बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुको निक्षेप तान्ने आकर्षक अफरप्रति राष्ट्र बैंक बेखबर !

निक्षेपकर्ता नै सचेत हुनुपर्ने
शुक्रबार, १७ भदौ २०७९, ११ : ३२
शुक्रबार, १७ भदौ २०७९

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तान्ने गुणात्मक प्रतिफलतको अफरप्रति नियामक राष्ट्र बैंक बेखबर देखिएको छ । प्रतिस्पर्धामा बैंकहरुले एकपछि अर्को गर्दै लामो अवधिको मुद्दती निक्षेपमा १० गुणासम्मको प्रतिफलत सार्वजनिक गरिरहँदा नियामक निकाय राष्ट्र बैंक मौन देखिएको हो । 

बैंकहरुको न्यूनतम ६ वर्षेदेखि २५ वर्षेसम्मको गुणात्मक प्रतिफल योजना सार्वजनिक गरिरहेका छन् । तर, राष्ट्र बैंक भने यस्तो योजना बारे आफूलाई कुनै जानकारी नभएको औपचारिक प्रतिक्रिया दिइरहेको छ । बरु मुद्दती बचत योजना अन्तर्गत बैंकहरुले गुणात्मक प्रतिफलतको स्कीम बाँडिरहेको हो भने सो बैधानिक नै रहने केन्द्रीय बैंकको धारणा छ । 

‘बैंक तथा वित्तीय संस्था ऐन, २०७३ ले के भन्छ ? बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालिन निक्षेप लिन पाउने कि नपाउने ? यदि पाउँछ भने ठीकै हो, पाउँदैन भने फरक कुरा हो, यो नियमसम्मत नै हो, दीर्घकालिन मुद्दती निक्षेपलाई रोक्ने भन्ने हुँदैन,’  राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले रातोपाटीसँग भने ।

तर, यस्तो दीर्घकालिन निक्षेपमा समस्या आउन सक्ने खतरालाई भने नकार्न नसकिने प्रवक्ता भट्ट स्वीकार गर्छन् । ‘लामो अवधिको निक्षेपमा समस्या नआउला भन्न सकिन्न, लामो समयसम्म बैंकमा तरलता होल्ड हुनेहुँदा जुनकुनै बेला निक्षेपकर्तामा अप्ठेरो पर्नसक्छ, यसमा स्वयं लगानीकर्ता (डिपोजिटर) नै सजग र सचेत हुने हो’ भट्टले भने । 

यस्तो लामो अबधिको डिपोजिटले निक्षेपकर्तालाई मात्र नभएर स्वंय बैंक तथा वित्तीय संस्थालाई समेत समस्या पर्ने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् । 

‘बैंकहरुले लामो अवधिको निक्षेप लिइरहँदा त्यसको दीर्घकालिन प्रभावको समेत ख्याल गर्नुपर्ने हुन्छ, अहिले तरलताको अभावलाई टार्न महँगो व्याजमा निक्षेप लिने तर भोलि व्याजदर सस्तिदा सोही लागत तिर्न बैंकहरुलाई गाह्रो पर्न सक्छ, यस्तो स्कीममा निक्षेपकर्ता र बैंक दुबैले सोच्नुपर्छ,’ कार्यकारी निर्देशक ढकालले भने । बैंक तथा वित्तीय संस्थाहरुले प्रतिस्पर्धामा धमाधम आफुखुशी गुणात्मक प्रतिफलत घोषणा गरिरहेका छन् । 

कुन कुन बैंकले गरे घोषणा ?
झण्डै एक दर्जन वाणिज्य बैंकहरुले गुणात्मक प्रतिफल निक्षेप योजनामा न्यूनतम दुई गुणादेखि अधिकतम १० गुणासम्म निक्षेप बराबरको प्रतिफलन प्रदान गर्ने स्कीम ल्याएका छन् । निक्षेपको १० गुणासम्म प्रतिफल सार्वजनिक गर्ने बैंकहरुमा एनआईसी एसिया, नबिल बैंक, कुमारी बैंक र एनसीसी बैंक रहेका छन् । यी बैंकहरुले क्रमशः २० वर्ष, २०.११ वर्ष, २१.६ वर्ष र २४.११ वर्षको अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म प्रतिफल दिने घोषणा गरेका छन् । अर्थात् एनआईसी एसिया बैंकमा अहिले १० लाख रुपैयाँ निक्षेप राख्यो भने २० वर्षपछि १ करोड रुपैयाँ फिर्ता पाइन्छ । अरु बैंकको योजना पनि यस्तै हो ।

ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबी बैंकलगायतले ६.३ वर्षदेखि १३ वर्षसम्मको मुद्दती निक्षेपमा दुई गुणादेखि ४ गुणासम्म प्रतिफल दिने बताएका छन् । यसको अतिरिक्त बैंकहरुले निक्षेपकर्ताहरुलाई विभिन्न सेवा सुविधा समेत प्रदान गर्ने जनाएका छन् । 

कसरी घोषणा गर्न सकिन्छ २५ वर्षे योजना ? 
बैंकहरुले धमाधम २५ वर्षसम्मको लामो अवधिको मुद्दती निक्षेप योजना सार्वजनिक गरिरहँदा यता बजारमा भने बैंकहरुमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । ‘आफै भर्खर भर्खर किशोर अवस्था अर्थात् स्थापनाकालको १९ वर्ष पार गरिरहेका बैंकहरुले कसरी २० देखि २५ वर्षे लामो योजना ल्याउन सक्छन् ? त्यसको आधार के ?’ प्रश्न उठेका छन् । 

‘बैंकहरु भनेकै पैसाको कारोबारका लागि स्थापना भएका संस्थाहरु हुन्, पैसाका लागि लगानी गरेर सो रकम पुनः पैसाका लागि लगानी गर्ने भएकाले यसमा लगानी र प्रतिफल जोडिन्छ, यसरी नै हामी लगानीकर्ताहरुलाई प्रतिफल दिन्छौं, निश्चित समयपछि लगानीको एकमुस्ट ब्याजसहित हिसाब गरेर एकैपट भुक्तानी गर्नेगरी तयार पारिएको प्याकेज नै गुणात्मक प्रतिफल योजना हो, जुन दीर्घ प्रभाव तथा गुण दोषलाई मनन् गरेर ल्याइएको छ, समस्या छैन,’ एक बैंकर्सले भने ।

२० वर्षे बैंकको २१ वर्षे योजना !

बैंकहरु संचालनमा आएको मिति र उनीहरुले ल्याएको दीर्घकालिन योजना हेर्ने हो भने आफैमा अनौंठो तथ्य भेटिन्छ । जस्तो कि कुमारी बैंक स्थापनाको २० वर्ष पूरा गरेर २१औं वर्षमा छ । कुमारी बैंकले नै २१.६ वर्ष लामो अबधिको १० गुणा प्रतिफलको स्कीम सार्वजनिक गरेको छ । आफ्नै उमेरभन्दा बढी थप अबधिको दीर्घकालिन योजना त्यो पनि ग्यारेन्टीका साथ कसरी घोषणा गर्न सक्छ ? प्रश्न उठेको छ ।

एनआईसी एसिया बैंक पनि सन् २०१३ मा तत्कालिन एनआईसी र बैंक अफ एसियाबीच मर्जर भएर एनआईसी एसिया बैंक भएको हो । यसरी हेर्दा मर्जरपछिको एनआईसी एसिया बैंक ९ वर्षमा रनिङ छ । यद्यपि, एनआईसीको स्थापनाकालदेखिको समय हेर्ने हो भने २४ वर्ष पुरा भएको छ । तर, बैंकले थप २० वर्षे योजना सार्वजनिक गरेको छ ।

यस्तै, २६ वर्ष पुरानो एनसीसी बैंकले थप २५ वर्षे योजना सार्वजनिक गरेको छ भने अधिकतम ३८ वर्षे बैंक नबिलले २१ वर्षे योजना सार्वजनिक गरेको छ । सो अवधिमा बैंकले निक्षेपको १० गुणासम्म प्रतिफल दिने घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप