शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रले सीमाबाहिर गएर बोल्न खोज्नुभयो : विश्वकर्मा

बुधबार, १५ भदौ २०७९, १४ : ३८
बुधबार, १५ भदौ २०७९

महाभियोग सिफारिस समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमबाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् । 

समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले  निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको विश्वकर्माले बताए । ‘जवाफमा राणाले मैले बोल्ने क्रममा मात्र त्यसो भनेको हुँ । म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो,’ विश्वकर्माले राणाको भनाई उद्धृत गर्दै भने ।

विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो संवैधानिक पदीय दायित्व पुरा नगरेबापत संसद्का एक चौथाइ सदस्यहरूले २१ बुँदे महाभियोग दर्ता गरेका बताउँदै आज आरोपित राणामाथि समितिले सोध्ने क्रम जारी रहेको बताए । जवाफ दिने क्रममा राणाले अभियोगको छलफल किन ढिलो आयो भनेर जिज्ञासा राखेको पनि सुनाए । राणाले यतिबेला सफाइका आधारहरू प्रस्तुत गरिरहेको उनले भनेका कुरालाई छानबिन गर्न बाँकी नै रहेको बताए ।

उनले समितिले तय गरेको कार्यतालिका पनि परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिए । प्राप्त कागजातको अध्ययन गर्नका लागि समय लाग्ने तथा प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै वृहत् छलफल र अध्ययनका लागि कार्यतालिका परिमार्जन गर्ने तयारी गरिएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप