आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा घटेन कोरोना सङ्क्रमण, एकै दिन एक सय १२ जनाको मृत्यु

बिहीबार, १६ भदौ २०७९, १२ : २०
बिहीबार, १६ भदौ २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटे पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा मृत्यु र सङ्क्रमण बढेको बताएको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । 

दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको थियो । 

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । बुधबार एकै दिन एक सय १२ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार आठ सय ७६ पुगेको छ । बुधबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८१ हजार पाँच सय ७३  जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ । 

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार  छ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८२ हजार छ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको सङ्ख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ ।  गत साता संसारभर ४५ लाख नयाँ सङ्क्रमित थपिएका जनाउँदै उक्त विश्व संस्थाले  विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ । सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३ हजार पाँच सय जनाको कोभिडबाट मृत्यु भएको थियो । 

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलाद्र्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन् । उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकामा चिन्ता पनि व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप