शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका अनुगमन अधिकारी युद्धग्रस्त युक्रेनको आणविक ऊर्जा केन्द्रतर्फ जाँदै

बुधबार, १५ भदौ २०७९, २२ : ३९
बुधबार, १५ भदौ २०७९

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरू बुधबार युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेका छन् । यो लामो समयदेखि प्रतिक्षा गरिएको क्षण हो जसले युद्ध क्षेत्रको बीचमा रूसको नियन्त्रणमा रहेको सुविधालाई सुरक्षित गर्न र विपत्तिबाट बच्न मद्दत गर्ने विश्वले आशा गरेको छ ।  

आक्रमणले खतरा निम्त्याउनेप्रति जोड दिँदै कीभ र मस्कोले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक अर्काप्रति लगाएका छन् ।   हालैका दिनहरूमा प्रसारण लाइनमा भएको आगोको क्षतिले विकिरणहरूको व्यापक चुहावट हुने वा ‘रिएक्टर मेल्टडाउन’ पनि निम्त्याउन सक्छ भन्ने त्रास बढाएको भन्दै उक्त आणविक भट्टीलाई सञ्चालनमा ल्याइएको थिएन । निकै गम्भीर खालको जोखिम निकटमा रहेको भन्दै अधिकारीहरूले नजिकैका बासिन्दाहरूलाई एन्टि–रेडिएशन आयोडिन चक्कीहरू वितरण गर्न थालेका थिए । 

रूस समर्थित स्थानीय अधिकारीहरूले बुधबार युक्रेनी सेनाले प्लान्टको क्षेत्रमा पटक–पटक गोलाबारी गरेको र ड्रोन आक्रमण प्लान्टको प्रशासनिक भवन र प्रशिक्षण केन्द्रमा प्रहार गरेको दाबी गरेका छन् । युक्रेनका प्रान्तीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले भने, “नदीपारिको एउटा सहरमा रातको समयमा भीषण गोलाबारी भएको थियो । 

“यो स्थानीय जनसङ्ख्या र अन्तर्राष्ट्रिय समाजको आणविक ब्ल्याकमेलिङ जस्तो देखिन्छ,” रेज्निचेन्कोले टेलिग्राम सन्देशमा भने । युक्रेनका लागि ऊर्जाको महत्वपूर्ण स्रोत रहेको यो क्षेत्रमा छ महिना लामो युद्धको सुरुवाती दिनदेखि नै रुसी सेनाले कब्जा जमाएको छ र भट्टी युक्रेनी कामदारले चलाएका छन् । 

युक्रेनले उक्त प्लान्टलाई रुसले बन्धक बनाएको, हतियार भण्डारण गरेको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ भने रूसले त्यहाँ युक्रेनले अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाएको छ । 
महिनौँदेखि युद्ध चलिरहँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले उक्त प्लान्टमा पहुँचको माग गर्दै आएका छन् र विश्वका नेताहरूले संयुक्त राष्ट्रसङ्घको आणविक अनुगमनकारी निकायलाई यसको निरीक्षण गर्न अनुमति दिन माग गर्दै आएका छन् ।

एजेन्सीका प्रमुख राफेल ग्रोसीले यस अभूतपूर्व मिसनको प्रभावबारे आफूलाई राम्ररी थाहा भएको बताएका छन् । “हामी युद्ध क्षेत्रमा गइरहेका छौं । हामी क्षेत्र कब्जा गर्न गइरहेका छौं,” बुधबार बिहान प्रस्थान गर्ने क्रममा उनले भने । उनले १४ जना विज्ञको मिसनले आफ्नो काम गर्न सक्ने स्पष्ट ग्यारेन्टी रुसबाट प्राप्त भएको बताए ।

एनेरहोडारमा रहेका रुसी अधिकारीहरूले हालैको लडाइँमा कुनै हताहत नभएको र रेडियोधर्मिता नछोडेको बताएका छन् । तर यसले संयुक्त राष्ट्रसंघीय मिसनको सुरक्षाको डरलाई खासै कम गर्न सकेको छैन । युक्रेनले मङ्गलबार उक्त प्लान्टसम्म पुग्नका लागि मिसनले प्रयोग गर्ने योजनामा रहेका सडकहरूमा रूसी पक्षले बम बारी गरेको आरोप लगाउँदै उनीहरूले निरीक्षकहरूलाई रूसको नियन्त्रणमा रहेको क्षेत्र हुँदै जान प्रोत्साहित गर्न खोजेको आरोप लगाएको छ । 

संसारले यस मिसनको प्रगतिलाई चिन्ताका साथ हेरिरहेको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले रूसलाई विद्युत गृह वरपरको क्षेत्र पूर्ण रुपमा सैन्य गतिविधिरहित बनाउन आग्रह गरेका छन् । “उनीहरूले खेल खेलिरहेका छन् । उनीहरूले आणविक सुरक्षासँग जुवा खेलिरहेका छन्,” बोरेलले चेक गणतन्त्रको राजधानी प्रागमा पत्रकारहरूसँग भने । “हामी यस्तो साइटको वरिपरी युद्धका गतिविधि गर्न सक्दैनौं ।” 

कीभले उक्त क्षेत्रको नियन्त्रण फिर्ता लिन अन्तर्राष्ट्रिय सहयोग मागिरहेको छ । युक्रेनी ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले अमेरिकी समाचार संस्था, एसोसिएटेड प्रेससँग भनिन्, ‘हामीलाई लाग्छ कि यो मिसन यस वर्षको अन्त्यसम्ममा युक्रेनी सरकारको नियन्त्रणमा फर्काउनका लागि एक महत्वपूर्ण कदम हुनेछ ।’ 

यदि सबै कुरा ठीकठाक भयो भने निरीक्षकहरू युक्रेनी राजधानीबाट ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको जापोरिजिया क्षेत्रमा बुधबार पुग्नेछन् । विशेषज्ञहरूले सार्वजनिक रूपमा घोषणा गरिएको युद्धविरामको साथ सक्रिय लडाईंका क्षेत्रहरू पार गर्नुपर्ने हुन सक्छ ।

ग्रोसीले मंगलबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरी उक्त मिसनबारे छलफल गरेका थिए । जेलेन्स्कीको कार्यालयले बुधबार दक्षिणी खेरसनको सडकमा स्वचालित हतियारको गोली चलेको आवाज सुनिएको र रुसी सैनिकहरूले पक्षधरहरूको निजी निवासहरू खोजी गरिरहेको दाबी गरेको छ । युक्रेनले त्यहाँ प्रतिआक्रमण सुरु गर्ने प्रयास गरेको अनुमान यसै साताको सुरुमा गरिएको थियो । 

उनका अनुसार पूर्वमा डोनेट्स्क क्षेत्रमा मङ्गलबार रकेट प्रहार हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप