बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कहिले सुधार हुन्छ नेपालको ब्याटिङ समस्या ?

बिहीबार, १६ भदौ २०७९, १० : ३८
बिहीबार, १६ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्याको टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच टी–ट्वान्टी खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । 

नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो । यो समस्या पहिलोदेखिकै हो । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । 

नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेका खेलहरूमा पनि नेपालको ब्याटिङ सन्तोषजनक भएन । नेपालले खेलेका पाँच खेलहरू मध्ये नेपालले सिरिजको अन्तिम खेलमा मात्र सोचे अनुरुप प्रदर्शन गर्न सक्यो । 

सिरिजमा नेपालमा लागि राष्ट्रिय टोलीमा लागि रोहित कुमार पौडेलले १५६ रन बनाए । उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी भए । यता पुनरागमन गरेका ज्ञानेन्द्र मल्लले एक अर्धशतक प्रहार गर्दै १३५ रन बनाए । सिरिजमा आरिफ शेखले ५५ रन बनाए । यता दीपेन्द्र सिंह ऐरीले लगातार दुई खेलमा ६–६ रन बनाए । एक खेलमा ३ रन अनि बाँकी दुई खेलमा २२ र ३३ रन बनाए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले तीन खेलमा ७० रन बनाए । 

नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि नेपाली ब्याटिङ समस्या सुधारको उपाय हेरिरहेको बताएका छन् । आफ्नो नेतृत्वमा पहिलो सिरिज खेलेपछि प्रभाकरले नेपाली टोलीको समस्याहरूको विषयमा आफूले अध्ययन गरिरहेको र त्यसलाई छिटै समाधान गर्ने बताए । उनले ब्याटिङ मुख्य समस्याको रूपमा रहेको हुनाले त्यसलाई चाँडै समाधान गर्ने जिकिर गरे । 

‘मैले नेपाली टोलीको समस्याहरू पहिल्याउन खोजेको छु । ब्याटिङको समस्या धेरै छ । त्यसलाई पक्कै सुधार गर्नेछौँ । तर, त्यसका लागि केही समय पक्कै लाग्नेछ,’ प्रभाकरले भने । 

एक दिवसीय क्रिकेटको मान्यता जोगाउने चुनौती रहेको नेपाली क्रिकेटको ब्याटिङ समस्या सुधार नहुँदा एक दिवसीय मान्यता पनि गुमाउला भन्ने चिन्ता बढेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले अब १६ खेल खेल्न बाँकी छ । नेपालले १६ खेलमा नै जित निकाल्न सकेमा मात्र सन् २०२३ को विश्वकपको छनोट खेल्न पाउनेछ । 

यता एक दिवसीय मान्यता जोगाउनका लागि भए पनि नेपालाई शीर्ष पाँचमा पर्न आवश्यक छ । शीर्ष पाँचमा पुगेमा नेपालका लागि एक दिवसीय मान्यता जोगिनेछ । त्यसका लागि बाँकी १६ खेलमा नै नेपालले आफ्नो प्रदर्शनमा सुधार गर्न आवश्यक छ । 

मुख्य प्रशिक्षक प्रभाकरले नेपाली नेपाली टोलीको सबै समस्या हल गर्दै लिग टूका बाँकी खेलहरू जित्ने र नेपालको एक दिवसीय मान्यता जोगाउने आफ्नो योजना भएको बताएका छन् । ‘मेरो मुख्य लक्ष्य भनेको अब नेपालको प्रदर्शनलाई सुधार गर्दै एक दिवसीय मान्यता जोगाउनु हो । त्यसका लागि म तयार छु । त्यो भन्दा पहिला नेपाली टोलीको कमजोरीलाई पहिल्याउने काम गरिरहेको छु,’ प्रभाकरले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप