बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धमाधम मल ल्याउँदै कृषि सामाग्री कम्पनी, आयात सहज बनाउन कानुन संशोधनको तयारी

शुक्रबार, १७ भदौ २०७९, १७ : ०१
शुक्रबार, १७ भदौ २०७९

समयमा  रासायनिक मल ल्याउन नसकेर आलोचित हुने गरेको कृषि सामाग्री कम्पनी पछिल्लो समय भने काममा तीव्रता दिएको छ । सामाग्री कम्पनीले साउन पहिलो सातादेखि असोज मध्य सातासम्मको अवधिमा करिब १ लाख मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको छ । कम्पनीका महानिर्देशक राजेन्द्र कार्कीका अनुसार ३० हजार मेट्रिक टन मल साउन १० गतेदेखि आउन थालेको थियो । जुन, अहिले देशभर वितरण भइरहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन मल भारतको विशाखपटनममा आएर बसेको छ ।

उक्त मल नेपाल ल्याउनका लागि रेलको र्‍याकको पखाईमा छ । र्‍याक पाउनासाथ उक्त परिमाणको मल नेपाल आउने कम्पनीका महानिर्देश कार्कीले रातोपाटीलाई बताए । कम्पनीले ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी गरेर १ लाख मेट्रिक टन मल असोज मध्य सातासम्ममा ल्याउने लक्ष्य लिएको छ।  

कृषि सामाग्री कम्पनीले आह्वान गरेको ग्लोबल टेन्डरबाट स्विस सिंगापुर कम्पनीले मल ल्याउने ठेक्का हात पारेको थियो । सोही ठेक्का अनुसार कम्पनीले सिपिङ गरेको २८ दिनको अवधिमै विशाखपटनम बन्दरगाहमा मल ल्याइपुर्‍याएको हो । ‘यसअघि आएको ३० हजार मेट्रिक टन युरिया मल ८०३ डलर प्रतिमेट्रिकटनमा किनिएको हो,’ महानिर्देशक कार्कीले भने, ‘हाल विशाखपटनममा आइपुगेको ३० हजार मेट्रिक टन मल ६९३ डलर प्रतिमेट्रिकटनमा किनिएको हो ।’

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढका कारणले दुई वटा ठेक्काको मूल्य फरक–फरक भएको कार्कीले बताए । ‘अघिल्लो लटको मल ल्याउनेक्रममा ठेक्का आह्वान गर्दा युरियाको मूल्य बढी थियो,’ कार्कीले भने, ‘दोस्रो लट ल्याउँदा घटेर ६९३ डलर प्रतिमेट्रिक टनमा आइपुग्यो ।’ यस्तै, नेपाली सप्लाएरको सट्टा विदेशी सप्लायरले ठेक्का पाउँदा समेत सहजै नेपालमा मल भित्रिएको कम्पनीको भनाइ छ ।

४० हजार मेट्रिक टन डीएपी आउँदै 
छोटो समयमै दुई लट गरेर ६० हजार मेट्रिक टन युरिया मल ल्याएको कम्पनीले यहीबीचमा ४० हजार मेट्रिक टन मल ल्याइरहेको छ । जोर्डनबाट दुई लट गरेर २०–२० हजार मेट्रिक टन डीएपी मल ल्याइरहेको हो । कम्पनीका अनुसार पहिलो लटको २० हजार मेट्रिक टनमध्येबाट वीरगन्ज र विराटनगरामा ५–५ हजार मेट्रिक टन मल नेपाल भित्रिसकेको छ । बाँकी १० हजार मेट्रिक टन भारतबाट नेपालतर्फ हिँडिसकेको कम्पनीले बताएको छ ।

यसै गरी, थप २० हजार मेट्रिक टन मल जोर्डनबाट सिपिङको तयारीमा रहेका कार्कीले बताए । उक्त मल यही महिनाको ५ तारिखमा कलकत्ता बन्दरगाहमा आइपुग्ने उनले बताए । यसरी, करिब १ महिनाको अवधिमा २ पटक गरेर कूल ४० हजार मेट्रिक टन डीएपी मल नेपाल भित्रन लागेको इतिहासकै पहिलोपटक भएको कम्पनीको दाबी छ ।

झन्झटिलो कानुनी प्रक्रिया सच्याउने तयारी

अहिले मल ल्याउनका लागि सरकारी नीति नियम नै बाधक देखिएको निष्कर्ष निकाल्दै कम्पनीले यो नीति सच्याउने तयारी गरिरहेको छ । कृषि सामाग्री कम्पनीले अहिले मल आयातका लागि टेन्डर खुलाउन ४५ दिनको सूचना निकाल्नुपर्छ । तर, भारत लगायत अन्य मुलुकमा जम्मा ८ दिनको सूचना निकालेको भरमा टेन्डर खुल्ने गरेको छ । सोही कारण, कम्पनीले लिखित रूपमै मन्त्रालयमा ४५ दिनको सूचना अवधि घटाएर ८ दिनसम्म झार्न अनुरोध गरेको छ । यसले मल आयातको प्रक्रिया छोटिएर ६ महिनाबाट २ महिनामा झर्ने कार्कीको दाबी छ ।

यस्तै, अहिले सिपिङदेखि डेलिभरी दिने समयावधि १२० दिन छ । यसको अर्थ टेन्डर हात पारेको १२० दिन भित्र सिपिङ सुरु गर्नुपर्छ । यो लामो अवधि भएको भन्दै कम्पनीले यसलाई समेत संशोधनको तयारी थालेको छ । कानुन संशोधन गरेर सिपमेन्टदेखि डेलिभरीको अवधि ३० दिनदेखि ३५ दिन राख्ने कार्कीले बताए । ‘डेलिभरीको म्याद लामो दिएर विभिन्न सप्लायरलाई खेल्ने मौका दिनु हुँदैन,’ उनले भने, ‘त्यो मौका दिने पक्षमा छैन । ३० दिनको समयावधिमा नआएमा थप ५ दिनको समय दिइन्छ ।’ यस अवधिमा पनि मल नआएमा पीजी जफत गर्ने गरी व्यवस्था गर्ने कार्कीले बताए ।

‘३० दिनमा सिपमेन्ट नभएको अवस्थामा कानुनी बाटोमा जाने प्रक्रिया नै रोक्नुपर्छ,’ उनले भने, ‘मल ल्याउँछु भनेर ल्याउन नसक्ने सप्लायरले बिड गर्ने र झुलाउने अवस्था हटाउनका लागि यस्तो गर्नुपर्छ ।’ यो व्यवस्था गरेमा टेन्डर आह्वान गरेको २ महिना भित्र मल आइपुग्ने र नेपालको हाहाकार हट्ने कम्पनीको विश्वास छ ।

थप कति आउँदै छ मल ?
सरकारले चालू आर्थिक वर्षमा रासायनिक मल आयातका लागि १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये कृषि सामाग्री कम्पनीका लागि ११ अर्ब २० करोड र साल्ट ट्रेडिङ कर्पोरेसनका लागि ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेटअनुसार कम्पनीले ६८ हजार मेट्रिक टन युरिया, ४२ हजार ५०० मेट्रिक टन डीएपी र ७ हजार ५०० मेट्रिक टन पोटास आयात गर्नुपर्ने छ ।

यस्तै, मल आयातका लागि ४ अर्ब ८० करोड रुपैयाँ बजेट पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले २६ हजार ५०० मेट्रिक टन युरिया, २० हजार मेट्रिक टन डीएपी र २ हजार ५०० मेट्रिक टन पोटास मल आयात गर्ने कोटा पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप