शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

तनाव हुँदा उत्पादन हुने हर्मोनले स्वास्थ्यमा कस्तो पार्छ प्रभाव ?

बुधबार, १५ भदौ २०७९, ११ : ४७
बुधबार, १५ भदौ २०७९

अहिलेको एक्काइसौं शताब्दीमा चरम विकासको युगसँगै विज्ञान र प्रविधिको उपलब्धिको कारणले मानिसलाई एक पाईला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानवनिर्मित यन्त्रबाटै भइरहेका छन् । यसकारण मानिस प्रविधिको दास भएको छ । 

खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसका दैनिकी बनिरहेका छन् । त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोग नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगले मानिसलाई ग्रस्त बनाइरहेको छ । त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पुर्याएको छ भने अर्कोतर्फ मानिस जति सचेत र प्रविधियुक्त हुँदैछ, त्यति मात्रामा मानिसमा छटपटी, बेचैन र जिन्दगी नै अस्तव्यस्त हुन पुगेको छ । 

मानिसहरू तनाव, चिन्ता, डिप्रेसन र अनिद्राका सिकार बनिरहेका छन् । मानिसमा खुशी र हाँसो कहिल्यै नफर्कने गरी हराउन थालिसकेको छ । यसरी सरसर्ती हेर्दा मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तन र अस्वस्थकर खानपानले गर्दा निको नहुने खालका गम्भीर रोग देखा पर्ने गरेको छ । यस आलेखमा भने तनाव वा चिन्ताले शरीरमा उत्पादन हुने हर्मोन र ती हर्मोनले पार्ने असरको बारेमा केही प्रष्ट पार्ने जमर्को गरिएको छ ।

तनावमा उत्पादन हुने हर्मोन र प्रभाव
मानिसमा तनाव हुँदा शरीरमा केही हर्मोन उत्पादन हुने गर्छन्, जसले तनावविरुद्ध लड्न महत्वपूर्ण भूमिका निर्वाह गरेता पनि ती हर्मोन लामो समयसम्म उत्पादन भइरहेमा शरीरमा विभिन्न प्रभाव पर्ने सक्छ । ती तनाव हर्मोन यस प्रकार छः
कोर्टिसोल हर्मोन
कोर्टिसोल हर्मोन शरीरलाई बचाउनका लागि आवश्यक पनि छ । यदि हामीलाई कुनै खतराको महसुस भयो भने यो हर्मोन उत्पादन हुन्छ, जसले रक्तचाप र मुटुको गति बढ्ने, मांसपेशीमा तनाव उत्पन्न हुने, पाचनप्रणालीको कार्य अवरुद्ध भई शरीरको उर्जा अन्यत्र प्रवाह हुने र वाकवाकी लाग्ने, बान्ता वा पखाला चल्ने समेत गर्छ । 

कोर्टिसोल हर्मोनको उत्पादन हुँदा यस्ता असहज अवस्था देखिएतापनि यसले गर्दा हामीलाई खतराको सामना गर्न मद्धत पुग्छ वा हामीले आफ्नो जीवन बचाउन अन्य उपायहरू अपर्झट निकाल्न पनि सकिन्छ । 
साथै मेटाबोलिज्म् बढाउन, सुगरको तह मिलाउन, जैविक घडीअनुसार शरीर चलाउन, प्रतिरोध शक्ति र इन्फ्लामेसन हटाउन पनि यो लाभदायक छ । यो हर्मोनलाई हाइड्रोकोर्टिजोन पनि भनिन्छ, जुन स्टेरोइड हर्मोन पनि हो । कहिलेकाहीँ शरीरका विभिन्न दुखाइ, संक्रमण वा इन्फ्लामेसन हटाउन यसलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ । यसलाई ठिक मात्रामा प्रयोग गरेमा मस्तिष्कको क्षमता बढ्ने, व्यक्तिलाई उत्प्रेरित गराउन सकिने र यसले दुःखाई पनि कम गराउँछ । 

 यो हर्मोन मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले निकाल्ने एक किसिमको हर्मोन हो, जसले मृगौलामाथि रहेको एड्रिनल ग्रन्थी उत्तेजित बनाई कोर्टिसोल हर्मोन उत्पादन गर्दछ । उत्पादित हर्मोन रक्तसञ्चारमा गएपछि तुरुन्तै शरीरमा प्रतिक्रिया देखाउँछ । फलस्वरुप कलेजोले ग्लाइकोजिनबाट ग्लुकोज बनाउन थाल्छ, रक्तचाप बढ्छ, पसिना आउँछ, श्वासप्रश्वास छिटोछिटो हुन्छ, मुटुको गति बढ्छ, व्यक्ति सतर्क हुन्छ र पाचन प्रक्रिया कम हुन थाल्छ । 
प्राकृतिक रुपमा कोर्टिसोल हर्मोन बिहानीपख सबैभन्दा बढी उत्पादन हुन्छ, जसले गर्दा रातभर सुतेको अवस्थामा नबनेको ऊर्जा उत्पादन हुन थाल्छ, निद्रा खुल्छ र उठ्न सकिन्छ । यसरी उत्पादन भएको कोर्टिसोल अब बिस्तारै दिनभरमा कम हुँदै जान्छ । र, सबैभन्दा कम उत्पादन रातीमा सुत्नु अघिको समयमा हुन्छ । 

सामान्यतया कोर्टिसोलको उत्पादन र कार्यको प्रक्रिया यस्तो भएतापनि कहिलेकाहीँं तनावको अनुभव भएमा दिउँसो र राती पनि उत्पादन हुने गर्छ, यसले रातीमा निद्रा पर्दैन । तर कहिलेकाहीँं रातीमा ड्युटी गर्नुपर्ने खालका व्यक्तिको बिस्तारै बानी पर्दै जाने र कोर्टिसोल उत्पादनको तालिका पनि त्यहीअनुसार परिवर्तन भई दिउँसोमा कम र रातीमा बढी उत्पादन हुने गर्छ ।

कोर्टिसोल हर्मोनका अन्य प्रभाव
-    शरीरमा नुन र पानीको सन्तुलन नियन्त्रण गर्ने
-    एन्टीइन्फ्लामेटरी काम गर्ने
-    स्मरण क्षमता राम्रो बनाउन सहयोग गर्ने
-    रक्तचाप नियमित बनाउने
-    बिहान उठ्न मद्धत गर्ने
-    रोग प्रतिरोधात्मक प्रणाली नियमित राख्ने
-    वृद्धि विकास नियमित गर्ने

कोर्टिसोल हर्मोन उत्पादन हुन रोक्ने प्रणालीमा हाइपोथालामस, पिट्युटरी ग्रन्थी र एड्रिनल ग्रन्थीको महत्वपूर्ण भूमिका हुन्छ । यदि कोर्टिसोल हर्मोन रगतमा कम वा बढी मात्रामा भएमा मस्तिष्कले एड्रिनल ग्रन्थीलाई आदेश दिई नियन्त्रण गर्दछ ।
कोर्टिसोल हर्मोनको मात्रा बढी भए देखापर्ने लक्षण
-    चिन्ता
-    डिप्रेसन
-    थकान
-    पाचन प्रणालीमा समस्या- कब्जियत, वायु तथा पखाला
-    टाउको दुख्ने
-    मुटुका रोगहरू लाग्ने
-    चिडचिडाहट
-    स्मरण र ध्यान केन्द्रीत गर्नमा समस्या
-    प्रजनन् समस्या- नपुंसक, महिनावारी अनियमित, महिलाको अण्ड उत्पादनमा समस्या
-    निद्रामा समस्या
-    अभ्यास पछिको पूर्ववत् अवस्थामा पुग्न ढिलाइ
-    तौल बढ्ने
-    एड्रिनल ग्रन्थीमा ट्युमर र क्यान्सर 
कोर्टिसोल हर्मोन कम उत्पादन भएमा देखापर्ने लक्षण
-    तौल घट्ने
-    दीर्घकालीन रुपमा थकान
-    चक्कर लाग्ने
-    छालामा कालो दाग देखा पर्ने
-    मांसपेशी कमजोर हुने
-    पाचन प्रणालीको समस्या
-    भोक नलाग्ने
-    न्यून रक्तचाप
-    मुड परिवर्तन हुने आदि ।
कोर्टिसोल हर्मोनको तह बढ्न नदिन अपनाइने उपाय 
राम्रोसँग निदाउने- निदाउन अवरोध गर्ने परिस्थिति हटाउने र रातीमा काम नगर्ने ।
-    नियमित रुपमा दैनिक अभ्यास गर्ने- दैनिक अभ्यास गर्दा निद्रा राम्रो पर्छ र तनाव कम हुन्छ ।
-    तनाव नलिने- सकभर स–साना कुरालाई लिएर तनाव नलिने ।
-    गहिरो श्वास प्रश्वासको अभ्यास गर्ने- यदि लामो र गहिरो श्वास प्रश्वास गर्ने हो भने पारासिम्पाथेटिक स्नायु प्रणाली सक्रिय भई आराम र पाचन राम्रो हुने तथा कोर्टिसोल घट्ने गर्छ ।
-    मनोरञ्जन तथा हाँसोको अभ्यास गर्ने- हाँस्दा इन्डोर्फिन हर्मोन उत्पादन हुने र कोर्टिसोल घट्ने गर्छ भने मनोरञ्जनले पनि तनाव हटाई शान्त बनाउँछ र कोर्टिसोल कम हुन्छ ।
-    स्वस्थकर सम्बन्ध कायम गर्ने- तनाव कम गर्ने र आफ्ना छिमेकी, साथीभाइ, सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम गर्दा तनाव नहुने र कोर्टिसोलको तह घट्ने हुन्छ ।
-    प्रशोधित माछा, मासु, उच्च सुगरयुक्त खाना, क्याफिन र अल्कोहोल जस्ता खाना खाएमा कोर्टिसोलको तह बढ्ने भएकाले नखाने बरु फलफुल, तरकारी, पातलो मासु, होल ग्रेन र स्वस्थकर चिल्लो खाएमा तनाव कम हुने, मुड राम्रो हुने र कोर्टिसोल घट्ने गर्छ ।

एड्रिनालिन हर्मोन
यो शरीरलाई असरबाट बचाउने (फाइट र फ्लाइट) हर्मोन पनि हो, जसले तनावयुक्त परिस्थितिको सूचना पाउँछ र तुरुन्त नयाँ काम गर्न थाल्छ । जस्तै तीब्र गतिमा कार चलाइरहेको अवस्थामा एक्कासी आफ्नो लेन परिवर्तन भई दुर्घटना हुन थालेमा एक्कासी कारलाई घुमाई आफ्नो लेनमा ल्याई सम्भावित दुर्घटना टार्नु एड्रिनालिन हर्मोनको काम हो । 

रगतमा यसरी एक्कासी एड्रिनालिनको तह बढेमा मुटु ढक्क फुल्छ, मांसपेशीमा दबाब उत्पन्न हुन्छ, छिटोछिटो सास चल्न थाल्छ र पसिना आउन सक्छ । एड्रिनालिनले थप ऊर्जा पनि प्रदान गर्छ, जसले उच्च शक्तिका साथ खतरनाक परिस्थितिबाट भाग्न सक्ने र ध्यान केन्द्रीत समेत गराइदिन्छ र खतराबाट जोगिन सकिन्छ ।

नरइपिनेफ्रिन हर्मोन

यो पनि एड्रिनल ग्रन्थीबाट उत्पादन हुने एड्रिनालिन जस्तै हर्मोन हो । यसले तनाव भएको बेला चनाखो बनाउने, सतर्क राख्ने र ध्यान केन्द्रीत बनाउने काम गर्छ । त्यस्तै शरीरमा तुरुन्त आवश्यक नपर्ने अंगहरूबाट रक्तप्रवाह अति आवश्यक मांसपेशीमा सुचारु गराइदिन्छ, ताकि उच्च बल पैदा भई काम सम्पन्न गर्न मद्धत मिलोस् ।

अन्तमा, सबै सुखको आधार भनेको सु–स्वास्थ्य नै हो । आयुर्वेद उपचार पद्धतिका अनुसार जसका त्रिदोष (वात, पित्त, कफ) ठीक छन्, खानेकुरा पचाउने पेटका अग्नि (जठराग्नि) ठीक छन्, शरीरलाई धारण गर्ने धातुहरु (रस, रक्त, मासु, बोसो, ह-ी, मज्जा तथा वीर्य) सही अनुपातमा छन्, बाह्य तथा भित्री अंगहरुले ठीक ठीक किसिमले काम गरिरहेका छन् र आत्मा पनि खुसी छ भने त्यस्तो व्यक्तिलाई स्वस्थ व्यक्ति भनिन्छ । 
स्वस्थ शरीर र मनका लागि तीन स्तम्भ आहार, निद्रा र ब्रह्मचर्य अपनाउनुपर्छ । ती बाहेक व्यायाम, स्नान र ध्यान पनि स्वास्थ्यको लागि नभइ नहुने तत्व हुन् । जसले सधैं खुसीको अनुभूति दिलाउँछ र तनाव हुँदैन । 

लेखक जीवनशैली परिवर्तन शीर्षकमा विद्यावारिधि तहका शोधार्थी र सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप