मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १७ भदौ २०७९, १७ : १८
शुक्रबार, १७ भदौ २०७९

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ ।

 आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोगाउन पनि विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूले थप टेवा पुग्ने विद्यालयको विश्वास छ । यस वर्ष भदौ २४ गते शुक्रवार इन्द्रजात्रा परेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाइन्छ ।

 तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलान्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो जात्रा मनाउने परम्परा छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । 

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रा नजिकिँदै गर्दा विद्यार्थीहरूले इन्द्रजात्रा विशेष कार्यक्रम मनाउन सुरु गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप