शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला साफ : पहिलो संस्करणबाट नै भारत नेपालको सदावहार प्रतिद्वन्द्वी

के नेपालले छैठौं संस्करणमा उपाधि रक्षा गर्ला ?
बिहीबार, १६ भदौ २०७९, ०७ : ४१
बिहीबार, १६ भदौ २०७९

महिला साफ च्याम्पियनसिप प्रतियोगिता सन् २०१० बाट सुरु भएको हो । बंगलादेशमा आयोजना भएको फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । पहिलो संस्कणबाट नै भारत नेपालका लागि उपाधिको बाधक बनेको थियो । समूह चरणका खेलमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा भने चुक्यो । 

नेपालका लागि फाइनलमा बाधक बनेको थियो भारत । भारतले फाइनल खेलमा नेपाललाई १–० गोल अन्तरले हराउँदै उपाधि उचाल्यो । पहिलो संस्करणको प्रतियोगितामा भारतले भुटानलाई समूह चरणको खेलमा १८¬–० गोल अन्तरले हराएको इतिहास पनि छ । 

उक्त खेलमा नेपालका लागि अनु लामाले ११ गोल गरेकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएकी उनी अहिले राष्ट्रिय टोलीमा छैनिन् । सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपबाट महिला टोलीबाट सन्यास घोषणा गर्ने योजना बनाएकी अनु अन्तिममा टिममा परिनन् । त्यसैले, उनको सन्न्यास सुखद रहेन ।

नेपाली राष्ट्रिय टोलीका पहिलो साफमा नै आफूले गरेको प्रदर्शनले अहिले पनि हर्षित बनाउने अनु बताउँछिन् । उनले नेपाली टोलीको पछिल्लो प्रदर्शन हेर्दा पहिलो साफ भन्दा धेरै फरक भएको बताइन् । 

‘पहिलो साफमा अहिलेको जस्तो टिम थिएन । हामी तुलनात्मक रुपमा कमजोर नै देखिन्थ्यौ । तर हामीहरुले आफूहरुले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्यौ । त्यो समयमा भारत र बंगलादेश बलियो थिए । हामीले तिनलाई पनि उछिन्ने मौका पायौं । तर, फाइनलमा हामीलाई‘लक’ले साथ दिएन,’ अनुले रातोपाटीसँगको कुराकानीमा भनिन् । 

पहिलो साफमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत समूह ‘ए’मा भारत, बंगलादेश, श्रीलंका र भुटान थिए । समूह ‘बी’ मा नेपालसहित पाकिस्तान, माल्दिभ्स र अफ्गानिस्तान थिए । नेपालले समूहको दोस्रो खेलमा अफ्गानिस्तानलाई १३–० गोल अन्तरले हराएको थियो । 

अन्तिम खेलमा पाकिस्तानलाई १२–० गोल अन्तरले हराएको थियो । नेपालले सेमिफाइनल खेलमा बंगलालदेशलाई३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

प्रतियोगितामा नेपालसँगै त्यो समयमा बंगलादेश र भारत मात्र बलियो टोली भएको अनुले आफ्नो अनुभव सुनाइन् । पछिल्लो समय सबै देश बलियो भएर प्रस्तुत भएको उनको अनुभव छ । 

पछिल्लोछैठौंसंस्करणमा भने नेपाललाई उपाधि जित्न सहज भएको अनु बताउँछिन् । उनको बुझाइमा नेपाली टोलीले त्यसका लागि राम्रो तयारी पनि गरिरहेको छ । 

‘नेपाली टोलीले त्यो सयमा पनि उत्कृष्ट प्रदर्शन गरको थियो । अहिले पनि नेपाली टोली उपाधि दावेदार नै हो । तर, पछिल्लो समय बंगलादेश, श्रीलंका, पाकिस्तान र भुटान पनि बलियो अवस्थामा छन् । त्यसैले नेपाली टोलीलाई मौका र चुनौती दुबै छ,’ उनले भनिन् । 

नेपाललाई भारत सधैँ बाधक 

साफ च्याम्पियनसिपको छैठौं संस्करण नेपालमा केही दिनपछि सुरु हुँदैछ । नेपालमा हुने प्रतियोगिताका लागि घरेलु टोली उत्साहित छ । दोस्रो पटक नेपालले साफको आयोजना गर्न लागेको हो । यो पटक भने नेपाली टोली उपाधि रक्षा गर्ने योजनामा छ । तर, नेपालका लागि भारत नै मूल रुपमा बाधक छ । 

नेपाल चार पटक भारतसँग फाइनलमा पराजित भएको थियो । जसमा सन् २०१० को पहिलो साफदेखि २०१९ को पाँचौ साफसम्मको तीतो अनुभव छ । समूह चरणदेखि लिएर सेमिफाइनलसम्म बलियो बन्ने नेपाल फाइनल खेलमा भने किन किन भारतसँग कमजोर देखिन्छ । 

यो पटक भने भारत मात्र होइन प्रतियोगितामा सहभागिता जनाएका सबै टोली नै बलियो छन् । त्यसैले प्रतियोगितामा आफूलाई बलियो बनाउँदै उपाधि जित्ने योजनामा नेपाली टोली हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप