मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा चर्किँदो द्वन्द्व

बिहीबार, १६ भदौ २०७९, १२ : ००
बिहीबार, १६ भदौ २०७९

आजको विश्व मानव समाज विगतमा जस्तो टाढा, ढिलो र बेखबर छैन । विद्युतीय सञ्चार माध्यममार्फत पलभरमै सबैखाले सूचना लिन–दिन सकिन्छ । यसका लागि सबैभन्दा छिटो र सजिलो माध्यम भनेको सामाजिक सञ्जाल नै हो । यो २१औँ शदीको मानव समुदायको सिङ्गो सामाजिकी बन्न पुगेको छ । कतिसम्म भने अब सामाजिक सञ्जालबिनाको कुनै व्यक्ति, वस्तु, संस्था, सत्ता र क्रियाकलाप कल्पना नै गर्न सकिन्न । यो मानव समुदायको अभिन्न अर्थराजनीतिक जीवन पद्धति बनिसकेको छ । यसलाई कुनै पनि कारण वा बाहनामा अलग राख्न खोज्नु मूर्खता मात्र हुन्छ । कसैले त्यस्तो सोच राख्छ भने त्यो सरासर बनिबनाउ हावादारी कल्पना मात्र हुनेछ ।

वस्तुतः सूचना–सञ्चार प्रविधि सबैको पहुँचमा पुग्नु सुखद गर्वको विषय हो । यसको अधिकतम वैज्ञानिक, वस्तुवादी र व्यावहारिक उपयोगबिना कुनै पनि समाज अघि बढ्नसक्दैन । यो हामी सबैको वास्तविकता हो । यद्यपि यसो भनिरहँदा यसको उपयोग गर्ने कि दुरुपयोग भन्ने कुराले धेरै विषय निर्धारण गर्दछ । सञ्जालको उचित उपयोगले उत्पादनशील, सिर्जनशील र समाजोपयोगी काम गर्दछ भने दुरुपयोगले अनावश्यक दुस्मनी, दुराशय, दुराग्रह र अनुत्पादक आडम्बरी संस्कार मात्र सिकाउँछ । आज संसारैभरि सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ । यो सर्वाधिक खुसीको कुरा हो । यद्यपि उत्पादनशील उपयोग र दुरुपयोगमा मात्र यसको सिर्जनशील औचित्य छ छैन भन्ने प्रष्ट हुन्छ ।

 नेपालमा पनि सञ्जाल प्रयोगकर्ता नाटकीय रूपमा बढेको छ । यो कुनै खास अनुसन्धान गरेर निकालिएको आँकडा भने होइन । यो उपयोगभन्दा बढी दुरुपयोग भइरहेको प्रतीत हुन्छ । ध्यान केन्द्रित र समयावधिका आधारमा यसमा विभिन्न किसिमका प्रयोगकर्ताहरू छन् । तिनीहरूमध्ये पहिलोमा पूर्णकालीन, दोस्रोमा अद्र्धपूर्णकालीन, तेस्रोमा अल्पकालीन र चौथोमा शून्यकालीनहरू रहेका छन् । यद्यपि शून्यकालीनहरू नगण्य सङ्ख्यामा छन् । पूर्णकालीनहरूले सामाजिक सञ्जाललाई लतकै रूपमा प्रयोग गर्छन् । उनीहरूले उत्पादनशीलभन्दा अनुत्पादक ढङ्गले यसको दुरुपयोग गरिरहेको देखिन्छ । सञ्जालको लतमा खाना र सुत्न पनि भुल्ने गर्दछ । यता अर्धपूर्णकालीनहरू पनि हाम्रो समाज समाजवादउन्मुख भनेजस्तै लतोन्मुख हुन्छन् । उनीहरू पनि खाना र सुत्न त्यति मन गर्दैनन् । अल्पकालिकवालाहरू औसत प्रयोगकर्ताभित्र पर्दछ । उनीहरू अति उग्र र अति व्यग्र र अति मन्द हुँदैनन् । उनीहरू भने केही कामसहित खाना र सुत्नमा पनि सचेत हुँदै सञ्जाल प्रयोग गर्दछ । यसलाई सापेक्षित सही र व्यावहारिक मान्न सकिन्छ । शून्यकालीनहरू असाध्यै न्यून छन् । यसको हाम्रो सामाजिकीमा त्यस्तो धेरै स्वार्थ  अवसर केही देखिँदैन । यसका नकरात्मक सकरात्मक प्रभावहरू पनि नगण्य नै छ । उनीहरूलाई अरूभन्दा निःस्वार्थी र सन्तोकी भनेर संज्ञा दिन सकिन्छ ।

यसरी सामाजिक सञ्जालको प्रयोग गर्नु सही कि गलत भन्ने कुरा योजना, उद्देश्य र परिणाममा निर्भर हुनेगर्दछ । सही प्रयोजनमा चलाउँदा उपलब्धिपूर्ण हुन्छ भने गलत प्रयोजनमा चलाउँदा नोक्सान हुन्छ । पछिल्लो समय हाम्रो समाजमा उत्पादनशीलभन्दा अनुत्पादनशील प्रयोजनमा यसको अध्यावधिक प्रयोग भइरहेको पाइन्छ । यसले लाखौँ उत्पादनशील जनशक्ति वा श्रम खेर गइरहेको छ । उत्पादन गर्ने उमेर समूहका प्रयोगकर्ताहरू उत्पादनमा लाग्न छोडेर सञ्जालमा लाइक र कमेन्ट खिपेर बसिरहेका छन् । सिर्जनशील दिमाग र हातहरू चोटिलो, घोचिलो र पेचिलो वाक्य र पदावलीहरू दिमागी शब्दकोशमा खोजेर गम्दा समय बितेको थाहै पाउँदैनन् । कतिपय प्रयोगकर्ताहरू त एकोहोरै सञ्जालभित्र चुर्लुम्म डुब्दा डिप्रेसनको सिकार पनि भइरहेका छन् । यसले सञ्जालको चरम दुरुपयोग भइरहेको सङ्केत गर्दछ ।

त्यति मात्र होइन, पछिल्लो समय सामाजिक सञ्जालमै पक्ष र विपक्षमा तल्लो स्तरको गालीगलौज, आरोप–प्रत्यारोप, समर्थन र विरोध अनि आफ्नो र पराइ कित्ताकाट गरेर अभिव्यक्त गर्ने संस्कृति मौलाइरहेको छ । आफ्नो, मन परेको र स्वार्थ मिल्नेहरूलाई निरपेक्ष अतिदेवत्वकरण, अधिमूल्याङ्कन, अन्धाभक्ति, अति समर्थन, अति प्रसंशा र अति महिमामण्डन गर्ने गलत प्रवृत्ति बढेको छ । उता विरोधी, मन नपरेका र स्वार्थ नमिल्नेहरूलाई अति राक्षसीकरण, अति विरोध, अति आलोचना, अति गाली, अधि अवमूल्यन र अति विरोध गर्ने परम्परा झाँगिएको छ । जताबाट हिसाब गरे पनि यी दुवै प्रवृत्ति गलत हुन् । किनभने कुनै पनि व्यक्ति, वस्तु वा सत्तालाई माग सापेक्ष विकास गराउने हो भने त्यसप्रति आलोचनात्मक दृष्टिकोण राख्नैपर्दछ । वस्तुप्रति आलोचनात्मक हुनु भनेको त्यसलाई निषेध र विरोध गर्नु होइन । त्यसको सकरात्मक र नकरात्मक दुवै पक्षहरूलाई मिहिन ढङ्गले केलाउनु हो । आलोचनात्मक विरोध र समर्थन गर्नु भनेको सहीलाई निरन्तरता दिँदै गलतलाई सच्याउनु हो । यो व्यक्ति वा वस्तुलाई रूपान्तरण गर्ने वैज्ञानिक र भरपर्दो विधि हो । अति देवत्वकरण र अति राक्षसीकरणले अन्ततः विकास नभएर विनाश मात्र गराउँछ । यसरी वस्तुलाई विकास गर्न सकिएन भने त्यो आफ्नै आन्तरिक कारणले विनाश हुन्छ । यो व्यक्ति, वस्तु र सत्ता विकास र विनाश सम्बन्धी सार्वभौम द्वन्द्वात्मक नियम हो ।

वस्तुतः नेपाली सञ्जालमा हामीले स्वाभाविक रूपमा सोचेभन्दा धेरै कुरा हुन थालेको छ । कतिसम्म भने सञ्जालमै राजनीति, कूटनीति, रणनीति र प्रचार सबै हुन थालेको छ । यसैमा रमाउने, चिढ्याउने, स्थापित, विस्थापित समर्थन, विरोध, सफल र असफल निर्भर हुँदैछ । अझ उफ्रिने, थच्चिने, आत्तिने, मात्तिने, पात्तिने,  रिसाउने, खुस्याउने, रुवाउने र हँसाउने पनि सञ्जाल नै भएको छ । त्यति मात्र होइन, थर्काउने, गलाउने, बजाउने, हराउने अनि तह लगाउने सबै यसैमा अन्तरनिहित छ  । गाली, ताली, बोली, वाणी र  वक्तव्यबाजी यसैमा हुँदैछ । यता आन्दोलन, धर्ना, मुद्दा, हुद्दा अनि भिडभाड सबै यहीँ भइरहेको छ । खुइल्याउने र पुलपुल्याउने दुबै यसैको साहरामा बाँचेको छ । सञ्जालमै काम, माम र हाम हुन थालेको छ । हुँदा–हुँदा अहिले त सञ्जालमै प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, अध्यक्ष, डाइरेक्टर, स्वकीय सचिव र सल्लाहकार सबै बन्न थालेको छ । यो अर्को खुसीको कुरा हो । सामाजिक सञ्जालको यस्तो बहुआयामिक चरित्र देखेर दङ्ग नपर्ने कोही छ जस्तो लाग्दैन । यसलाई अन्यथा मान्न हुँदैन ।

त्यति मात्र होइन । अझ अघि बढ्दैजाँदा आजकल सञ्जालमा भड्किलो, उत्तेजित र उत्ताउलो द्वन्द्व पनि हुन थालेको छ । घोचिलो र पेचिलो टिप्पणीहरू खिपिन थालेको छ । तल्लो स्तरको गालीगलौज र विवेकशून्य भनाइहरू ओइरिन थालेको छ । अतिदेवत्वकरण र अति राक्षसीकरणको वर्षा बर्सिन थालेको छ । असभ्य, असङ्गतिपूर्ण र अस्वाभाविक पदावलीहरूले सञ्जालका भित्ता भरिन थालेका छन् । अति तरङ्गित  र अति उद्वेलित अभिव्यक्तिहरू पोखिन थालेका छ । घमण्ड र उन्मादहरू उम्लिन थालेको छ । अन्धभक्ति र अन्धविरोधको पराकाष्ठामा निस्किएको लाइक र कमेन्टको यौगिक रागले सामाजिक सद्भाव र एकरूपतामा बनाइएका शान्त पोखरीहरू छचल्किन थालेका छन् । धरातलीय यथार्थमा राम्रोसँग नटेकी समर्थन र विरोधको रस्साकस्सीमा झुन्डहरू विभाजित भएर तानातान गरिरहेका छन् । तथ्यलाई राम्रोसँग नबुझी एकापट्टिको डोरीमा झुन्डिएर हल्ला–खल्ला गरिरहेका छन् । यही हल्लाकै पछि लागेर सञ्जालमा एकोहोरो विश्लेषण र संश्लेषणसँगै बहस–पैरवी र तर्ककुतर्कहरूमा उत्रिएका छन् हाम्रा विद्वान् मित्रहरू । यस्तो रवैया पक्ष र विपक्षमा उभिएर टक्कर लिँदा स्वादिलो भए पनि समग्र सामाजिक थिति र सङ्गति बसाल्ने कोणबाट नियाल्दा गलत सावित हुनेछ ।

जमाना पनि कहाँ पुगिसके छ ? विगतमा खुला आकाशमुनि विरोध प्रदर्शन, हड्ताल, चक्काजाम, मसाल जुलुस, ¥यालीलगायतका आन्दोलनका स्वरूपहरू थिए । यसमार्पmत सरोकारवाला निकायहरूलाई दबाब दिइन्थ्यो । तर आज कहीँकतै जानुपर्दैन । ओच्छ्यानमा सुतेर, कुर्सीमा बसेर, यात्रामा ढल्केर, जात्रामा रमिते बनेर अनि चौतारीमा गफ हाँक्दै सञ्जालजन्य घोचिलो पेचिलो आन्दोलन गर्न सकिन्छ । यसमा भौतिक रूपमा श्रम गर्नुपर्दैन । त्यसैले यसलाई कतिपयले अल्छे आन्दोलन पनि भन्ने गर्दछ । यद्यपि यस आलेखमा आन्दोलनको स्वरूप बदलिएको भन्दा पनि यसले अङ्गीकार गरेको गलत संस्कारप्रतिको चिन्ता हो । सामाजिक सञ्जालको दुरुपयोगद्वारा समाजमा सही सामाजक थिति, संस्कार र सकरात्मक मनोविज्ञानहरू बसाल्न सकिँदैन । यस्तो स्वार्थी र अवसरवादी गलत प्रवृत्तिले हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ । यसमा सबै सञ्जाल प्रयोगकर्ताहरू गम्भीर बन्न जरुरी छ ।

 पछिल्लो समय कसैलाई उचाल्ने र पछार्ने नाममा हदैसम्मका तुच्छ गालीगलौज र असभ्य भाषा र बोलीचाली अत्यधिक प्रयोग भइरहेको देखिन्छ । यो तपाईं हाम्रा लागि विडम्बनाको विषय हो । सञ्जालमा अभिव्यक्त भाषा शिष्ट, सभ्य र राजनीतिक भावमा अभिव्यक्त हुनुपर्दछ । पाँडे गालीको बोली बोल्नु हुँदैन । विरोध पनि आलोचनात्मक चेतद्वारा निर्देशित हुनुपर्दछ । तर अब त सामाजिक सञ्जाल खोल्न पनि डरसरी भइसकेको छ । किनकि सामाजिक सञ्जाल खोल्नेवित्तिकै तथानाम गालीगलौजको वर्षा मात्रै देखिन्छन् । यसले हाम्रो समाजको सभ्यता र अनुशासनको असली स्तर छर्लङ्ग हुन्छ । यस्तो प्रवृत्तिलाई प्रश्रय दिँदै जाँदा हाम्रो समाज कस्तो बन्ला चिन्ताको विषय हो । यस्तो संस्कारले हामी कहाँ पुग्छौँ ? हाम्रो समाजको भाष्य, मनोविज्ञान, संस्कृति, विवेक, चालचलन, सभ्यता र संस्कार कस्तो बन्ला ? सचेत नागरिकहरूका लागि यो विचारणीय सवाल हो ।

 त्यसैले हामी सभ्य र स्वाभिमानी नेपालीहरू सामाजिक सञ्जालमा धेरै नबहकिऔँ, नछचल्किऔं अनि नपोखिऔं । छचल्किनै परे सभ्य, शिष्ट र शालीन भावमा पोखिने गरौँ । अति देवत्वकरण र अति राक्षसीकरण दुवै नगरौँ । अति प्रसंशाले आवश्यकताभन्दा बढी हौसिन्छ भने अति विरोधले औसतभन्दा बढी निराश बन्दछ । दुवै प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । व्यक्ति र वस्तुप्रति आलोचनात्मक दृष्टिकोण राख्ने गरौँ । अति उन्माद, अति घमण्ड, अति उत्साहित र अति महत्त्वाकाङ्क्षी पनि नबनौँ । अति निराशा र कुण्ठा बोकेर संसारै अँध्यारो पनि नदेखौँ । सापेक्षित वा औसत आशा, आकाङ्क्षा र उत्साह राखौँ । अरूलाई खुइल्याउँदा आफूले र आफूलाई खुइल्याउँदा अरूले आनन्द महसुस गर्ने प्रतिशोधी संस्कारलाई निरुत्साहित गरौँ ।

यसो गर्नका लागि आजैबाट भड्किलो, उत्तेजित र तरङ्गित अभिव्यक्तिहरू बन्द गरौँ । यसले सामाजिक सञ्जालमा अनावश्यक युद्ध र द्वन्द्व सिर्जना गर्दछ । आखिर सञ्जालको द्वन्द्व छताछुल्ल हुने समाजमै हो । सही सवालको उठान र बैठान सभ्य राजनीतिक भावमा पनि अभिव्यक्त गर्न सकिन्छ । घोचिलो, पेचिलो र आग्रह–पूर्वाग्रहका शब्दहरू खिप्ने र बुन्ने मित्रहरूलाई अरू उत्पादनशील र सिर्जनशील काममा लाग्न सुझाव दिन मन लागेको छ । कुनै पनि व्यक्ति, वस्तु र सत्तालाई निरपेक्ष पूर्ण र समाधनको रूपमा होइन, सापेक्षित हल भनेर मात्र बुझ्ने गरौँ । सञ्जालमा अनावश्यक तरङ्गित अभिव्यक्ति दिएर अरूलाई उक्साएर उन्मादी बनाएर बर्बाद नगरौँ अनि जानीजानी असफल नपारौँ ।  यहाँ कुरा खिपेर तीखो वाण हान्नुभन्दा बरू अरू बिते–बिग्रेको काम गरौँ । यसैमा हामी सबैको भलो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप