भदौ २७ गते चिनियाँ सभामुख ली झान्सु नेपाल आउने
जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष (चिनियाँ सभामुख) ली झान्सुले सेप्टेम्बर १२ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ । तर, भ्रमणको औपचारिक घोषणा नभए पनि स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।
ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली कच्याङपछि तेस्रो नम्बरमा छन् । नेपालमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्नेछन् ।
ली नेपाल आए भने ६ महिनाभित्र चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुनेछ । यसअघि मार्च महिनामा चीनका स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा कुराकानी गरेका थिए ।
जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । गत अगस्टमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले चीनको छिङदाओ भ्रमण गरेर आफ्ना समकक्षी वाङसँग भेटघाट गरेका थिए ।
आगामी मंसिर ४ मा आमनिर्वाचन हुन लागेको स्थितिमा वरिष्ठ चिनियाँ विधायकको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । चिनियाँ नेतृत्वले पहिलेदेखि नेपालका कम्युनिष्ट दलहरु त्यसमा पनि दुई ठूला दलहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई चुनावी गठबन्धनका लागि प्रोत्साहन गर्दै आएको छ ।
अप्रिल २२ मा, लीले सापकोटासँग भर्चुअल कुराकानी गरेका थिए । त्यस समय दुबैले एकअर्कालाई ‘उपयुक्त समयमा आफ्नो देश भ्रमण गर्न निमन्त्रणा’ दिएका थिए ।