शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप : ‘दोस्रो हाफमा सम्हालिन नसक्दा उपाधि नै गुम्यो’

शुक्रबार, १७ भदौ २०७९, ०७ : ०३
शुक्रबार, १७ भदौ २०७९

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१९ मा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित भयो । विराटनगरमा सम्पन्न खेलमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल बलियो दावेदारको रुपमा थियो । 

पाँचौं संस्करणको प्रतियोगिता अघि तीन पटक उपाधि जित्नबाट चुकेको नेपालले पाँचौं संस्करणमा पनि उपाधि हात पार्न सकेन । अघिल्ला तीन संस्करणमा भारतसँग उपाधिमा चुकेको नेपालले घरेलु मैदानमा उपाधि हात पार्ने योजना बनाएको थियो । 

भारतमा भएको हिरो वुमन्स गोल्डकपमा भारतलाई उसकै घरेलु मैदानमा हराएको नेपालले घरेलु मैदानमा हुन लागेको साफमा बलियो मनोबल बनाएको थियो । गोल्डकपको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको थियो । नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । 

नेपालले उक्त प्रतियोगितामा इरान र भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । तर, फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भयो । साफ अघि भएको गोल्डकपमा भारतलाई पराजित गरेको नेपाललाई प्रतियोगितामा उत्साह थपिएको थियो ।

भारतलाई उसकै घरमा हराउँदा नेपालले आफ्नो घरेलु मैदानमा भने भारतलाई चुनौती दिन सकेन । फलस्वरुप नेपालले पहिलो साफ च्याम्पियनसिपको उपाधिबाट विमुख हुनु पर्यो । उक्त समयका नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालका लागि मुख्य दावेदारको रुपमा भारत भएको तर भारतलाई उसकै घरमा हराउँदा खेलाडीहरुको त्यो समयमा हौसला बढेको बताए । 

त्यही हौसलालाई नेपालले प्रतियोगिता भर कायम गरेको तर फाइनलको दोस्रो हाफमा नेपाल कमजोर हुनु परेको तीतो अनुभव खड्का अहिले पनि सम्झिन्छन् । ‘हामी बलियो नै थियौं । प्रतियोगिताको उपाधि दावेदार टोलीमा हामी पहिलो थियौं । हिरो वुमन्स गोल्डकपमा भारतलाई हराउँदा आत्मबल उच्च थियो । त्यसै आत्मबलका साथ हामीले खेल्यौ तर, फाइनल खेलको दोस्रो हाफमा हामी चुक्यौं,’ उनले रातोपाटीसँग भने ।

फाइनल खेलको पहिलो हाफमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा नेपालले थप दुई गोल खायो । विराटनगरस्थित सहिद रंगशालामा आफूले उपाधि जित्ने तर्खरका साथ घरेलु दर्शकसँगै मैदान छिरेको टोली निराश भएर फर्कन पर्यो । 

आफूले टिमलाई उपाधि दिलाउन भरपूर कोसिस गरेपनि असफल भएको कुरामा खड्कालाई दुःख छ । यसरी घरेलु दर्शक सामू नेपाललाई उपाधि दिलाउने उनको सपना पनि खरानी भएको थियो । 
‘एउटा प्रशिक्षकले जहिले पनि टिमलाई सकारात्मक नतिजाका लागि तयार पारेको हुन्छ । घरेलु मैदानमा पहिलो साफ, मेरो लागि पनि खेलाडीको लागि पनि महत्वपूर्ण थियो । तर, हामी चुक्यौं, भाग्यले साथ दिएन,’ खड्काले भने । 

नेपालले साफको समूह चरणमा जस्तोसुकै प्रदर्शन गरेपनि हालसम्मको बाधा भनेको भारत नै रहेको खड्काको भनाइ छ । वर्षौदेखि नेपाली टोली भारतसँग चुक्नु परेको कुरालाई स्मरण गर्दै उनले भारतसँग खेल्दा नेपालको खेल जहिले पनि कमजोर हुने उनको भनाइ छ । 

साफको समूह चरणको दुई खेलमा नेपालले दुबै खेलमा जित निकालेको थियो । पहिलो खेलमा भुटानलाई हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा पनि नेपालले श्रीलंकालाई हराएको थियो । 

‘समूह चरणको खेलमा हामी जहिले बलियो हौं । हाम्रो लागि दक्षिण एसियाली टोलीमा भारतबाहेक सबै बराबर नै छन् । हरेक प्रतियोगितामा भारत मात्र हो तगारो । त्यसलाई हामीले परिवर्तन गर्न जरुरी छ,’ खड्काले भने ।

खड्काले नेपाली टोलीले धेरै म्याच एक्स्पोजर पाएमा भने अझै राम्रो गर्न सक्ने अवस्था भएको बताए । भारत रामो समय प्रशिक्षणमा हुने र ठूला देशहरुसँग प्रतियोगिता खेल्ने भएकाले पनि उनीहरुको खेल राम्रो रहेकोे उनको भनाइ छ । तर, नेपाली टोलीले भने प्रतियोगिता अघि मात्र गरेको प्रशिक्षण र वर्षका एक–दुई अन्तर्राष्ट्रिय प्रतियोगिताले मात्र अहिलेको अवस्थामा बलियो बन्न नसकिने उनको ठम्याइ छ । 

‘भारत, बंगालदेश जस्ता देश राम्रो तयारी गर्छन । वर्षमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता र बलियो टोलीसँग खेल्छन् । हाम्रो त्यस्तो छैन । प्रतियोगिता अघि मात्र गरेको तयारीले शीर्ष तहमा पुग्ने अवस्था छैन,’ खड्काले भने । 
‘अब भारत मात्र होइन, हाम्रो चुनौती’

प्रशिक्षक खड्काले अब नेपाली टोलीका लागि भारत मात्र मुख्य चुनौतीको रुपमा नरहेको बताए । पछिल्लो समय बंगलादेश, पाकिस्तान, भुटान लगायतका टोलीहरुले राम्रो मेहनत गरेको हुनाले उनीहरु पनि नेपालका लागि चुनौतीको रुपमा रहेको उनको बुझाइ छ । 

बंगलादेशले महिला टोलीमा पछिल्लो समय धेरै लगानी गरेको, उनीहरुको म्याच एक्स्पोज पनि राम्रो भएकाले भारतसँगै बंगलादेश पनि चुनौतीको रुपमा रहेको खड्काको भनाइ छ । 

‘प्रशिक्षकहरुले फरक–फरक तरिकाले टिमलाई तयार पारेका हुन्छन् । नेपालका प्रशिक्षक कुमार थापाले पनि भारत र बंगलादेशको खेल अध्ययन गरिरहनु भएको होला । अझ नेपाललाई घरेलु मैदानले झनै साथ दिएको छ,’ खड्काले भने ।

साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म आयोजना हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्दैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप