शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

इच्छाराज तामाङले साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति शुद्धीकरणको निष्कर्ष

बिहीबार, १६ भदौ २०७९, ०९ : ००
बिहीबार, १६ भदौ २०७९

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको छ । विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए । तामाङले साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेको र सो रकम सिभिल सहकारी संस्थाबाट ठगी गरेर आर्जन गरेको पाइएको उनले बताए ।

‘तामाङले सहकारी ठगी गरी गैरकानुनी आर्जन गरेको भेटियो, हामीले लामो अनुसन्धानपछि आज मुद्दा दायर गर्दैछौं,’ महानिर्देशक भट्टराईले रातोपाटीसँग भने । तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत वर्षको असोज १८ गते उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । तामाङसहित १२ जना विरुद्ध परेको उजुरीमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ । 

सीआईबीले असोज १९ गते एक विज्ञप्ति जारी गर्दै तामाङसहित सहकारी संस्थाको तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने गरी १२ जनालाई पक्राउ गरेको थियो । यस्तै, पछि तामाङ श्रीमती पनि पक्राउ परेकी थिइन् ।

तामाङले सहकारीमा जम्मा भएको रकम आफ्नो २२ भन्दा बढी डमी कम्पनी खडा गरी लगानी गर्ने र त्यस्तो लगानीबाट आफूले मात्रै लाभ लिने गरेको सीआईबीले गरेको अनुसन्धानले देखाएको छ । यस्ता कम्पनीहरुबाट तामाङले गैरकानुनी रूपमा तलब तथा भत्ता समेत लिने गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

सहकारीमा सदस्यहरुले बचत गरेको ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा  पूर्वअध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागि थुनामा छन् । आफूहरुको रकम हिनामिना गरको भन्दै सहकारीका रकम बचत राखेका १५३० जनाले सीआईबीमा उजुरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप