शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साइबर अपराधबाट कसरी जोगिने ?

बुधबार, १५ भदौ २०७९, ११ : ०७
बुधबार, १५ भदौ २०७९

सामाजिक सञ्जाल अहिलेको संसारमा व्यक्तिहरूको लागि नभई नहुने कुरा भएको छ । वर्तमान समयमा कुनै पनि व्यक्ति यसको प्रयोगबाट वञ्चित छैन । विश्वका अधिकांश देशको डिजिटल युगमा सामाजिक सञ्जालको ठूलो योगदान छ । जसरी डिजिटल युगले फड्को मार्दैछ । त्यसै गरी अपराध कर्म पनि बढ्दै गएको छ । विश्वका अधिकांश साइबर अपराधमा सामाजिक सञ्जालको प्रयोग बढी भएको पाइन्छ ।

उदाहरणको रुपमा एकजना युवतीलाई फेसबुकमार्फत् चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  ईलाम घर भइ राजधानीमा व्यवसाय गर्दै आएका अमन पाण्डेलाई हालै पक्राउ गर्यो । प्रहरीका अनुसार फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि अमनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार युवती एक्लै चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका अमनले युवतीलाई घुम्ने बहानामा त्यहीँबाट पोखरा लगे ।

पोखरा लगेपछि चारैजना पोखरास्थित  एक होटलमा बास बसे । सो क्रममा अमन र अर्का युवकले युवतीलाई बलात्कार गरे  । घटनापछि युवतीले काठमाडौं आएर प्रहरीवृत्तमा आफू बलात्कृत भएको उजुरी दिइन् । उजुरी लगत्तै प्रहरीले अमनलाई राजधानीबाट पक्राउ गर्यो ।

उता २४ वर्षीया  शमिला (नाम परिवर्तन) सामाजिक सञ्जाल ‘इमो’ मार्फत् सम्पर्कमा आएका युवक लक्ष्मीकान्तसँग दुइ साता च्याट गरिन् । सो क्रममा नम्बर साटासाट गरिन् । फोनमा उनीहरु विवाह गरेर घरजम गर्न सहमत भए ।

विराटनगर घर भएका  लक्ष्मीकान्तले  दुइ सातापछि शर्मिलालाई फोन गरेर भने, ‘आज  तीनकुने चोकमा भेटौँ, मन्दिरमा विवाह गरौं ।’ त्यसको केही दिनपछि शर्मिला लक्ष्मीकान्तलाई भेट्न गइन् । विवाह गरेर घरजम गर्ने सपना सम्हालेर तीनकुने चोकमा आएकी शर्मिलालाई लक्ष्मीकान्तले ट्याक्सीमा चढाएर गेष्ट हाउसमा लगे । अनि बलात्कार गरे ।

सामाजिक सञ्जालको नकारात्मक प्रयोगले समाजमा यसले विकृति पैदा गरिरहेको छ । साइबर अपराधमा कम्प्युटरलाई अपराधको साधनको रुपमा लिइन्छ । अर्थात् साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो ।

अहिलेको युगमा सामाजिक सञ्जालको उपयोगबाट कोही व्यक्तिपनि वञ्चित छैन । विज्ञान तथा प्रविधिको युगमा सामाजिक सञ्जालमा मानिसको प्रायः दिनचर्या बितेको देख्न सकिन्छ । करिब ६० प्रतिशतभन्दा बढी महिला साइबर बुलिङ (बदमाशी) को शिकार भएका छन् । नेपालमा पनि प्रायः स्कूल तथा कलेजका युवायुवतीहरु यसको चपेटामा परेको देख्न  सकिन्छ । साइबर अपराधका घटनामा वृद्धि भइरहेको नेपाल प्रहरीको वार्षिक तथ्याङ्कले देखाएको छ ।

साइबर अपराधमा परे कहाँ उजुरी गर्ने ?

 

सामाजिक सञ्जालबाट महिलाहरु साइबर अपराधमा परेपछि समाजको डर त्रासले कसैसँग शेयर गर्दैनन् । जसले गर्दा मानसिक तनावमा हुन्छन्, यसले आत्महत्याको संख्यामा बृद्धि भएको देख्न सकिन्छ । आफ्नो इज्जत जान डरले सामाजिक सञ्जालबाट हुने तनाव कसैसँग शेयर नगर्नाले  साइबर अपराधीहरुलाई फाइदा पुगेको देखिन्छ ।

त्यसतै धेरै  महिलालाई साइबर अपराधको रिपोर्ट कहाँ र कसरी गर्ने भन्ने अन्योलमा हुँदा अपराधीहरूको मनोवल अझै उच्च भएको देख्न सकिन्छ । जसकारण समाजमा दिनप्रतिदिन साइबर अपराध वृद्धि भैरहेको छ  ।

यदि तपाईं कुनै साइबर आपराधमा पर्नुभयो भने नजिकको प्रहरी कार्यालय वा साइबर सेलमा गएर उजुरी दिन सक्नुहुन्छ । यदि तपाई भौतिक रुपमा उपस्थिति हुन नसके नेपाल प्रहरीको ईमेल 

[email protected] वा [email protected] वा  साइबर ब्यूरोको सम्पर्क नम्बर ०१–४२१९०४४, ०१–४२१९०४८ ,९८५१२८६७७० मार्फत पनि उजुरी दिन सकिन्छ । साइबर शाखाले अनलाइन तथा अफ्लाइनमा दिइएको उजुरीमाथि पनि डील गर्दछ । उजुरी दिएपछि तपाईंको व्यक्तिगत जानकारी गोप्य । त्यसैले निर्धक्क भएर उजुरी दिन सकिन्छ ।

साइबर अपराधबाट बच्ने उपाय

तपाईं कुनैपनि अज्ञात साइटमा आफ्नो व्यक्तिगत विवरण साझेदारी नगर्नुहोस् । तपाईंको जन्मदिन, बीचको नाम वा प्रेमिकाको नाममा आधारित पासवर्ड प्रयोग नगर्नुहोस् । ह्याकरहरूले यस प्रकारको पासवर्ड सजिलैसँग तोड्न सक्छन् । त्यसैले कडा पासवर्डको प्रयोग गर्नुपर्छ ।

कहिल्यै अनावश्यक सफ्टवेयर वा एपलिकेशन जस्तै  डेटिङ एप, अनलाइन गेमिङलाई अज्ञात स्रोतबाट इन्स्टल नगर्नुहोस् । जब तपाई इमेल चेक गर्दै हुनुहुन्छ वा मेसेन्जरमा च्याट गर्दै हुनुहुन्छ, तब कुनै पनि अज्ञात व्यक्तिले पठाएको सन्देशमा संलग्न लिंकमा क्लिक गर्दा होशियार हुनुहोस् । सामाजिक सञ्जालमा चिनजान भएकालाई भेट्नै परे भरपर्दो साथी लिएर जानुहोस् । उसको तीनपुस्ते पत्ता लगाउनु होस् ।

लेखक इन्जिनियर तथा साइबर सुरक्षा विश्लेषक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई कुमार अभिनव
ई कुमार अभिनव
लेखकबाट थप