बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानमा विध्वंशकारी बाढीका बीच नदीमा बनाइएको हनिमुन होटलको चर्चा

शुक्रबार, १७ भदौ २०७९, १० : १२
शुक्रबार, १७ भदौ २०७९

‘बाढी त आइरहेकै थियो तर पानीसँगै एउटा ठूलो ढुङ्गा आयो जसले होटेलको जग हल्लियो । त्यसपछि भवन माथिबाट भत्कियो तर अझै पनि होटलको भवन धेरै हदसम्म बाँकी छ होला भन्ने आशा छ ।’ यो भनाई हो कालामस्थित न्यु हनिमुन होटलका मालिम हुमायुँ शिनवारीको जसको होटल भत्किएको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

यो होटल नदी भित्र निर्माण गरिएको थियो । यस होटलमा क्षति पुगेको यो पहिलो पटक भने होइन । सन् २०१० को बाढीमा पनि यस होटलको भवन नराम्ररी क्षतिग्रस्त भएको थियो ।

आखिर नदी भित्र वा नदीको किनारामा नै होटल किन ?

स्वातको माथिल्लो इलाका कलाम, बहराइन र मदिनमा, जहाँ अग्ला हरिया पहाडहरू छन्, त्यहाँ एक नदी पनि छ । यसको किनारमा बसेर मानिसले पानीको ठूला  छालहरूको आनन्द लिन्छन् । त्यसैले यी इलाकामा तपाईं जहाँसुकै जानुहोस्, होटल र मनोरञ्जन स्थलबाहेक पसल पनि नदी किनारामा नै बनेको देखिन्छन् ।

न्यु हनिमुन होटलका मालिक हुमायुँ शिनवारीले बीबीसीसँगको कुराकानीमा घुम्न आउने पर्यटकहरूले नदी भित्र वा कम्तीमा नदीको छेउमा भएका होटलहरू मन पराउने बताए । हुमायुँ शिनवारीले सन् १९९२ मा यो होटल बनाएका थिए । उनले भने, ‘त्यतिबेला यहाँ होटल बनाउन निषेध छ भनेर कसैले भनेनन्, त्यसबेला हामीलाई मलाकन्द मण्डल विकास प्राधिकरणले अनुमति दिएको थियो, यो त्यो समय थियो जब कलाममा केही थिएन, पर्यटन निकै कम थियो र मैले यहाँ लगानी गरेको थिएँ ।’

जब उनलाई वातावरणविरुद्ध हुने भएकोले र पानीको बहावमा बाधा पुर्याउने भएकोले नदी भित्र होटल बनाउन हुँदैन होला नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यसका लागि मैले सबै कदम उठाएको थिएँ । यो स्थानमा नदीको निकै ठूलो क्षेत्र छ र यो क्षेत्रमा कहिले पनि यति भयंकर बाढी आएको मैले न त सुनेको नै थिएँ न देखेको नै ।’

कति क्षति, कति विनाश ?

मूलतः स्वातको कलाम, बहराइन र मदिन जस्ता माथिल्लो इलाका सबै बाढीले बगाएको छ ।

बाढीपछि आधिकारिक रुपमा दुई दिन अघि मात्रै आँकडा जारी गरिएको छ जसअनुसार स्वात जिल्लामा मात्रै १५ जना मारिएका छन् र १५ जना घाइते भएका छन् जबकी ८४ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् र १२८ घरमा आंशिक क्षती पुगेको छ ।

यसमा होटलबारे कुरा गरिएको छैन तर यदि बहराइनको कुरा गर्ने हो भने यो एउटा सानो इलाका हो र यहाँका नदीको किनारामा बनेका लगभग सबै होटल, पसल र घरमा या त क्षती पुगेको छ वा यिनीहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

सडकबाट कलाम पुग्न सकिँदैन, तर बहराइनभन्दा कलाममा बढी क्षति भएको खबर त्यहाँबाट आइरहेको छ । स्वातमा १३ बिजुलीका पोल र ४६ वटा पुलमा क्षति पुगेको छ । अनौपचारिक तथ्याङ्क अनुसार यो भन्दा धेरै क्षति भएको छ ।

स्वातमा ठूलो क्षति हुने अनुमान

स्वातका विभिन्न इलाकामा नदीमा पानीको बहाव सामान्य बन्दै गएको छ र सडक खोल्ने क्रम जारी छ । यससँगै विनाश र क्षतिको विवरण आउन थालेको छ ।

खोला किनारमा बनेका करिब ४० होटल पनि प्रभावित भएका छन्, जसमध्ये केही पूर्णरुपमा ध्वस्त भएका छन्, जसको निशानसमेत मेटिएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ ।

बहराइन र स्वात बीच करिब ४० किलोमिटरको दुरी छ, यो एक पर्यटकीय गन्तव्य हो र यहाँ नदीको तीव्र बहाव र सुन्दर दृश्यको आनन्द लिन मानिसहरु आउने गर्दछन् ।

बहराइनमा नदीको किनारमा रहेका केही होटल र पसलहरूको केही अंश पनि बाँकी छैन । यहाँ ढुङ्गा र बालुवा मात्रै छन् । बहराइनको बाहिरी इलाका पख्तुनाबाद र लेक कोलोनीमा धेरै घरहरु भत्किएका छन् ।

प्रतिक्रिया

यहाँका स्थानीयवासीले सन् २००२ अघि यस सम्बन्धमा कुनै कानुन नभएको र भए पनि कार्यान्वयन हुन नसकेको बताउँछन् ।

स्थानीय पत्रकार र दैनिक शुमाल स्वातका सम्पादक गुलाम फारुकले बीबीसीसँगको कुराकानीमा भने,  ‘नदीको किनारमा बनेका भवनहरूको अनुसन्धान गर्ने हो भने माथिल्लो लिन्डकाईदेखि कालामसम्म र नदीको छेउमा स्वातनजिकै धेरै अवैध निर्माण भएका छन् तर यसबारे कसैले सोध्ने वाला छैन ।’

राजस्व अभिलेख सन् १९५० को भएको र त्यसमा कति परिमार्जन गरियो र कतिलाई मौलिक अवस्थामा राखिएको हो थाहा नभएको उनले बताए ।

आफ्ना भवनहरू खोलाबाट टाढा भएको तर यसपटक बाढीको सतह बढी भएकाले ठूलो क्षति पुगेको होटल व्यवसायी बताउँछन् ।

बहराइनको एक होटलका मालिक वकार अहमदले भने, ‘मलाई मानिसहरुले ‘नदीभित्र किन होटल बनाएको ?’ भनेर सोधिरहेका छन् तर मेरो होटल नदीबाट टाढा थियो ।’

होटल र खोलाको बीचमा पार्किङ एरिया थियो र रेष्टुरेन्ट पनि थियो तर होटलको तेस्रो तल्लासम्म पानी आइपुगेको थियो ।

नदीले आफ्नो बाटोमा आउने अवरोध आफै हटाउँछ भन्ने स्थानीयको भनाइ छ । यो पहिले पनि देखेको छ । जहाँ अतिक्रमण भयो, त्यो बाढीले भत्काइदिएको थियो ।

न्यु हनिमुन होटल - विनाश पछि पनि निर्माण

न्यू हनिमुन होटल पहिलो पटक क्षतिग्रस्त भएको होइन, तर २०१० को बाढीमा पनि नराम्ररी प्रभावित भएको थियो ।

होटल सञ्चालक हुमायुँ शिनवारीले सन् २०१० मा आफ्नो होटेल ध्वस्त भएपनि अब यस्तो बाढी नआउने सोचेको बताए ।

उनले पुनःनिर्माणपछि होटलको सुरक्षाका लागि सुरक्षा पर्खाल पनि बनाएको तर दुई वर्षअघि अतिक्रमणका कारण प्रशासनले हटाएको बताए । सुरक्षाका लागि बनाइएको पर्खाल भएको भए सायद आज त्यति धेरै क्षति हुने थिएन ।

उनी खासै चिन्तित थिएनन्, यसलाई अल्लाहको मर्जी मान्छन् । उनले यो होटलमा ७० देखि ८० करोड रुपैयाँ लगानी गरेको र स्थानीय तहले चार तारे दर्जा दिएको बताए । न्यु हनिमुन होटल यस क्षेत्रमा ठूलो होटल थियो जहाँ विदेशी पर्यटकहरू पनि बस्थे ।

होटलमा जम्मा १३८ कोठा रहेको हुमायुँ शिनवारीले आफ्नो होटलमा १२० जना कर्मचारी रहेको बताए ।

उनले आफ्नो अनुमान अनुसार होटल ५० देखि ६० प्रतिशत ठिक भएको र यसमा खासै क्षती नपुगेको बताए ।

भिडियोमा त यसको जग नै हल्लिएको होला जस्तो देखिएको थियो त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘एउटा ठूलो ढुङ्गा ठोक्किएको थियो, जसका कारण क्षती भयो । यसको मर्मत हुनेछ । पानीले होटलमा जति क्षती पुर्याएको छ छ आशा छ त्यो खासै धेरै नहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप