बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग मन्त्रालयले केका आधारमा खुलायो प्रतिबन्धित वस्तुको आयात ?

सवारी आयात प्रतिबन्ध लम्बियो, तास र कुरकुरेको आयात खुल्यो
बुधबार, १५ भदौ २०७९, १९ : ०८
बुधबार, १५ भदौ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि प्रतिबन्ध झेलिरहेका वस्तुहरूको आयात खुलाउन दोहोरो नीति लिएको छ । आयात प्रतिबन्ध झेल्दै आएकामध्ये ६ प्रकारका वस्तुको आयात खुलाउने तथा अन्य वस्तुको प्रतिबन्ध लम्ब्याउँदै मन्त्रालयले दोहारो नीति लिएको हो ।

मन्त्रालयले चाडबाडको नजिक पारेर तास, कुरकुरे, कुरमुरे, लेज, चिजबल्स, हिरा, सुर्ती÷चुरोटजन्य वस्तु, सबै प्रकारका खेलौना र रंगिन टेलिभिजनको आयात खुलाएको छ । तर, मन्त्रालयले विदेशी ब्राण्डका मदिरा, सवारी साधान, १५० सीसीभन्दा माथिको इञ्जिन क्षमताका मोटरसाइकल र स्मार्टफोन आयातमा लागेको प्रतिबन्ध भने लम्ब्याएको छ । यसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयमाथि नै शंका उत्पन्न गरेको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् ।

‘मन्त्रालयले व्यवसायीको प्रभावमा परेर दशैं तिहारमा विकृति फैलाउने र कानूनले नै बर्जित गरेको तासको आयात खुलाएको छ’ उनले भने । यस्तै, दशैं/तिहारसँग कुनै सम्बन्ध नै नराख्ने कुरकुरे, कुरमुरे, लेज र चिजबल्सको आयात समेत खुलेको छ । यसैगरी, मदिाराजन्य वस्तुको आयात यथावत राख्दै सबै प्रकारका सुर्तिजन्य वस्तुको आयात भने खुलाइएको छ । जसले मन्त्रालयको निर्णय पहुँचवालाको योजना अनुसार भएको शंका गरिएको छ । सुर्तिजन्य पदार्थ, चुरोट र तासको आयात खुलाउने तर मदिराजन्य वस्तुको आयात र सवारी साधन तथा मोटरसाइकल तथा स्मार्टफोनको आयात नखुलाउने निर्णय गर्दा सरकारी नीतिमाथि नै शंका उब्जिएको हो ।

‘केही वस्तुको आयात खुलाउने र केहीको प्रतिबन्ध कायम गर्ने विषय उद्योग मन्त्रालयबाट भन्दा पनि माथिल्लो निकायबाट भएको हो,’ बानियाँ भन्छन् । दशैं तथा तिहारमा नेपाली बजारमा सबैभन्दा धेरै कारोबार हुने सवारीसाधन, स्मार्टफोन र मोटरसाइकलको आयात प्रतिबन्ध भने लम्बिएको छ । जबकि, दशैं तिहारमा बिक्री नै नहुने कुरकुरे र कुरमुरेसँगै उपभोग गर्न नै नपाइने तास (तास खेल्न पाइदैन) को आयात भने खुलेको छ । यस्तै, जुवा ऐन २०२२ ले आयात निरुत्साहन गरेको तासको आयात खुलाउनु समेत संकास्पद भएको सरोकारवालाहरू बताउँछन् । प्रहरीले समेत दशैं तिहारमा जुवा–तास खेल्न नदिन अप्रेसन चलाउँछ । तर, दशैंकै मुखमा तासको आयात प्रतिबन्ध हटेको छ ।

प्रवक्तालाई थाहै छैन

उद्योग मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मी राजपत्रमा प्रकाशन भएअनुसारका वस्तुको आयात प्रतिबन्ध लम्बिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले आयात खुलेको र प्रतिबन्ध लम्बिएका वस्तुको थप विश्लेषण गर्न नमिल्ने बताए । ‘केही वस्तुको आयात खुलेको छ । केहीको लम्बिएको छ तर, किन खुल्यो र किन खुलेन भन्ने विषय मैले बोल्न मिल्दैन, आयात प्रतिबन्ध खुलाउने वा लम्ब्याउने भन्ने काम योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेतृत्वको टोलीले गरेको हो,’ प्रवक्ता रेग्मीले भने ।

प्रतिबन्ध खुलेका वस्तुको आयात
गत साउन महिना
४८ इन्चसम्मका टेलिभिजन – ३ करोड ४५ लाख
अन्य टेलिभिजन – ८२ लाख ९१ हजार
कुरकुरे, कुरमुरे, लेज र चिजबल्स – ५ लाख ८८ हजार
तास – ४० लाख
हिरा (औद्योगिक प्रयोजन) – १ करोड ५६ लाख
सुर्तिजन्य वस्तु – ३० करोड ९० लाख
हुक्का – १२ लाख २३ हजार

गत आर्थिक वर्षको २ महिनामा भएको आयात
सुर्ती – ३४ करोड ५७ लाख
कुरकुरे, कुरमुरे, लेज र चिजबल्स – १० करोड ८१ लाख
चुरोट – ३८ लाख
बिडी र प्रशोधित सिगरेट – १ करोड २९ लाख
हुक्का फ्लेवर – १ करोड ७९ लाख
हिरा (औद्योगिक प्रयोजन) – ४ करोड ९१ लाख
हिरा – ५४ करोड ९७ लाख
तास – ५ करोड ३१ लाख
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप