शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : प्रमुख नेताहरु दोहोरिने दाउमा, माओवादीलाई गठबन्धनकै भर

शुक्रबार, १७ भदौ २०७९, ११ : ५७
शुक्रबार, १७ भदौ २०७९

अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धन सिट बाँडफाँटका लागि प्रयासरत छ भने आकांक्षी उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन् । मधेस प्रदेशमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा माहोल बनाउन क्रियाशील भइरहँदा केही नेता भने निर्वाचन क्षेत्र छनोटमै अलमलिएका छन् । मधेस प्रदेशका कतिपय प्रभावशाली नेताहरु भने २०७४ कै चुनाव क्षेत्रमा दोहोर्‍याएर उम्मेदवार बन्ने योजनामा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा प्रतिनिधिसभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाटै दोहोरिन चाहेका छन् । ०७४ मा भएको निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई पराजित गरेका थिए । यस पटक सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि रौतहट क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने चर्चा छ । उनी २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी यो क्षेत्रबाट उम्मेदवार बनेनन् । सो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

२०७४ सालको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाट २१ हजार ८५ मत प्राप्त गरी अनिल झा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत ल्याएका थिए ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । भण्डारीले महोत्तरीको क्षेत्र नम्बर २ र ठाकुर महोत्तरीको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवार किरण यादवले १३ हजार ९७४ मत ल्याउँदा भण्डारी ३० हजार ७२२ मत ल्याएर निर्वाचित भएका थिए ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले समेत महन्थ ठाकुर निर्वाचित भएको क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट महन्थ ठाकुर २७ हजार ५ मतका साथ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा राजेन्द्र महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । महतोले ३० हजार ७४२ मत पाउँदा निधिले २७ हजार ८२८ मत ल्याएका थिए । यस पटक पनि महतो र निधिबीच नै टक्कर हुने आकलन गरिएको छ ।

धनुषा क्षेत्र नम्बर ३ बाट यस पटक एमाले नेतृ जुलीकुमारी महतोले समेत उम्मेवारीको घोषणा गरिसकेकी छन् । त्यस्तै लोसपा नेता उमाशंकर अरगरिया पुनः धनुषाको क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने तयारीमा छन् । ०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अरगरिया ३२ हजार ४४ मत ल्याएर जित्दा वाम गठबन्धनका उम्मेदवार नेता रामचन्द्र झा १८ हजार ७१५ मतमा सीमित भएका थिए । तर यस पटक भने अगरगरिया अलमलमा परेका छन् । उनले उम्मेदवारीका सम्बन्धमा घोषणा गर्न बाँकी नै छ ।

लोसपा नेपालका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल ०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । तर यस पटक उनले अहिलेसम्म पनि कहाँबाट उम्मेदवारी दिने भन्ने निर्धारण गरिसकेका छैनन् ।

०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का सबैजसो शीर्ष नेता निर्वाचित भएका थिए । त्यतिबेला राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका नेतामध्ये राजकिशोर यादव हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा र महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा) मा छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई अहिलेसम्म बारा, सिरहा र महोत्तरीबाट पार्टीको जिल्ला समितिले सिफारिस गरेको छ । तर उनी कहाँबाट उम्मेदवार बन्ने भन्ने अझै प्रस्ट भइसकेको छैन ।

गठबन्धनको भरोसामा रहेका नेकपा माओवादी केन्द्रले अझैसम्म पनि मधेस प्रदेशमा निर्वाचन अभियान थालनी गर्न सकेको छैन । गठबन्धनभित्रै रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीलगायतका दलहरु निर्वाचनको आन्तरिक तयारीमा रहे पनि माओवादी भने गठबन्धनकै भरमा देखिन्छ ।

माओवादी केन्द्रले मधेस प्रदेशमा प्रदेश अधिवेशन गरेको वर्ष दिन बित्दा पनि प्रादेशिक समिति टुंगो लगाउन सकेको छैन । जसले गर्दा यस पटकको निर्वाचनमा मधेस प्रदेशमा कसरी अगाडि बढ्ने र कस्तो रणनीति बनाउने भन्नेबारे सो पार्टीका कार्यकर्ता अन्योलमा छन् ।

माओवादी केन्द्रका नेता श्रवण यादवले माओवादीको मधेस प्रदेश कमिटी अझैसम्म चयन नभएका कारण पनि एक प्रकारको अन्योल देखिएको बताए । उनले मधेस प्रदेशमा माओवादी कसरी अघि बढ्छ भन्ने कुरा पनि केन्द्रकै शीर्ष नेतृत्वले टुंग्याउने बताउँछन् । माओवादीभित्र मधेस प्रदेशमा चर्को गुटबन्दी छ ।

यता गठबन्धनभित्रका असन्तुष्ट समूहको खोजीमा नेकपा एमाले लागिपरेको छ । पाँच दलीय गठबन्धनभित्रका असन्तुष्ट दल वा समूहलाई हरसम्भव पार्टी प्रवेश गराउने योजनामा एमाले देखिन्छ । अहिले मधेस प्रदेशमा एमालेले पार्टी प्रवेशलाई प्राथमिकता दिएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी लगायत साना दल भने आ–आफ्नै किसिमले क्रियाशील देखिन्छन् । पाँच दलीय गठबन्धनबीच राम्रो तालमेल भएको अवस्थामा भने मधेस प्रदेशमा गठबन्धनबाहिरका दललाई निकै चुनौती पुग्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप