तत्कालीन सीडीओसहित १३ जना भ्रष्टाचारमा मुछिए, अख्तियारद्वारा मुद्दा दायर
सेनाका लागि अधिग्रहण भएको जग्गामा नक्कली मोही खडा गरेर मुआब्जा वितरण गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दाय भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धनुषाको साविक भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो सम्बन्धमा अनुसन्धान हुँदा रकम हिनामिना भएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।
गौतमलगायतविरुद्ध एक करोड चौध लाख छैसठ्ठी हजार छ सय सतसठ्ठी रुपैयाँ जरिवाना र कैद माग गरिएको छ ।