शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

बुधबार, १५ भदौ २०७९, १८ : ४४
बुधबार, १५ भदौ २०७९

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा छ, निर्देशिका अनुसार बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न अपनाउनु पर्ने प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने हुन्छ, हामी अध्ययन गरिरहेका छौँ,’ प्रवक्ता केसीले रातोपाटीसँग भने ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि केही समय पहिलादेखि नै प्रक्रिया अगाडि बढाएको थियो । यस्तै, रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट नै आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार सर्वोत्तम सिमेन्टले गत असार २८ गते र रिलायन्स स्पिनिङ मिल्सले असार ३१ गते बोर्डमा आवेदन दिएका हुन् । सर्वोत्तमले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता सेयर बुक बिल्डिङ विधिबाट विक्री गर्न लागेका हुन् । यसमध्ये सर्वोत्तम सिमेन्टको सेयरको मूल्य न्यूनतम ५०१ रुपैयाँ र अधिकतम ७५१.५० रुपैयाँ कायम भएको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँ र अधिकतम ९१२ रुपैयाँ कायम भएको छ ।

यी दुबै कम्पनीबाट जारी हुने सेयरमा कम्तीमा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताको लागि सुरक्षित गरिएको हुन्छ । बाँकी सेयर सर्वसाधारणको लागि हो । सर्वसाधारणको लागि भने बुक बिल्डिङ विधिबाट कायम भएको मूल्यको कटअफ प्राइसको १० प्रतिशत सस्तोमा सेयर छुट्टयाउनु पर्ने हुन्छ । अर्थात सर्वोत्तम सिमेन्टको कटअफ प्राइस प्रतिकित्ता ५०१ रुपैयाँ कायम भयो भने सर्वसाधारणले प्रतिकित्ता ४५० रुपैयाँमा सो कम्पनीको आइपिओ भर्न पाउने छन् । 

बोर्डले तोकेका योग्य संस्थागत लगानीकर्ताले प्रस्ताव गरेको आशय मूल्यका आधारमा बुक बिल्डिङ विधिबाट आईपीको मूल्य तय हुन्छ । बोर्डले तोकेका योग्य संस्थागत लगानीकर्ताको संख्या ११६ पुगिसकेको छ । यस्तै, बुक बिल्डिङ प्रक्रियामा आशपत्र पेश गर्ने कम्पनीहरूलाई विडिङमा अनिवार्य सहभागी हुनैपर्ने नीतिगत व्यवस्था गरिएको छ । यी दुबै कम्पनीको इस्यू म्यानेजर ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप