शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बर्खास्तमा परेका राज्यमन्त्री यसरी पुगेका थिए एमालेको कार्यक्रममा

बुधबार, १५ भदौ २०७९, २० : ४५
बुधबार, १५ भदौ २०७९

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ टेर्हुवा निवासी कुलवीर चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा बुधबार बिहानसम्म भौतिक पूर्वाधार राज्यमन्त्रीका रुपमा थिए । तर उनलाई बुधबार बिहान उनकै दल नेकपा एकीकृत समाजवादीको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे ।

चौधरी नेकपा एकीकृत समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गर्न थालेको सूचनापछि पार्टीले उनलाई कारवाही गरेको हो । त्यसो त, उनलाई पनि यस्तो परिणामको पूर्वाभाष नभएको होइन । मंगलबार राति मन्त्रालयको क्वाटरमा नबसेका उनी बुधबार बिहानै आफ्नो गाउँबाट मन्त्रालय आए ।

आफ्नो स्वकीय सचिव वीरबहादुर चौधरीलाई ९ बजे भेट्न उनी धनगढी हिँडेका थिए । धनगढीबाट बेलौरी हुँदै उनी मन्त्रालयकै गाडीमा महेन्द्रनगर हानिए । उनी नेकपा एमालेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएको उनका निकटस्थहरुलाई जानकारी थियो ।

मन्त्रालयको गाडी, सुरक्षाकर्मीसहित महेन्द्रनगर पुगेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका छन् । महेन्द्रनगर छँदै बर्खास्तीमा परेका उनले मन्त्रालयको गाडी र सुरक्षाकर्मीलाई फिर्ता पठाइसकेका छन् ।

सुदूरपश्चिममा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको संयुक्त सरकार छ । यहाँ नेकपा एमाले प्रमुख प्रतिपक्षी दल हो ।

पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङसहित कञ्चनपुर जिल्लाका नेकपा एकीकृत समाजवादीका केही नेताहरु एमालेमा फर्किन लागेको चर्चा केही साता अघिदेखि नै थियो ।

चौधरी २०७४ को निर्वाचनमा कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका क्रममा आफूले उम्मेदवारी नपाउने देखेपछि चौधरी एमालेमा प्रवेश गरेको उनका सहयोगीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप