आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनमा केपी ओली नराम्रोसँग पछारिनेछन् : प्रकाश ज्वाला

बुधबार, १५ भदौ २०७९, १६ : २३
बुधबार, १५ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले आसन्न निर्वाचनमा केपी ओली नराम्रोसँग पराजित हुने बताएका छन् । उनले गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा ओलीलाई चुनावमा फेस हुन नै गाह्रो पर्ने उनको तर्क छ । 

बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित सुर्खेत जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई एक्लै चुनाव लड्न सहज नभएको जिकिर गरे । ‘ओलीले राप्रपा लगायतका अन्य दलसँग तालमेल गर्ने छन्,’ उनले भने, ‘तर पनि ओली नराम्रोसँग पछारिने छन्, होसमा आउनेगरी पछारिने छन् ।’ ज्वालाले समाजवादी पार्टीले अब गठबन्धनको निर्णय पर्खेर नबसी चुनावी अभियानमा सक्रिय हुने बताए । 

उनले भने, ‘गठबन्धनको मुख हेरेर बस्यौं, तयारी गरेनौं भने हामीलाई धेरै घाटा हुनेछ ।’ उनले स्थानीय तहमा अन्योलपूर्ण गठबन्धनका कारण कर्णालीमा समाजवादीलाई केही रुपमा घाटा लागेको बताए । ‘स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह कलम जनताको बीचमा प्रचार गर्न नसक्दा हाम्रो नतिजा केही रुपमा कमजोर आएको हो,’ उनले भने,‘ त्यसमा केही प्राविधिक कमजोरी रहे । एउटा चुनावले हामीलाई सिकाई भएको छ । हाम्रा विचारहरु जनताको बीचमा पुगेका छन् ।’

गठबन्धनका निमित्त तयार रहेको बताउँदै ज्वालाले  सिट बाँटफाँडबारे शीर्ष नेताहरुबीच छलफल जारी रहेको बताए । ज्वालाले कर्णालीमा गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गरे । उनले भने, ‘हामीले गरेको विद्रोहले प्रतिगमनलाई परास्त गरेर ओलीलाई बालुवाटारदेखि बालकोट पुर्यायो । प्रतिगमनका छिर्काहरु बाँकी रहेकाले गठबन्धन आजको आवश्यकता हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप