सरकारी अस्पतालका चिकित्सकले गरे दर्ता बिनाको अस्पतालमा बिरामी रिफर

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।
पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पतालमा रिफर गरेको बताइएको छ ।
प्रादेशिक अस्पतालमा एनआइसियू खाली नरहेको भन्दै शिशुलाई डा. मण्डलकै सल्लाह अनुसार नैना अस्पतालमा भर्ना गरिएको रविन्द्रको भनाइ छ । पीडित रविन्द्रले भने, ‘डाक्टरले शिशुलाई डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्न हामीलाई भन्नुभए अनुसार नै सोही दिन हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एकाएक आएर शिशुको मृत्यु भयो भन्दै हामीलाई बच्चाको शव लैजान भने ।’
डा. अभय मण्डलले प्र्र्रादेशिक अस्पतालमा ठाउँको अभाव भएपछि रिफर गरिएको बताए । शिशुको अवस्था निकै गम्भीर भएका कारण बचाउन नसकेको उनको भनाइ छ । शिशुको हर्टबिट कम रहेको र अति नै जटिल अवस्थामा रहेको भन्दै उनले चिकित्सकको कुनै प्रकारको लापरवाही नरहेको दाबी गरे ।
दर्ताबिना नै सञ्चालित छ नैना हस्पिटल
२५ शय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र २५ शय्यादेखि माथिका अस्पताल सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ ।
तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकमा रहेको नेपाल अपाङ्ग संघको भवनमा सञ्चालित नैना हस्पिटल भने अहिलेसम्म दर्ता नै भएको छैन । उक्त अस्पताल प्रादेशिक अस्पतालमा कार्यरत डा.बृजमोहन रजकले सञ्चालन गरेका हुन् । सो अस्पताल ५० शय्याको छ । १६ महिनादेखि सञ्चालित सो अस्पताल अहिलेसम्म दर्ता भएको छैन ।
सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका विपरीत करिब डेढ वर्ष देखि सञ्चालनमा रहे पनि यसप्रति सरोकारवाल मौन रहेको पाइएको छ ।
मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले नैना अस्पतालबारे कुनै पनि प्रकारको कागजात निर्देशनालयमा नरहेको बताए ।
यता नैना हस्पिटलका सञ्चालक डा. बृजमोहन रजकले अस्पताल दर्ता प्रक्रियामा रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा