राष्ट्रियसभामा जनमोर्चाका सांसदको प्रश्न– नागरिकता विधेयक हाम्रोलागि पास गर्ने कि अरुका लागि ?
शुक्रबार, १७ भदौ २०७९, १५ : ५०
राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नागरिकता विधेयकलाई राष्ट्रिय सहमति कायम गरेरमात्र अघि बढाउन माग गरेका छन् । राष्ट्रियसभा बैठकमा विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको बैठकको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले अहिले नागरिकता विधेयक निकै लचिलो प्रकारले ल्याइएको टिप्पणी गरे ।
जसरी यो विधेयकलाई ‘फास्ट ट्रयाक’ बाट पारित गर्न प्रयास भइरहेको छ, त्यसले स्वाभाविक रुपमा आफ्नो मनमा प्रश्न उठेको भन्दै उनले प्रश्न गरे, ‘यो विधेयक हाम्रो लागि पास गर्ने कि अरुका लागि ?’
नागरिकताजस्तो विषयलाई चुनावी लाभहानीको विषय र ‘जुँगाको लडाइँ’को विषय बनाउन नहुने उनको भनाइ छ ।
‘यो विधेयक राष्ट्रिय सहमति कायम गरेरमात्र अघि बढाउनु पर्छ,’ उनले भने, ‘त्यो नभए म यो विधेयकको विपक्षमा रहेको मत जाहेर गर्न चाहन्छु ।’