयक पारित गरेको अवस्था छ ।’
सभामुख भण्डारीले हालसम्म पारिस्थितिजन्य रुपमा आइपरेका अवस्थाहरुलाई आत्मसात् गर्दै प्रदेश १ मा ३ वटा सरकार दिएको बताए । ‘कानुन निर्माण गर्नुपर्ने कार्य सँगसँगै प्रदेशसभा सहज सञ्चालन गर्न आवश्यक संरचना निर्माण तथा व्यवस्थापन पनि गर्दै जानुपर्ने अवस्थो थियो,’ उनले भने, ‘हाम्रो कार्यकालमा सुविधा सम्पन्न सभाकक्ष निर्माण गरिएको छ, साथै प्राविधिकरुपले पनि प्रदेश सभाका कामलाई व्यवस्थित गर्न सकिएको छ ।’
उनले आवश्यकता अनुसार अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘हामीले नौलो राजनीतिक प्रणालीको अभ्यास गरिरहँदा संघीयताको व्यावहारिक कार्यान्वयनको महत्वपूर्ण संरचना मानिएको प्रदेशसभाका हामी संस्थापक सदस्यका रुपमा स्थापित भएकोमा गर्वको अनुभूति गरेको छु,’ उनले भने, ‘हाम्रो कार्यकालमा प्रदेशसभाले प्रदेशको नामकरण बाहेक आफ्नो कार्यक्षेत्र भित्रका महत्वपूर्ण कामहरु सम्पादन गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा