शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला कार्यकर्ताको तानातानमा माधव नेपाल : जाने कता रौतहट १ कि काठमाडौँ २ ?

यस्तो छ दुई निर्वाचन क्षेत्रमा स्थानीय तहमा पाएको मतको अवस्था
बुधबार, १५ भदौ २०७९, ०७ : ५०
बुधबार, १५ भदौ २०७९

चुनाव आउन झन्डै ८० दिन बाँकी रहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव लड्ने दुई निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ । 

यी दुवै निर्वाचन क्षेत्रमा माधव नेपालको घर छ । पहिलो जन्मघर रहेको रौतहटको निर्वाचन क्षेत्र नम्बर १ हो भने अर्को काठमाडौँ क्षेत्र नम्बर २, जहाँको उनी स्थायी बासिन्दा हुन् । यी दुवै निर्वाचन क्षेत्रसँग माधव नेपाल भिजेका छन्, यो बाहेक उनी चुनाव लड्ने अर्को वैकल्पिक क्षेत्र छैन भन्दा फरक पर्दैन । 

चुनावको मिति नजिकिएसँगै माधव नेपाल काठमाडौँ क्षेत्र नम्बर २ र रौतहट क्षेत्र  नम्बर १ का कार्यकर्ताको तानातानमा परेका छन् । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश स्तरीय बैठक तथा काठमाडौँ जिल्ला स्तरीय बैठकले काठमाडौँ क्षेत्र नम्बर २ मा नेता नेपाललाई उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । रौतहटको जिल्ला कमिटी भन्दा एक कदम अगाडि बढेर उनको उम्मेदवारीलाई काठमाडौँ जिल्ला कमिटीले स्वीकृत गरिसकेको छ । 

काठमाडौँ २ का कार्यकर्ता : अध्यक्ष नेपालले जित्ने बलिया आधार धेरै छन्

एकीकृत समाजवादी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज नितेश पौडेलले माधव नेपालले काठमाडौँ क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने बताए । प्रदेश, जिल्ला, क्षेत्र सबै तहको बैठकबाट नेपालको नाम उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस भएको उनले बताए । 

उनले रौतहटबाट पनि उम्मेदवार बन्न माग आएपनि काठमाडौँबाट चुनाव लड्ने दाबी गरे । पौडेलले भने–‘उता (रौतहट)बाट पनि माग हो, यताबाट पनि माग छ, तर काठमाडौँबाट उठ्नुहुन्छ । काठमाडौँ क्षेत्र नम्बर २ मा पार्टी अध्यक्ष बाहेक अरू कसैलाई उम्मेदवार बनाउने कुरा भएको छैन । प्रतिनिधि सभाको निर्वाचनमा पार्टी अध्यक्षलाई उम्मेदवार बनाएर जाने सर्वसम्मतिले निर्णय गरेका छौँ, उहाँलाई चुनाव जिताउनका लागि पार्टीको भेला बैठकका कार्यक्रमहरू गरिरहेका छौँ । क्षेत्र नम्बर २ मा फेरी पनि पार्टी अध्यक्ष नै आउनुपर्छ भन्ने माग छ ।’ चुनावको अगाडि काठमाडौँको नेतृत्व परिवर्तन गर्दै काठमाडौँ जिल्ला अध्यक्षमा एल.पी. श्रेष्ठलाई चयन समेत गरिएको छ । श्रेष्ठले गत स्थानीय तहको चुनावमा सोही निर्वाचन क्षेत्र अन्तर्गत गर्ने शंखरापुर नगरप्रमुखको प्रतिस्पर्धामा काँग्रेससँगको गठबन्धनबाट दोस्रो स्थान पाएका थिए । 

स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा वडाध्यक्षहरूले पाएको मत अनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा रहेको छ । तर सो क्षेत्रका इन्चार्ज पौडेल भने स्थानीय तहमा आएको मतले प्रभाव नपार्ने दाबी गर्छन् । उनले भने–‘स्थानीय तह चुनावमा त स्थानीयले आफन्त, परिवार, गाउँमा भएको, विगतमा झगडा परेको, आफूलाई सहयोग गरेको नगरेको आधारमा मतमा प्रभाव पर्छ भने अबको चुनाव राष्ट्रिय चुनाव हो, त्यस्ता कुराले असर गर्दैन ।’ 

माधव नेपालले विगतमा गरेको कामका आधारमा काठमाडौँ क्षेत्र नम्बर २ मा जित हात पार्न कुनै गाह्रो नरहेको दाबी गरे । उनले भने–‘हामीले जनताको मन जितेका छौँ, जनताका लागि सकेको काम गरेका छौँ । एउटा व्यक्तिलाई मात्र नभई समग्र समाजलाई परिवर्तन गर्ने गरी हामी लागेका छौँ । यसले गर्दा हामीलाई जित्न समस्या छैन ।’

काठमाडौँ  क्षेत्र नम्बर २ का इन्चार्ज पौडेलले दाबी गरेजस्तै रौतहटका नेता कार्यकर्ताले पनि माधव नेपाललाई नै उम्मेदवारको रूपमा खोजिरहेका छन् । 

रौतहट १ का कार्यकर्ता –‘उहाँ रौतहटको ब्राण्ड हो सबैको मन मुटुमा हुनुहुन्छ’ 

गत स्थानीय तह चुनावको मत हेर्दा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पहिलो दलको रूपमा रहेको छ । जुन माधव कुमार नेपालको प्रभाव क्षेत्रको रूपमा रहँदै आएको छ । माधव नेपालको पुर्ख्यौली घरको नाता जोडिएको यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा उनको पार्टीले बिना गठबन्धन २ स्थानीय तहमा जित हात पारेको थियो । गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले जितेको थियो भन्ने अन्य ४ पालिकामा पनि राम्रै मत पाएको थियो । 

गौर नगरपालिकाका प्रमुख एवं एकीकृत समाजवादी मधेस प्रदेश सदस्य समेत रहेका शम्भु साहले रौतहटका नेता कार्यकर्ताले आगामी निर्वाचनमा माधव नेपाल नै उम्मेदवार खोजेको बताए ।  

उनले भने–‘अध्यक्षज्यूलाई रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्नुपर्छ भनेर हामीले प्रेसर बनाइरहेका छौँ । उहाँले यहाँबाट नै चुनाव लड्नुहुन्छ भनेर हामीले विश्वास लिएका छौँ ।’

उनले काठमाडौँमा भन्दा रौतहट क्षेत्र नम्बर १ मा चुनाव जित्ने बलियो आधार रहेको बताए । दुईवटा स्थानीय तहमा विना गठबन्धन चुनाव जितेको बताए । सो क्षेत्रमा रहेको दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जितेको, माधव नारायण गाउँपालिकामा काँग्रेसले जितेका कारण गठबन्धन बनाएर जाँदा चुनाव जित्ने निकै बलियो आधार रहेको उल्लेख गरे । गठबन्धन नबनाईकन चुनाव उठ्दा पनि नेता नेपालले जित्ने उनले बताए । 

साहले भने–‘माधव नेपाल हाम्रो यहाँको लागि ब्राण्ड हो । उहाँलाई मन पराउने एक एक रौतहटवासीले उनलाई मन मुटुमा राखेका छन् । उहाँलाई रौतहटवासीले जहिले पनि स्वागत गरेको छ । रौतहट क्षेत्र नम्बर १ बासीले उहाँलाई जहिले पनि साथ सहयोग गरेका छन् ।’

रौतहट जिल्लावासी जनता, कार्यकर्ताको माग नेपाल नै उम्मेदवार बनुन् भन्ने माग गरेकोले रौतहटवासीको कुरा अध्यक्ष नेपालले मान्ने उनले बताए । 

काठमाडौँ बलियो कि रौतहट ?  

माधव नेपालको पुर्ख्यौली विरासत समेत जोडिएको रौतहटमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले अपेक्षाकृत मत पाएको छ । 

स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी पहिलो दल बनेको छ । यो दलले कूल १९ हजार ६९८ मत पाएको थियो । दोस्रो स्थानमा नेपाली काँग्रेसले १६ हजार ९२८ मत पाएको थियो भने तेस्रोमा लोकतान्त्रिक समाजवादी पार्टीले १२ हजार ६२ मत पाएको थियो । चौथोमा स्थान पाएको जनता समाजवादी पार्टीले ८ हजार २४१, पाँचौँमा माओवादी केन्द्रले ८ हजार १९१ मत र छैटौँ स्थानमा नेकपा एमालेले ७ हजार ३८५ मत पाएको थियो । 

यस आधारमा बिना गठबन्धन पनि माधव नेपालका लागि यो क्षेत्र जित हात पार्नका लागि सहज देखिन्छ । 

यस्तो छ काठमाडौँ २ को मत परिणाम : 

चुनावी इतिहास हेर्दा नेता नेपालले काठमाडौँ क्षेत्र नम्बर २ बाट २ पटक विजय हासिल गरेका छन् भने १ पटक पराजय भोगेका छन् । 

२०६४ सालमा भएको संविधान सभा चुनावमा उनी यो क्षेत्रमा माओवादी केन्द्रका झक्कु सुवेदीसँग पराजित भएका थिए भने २०७० सालमा भएको चुनावमा विजयी भएका थिए । सो चुनावमा उनी रौतहट क्षेत्र नम्बर १ बाट बिजयी भएपछि काठमाडौँ क्षेत्र नम्बर २ त्यागेर रौतहट रोजेका थिए । उनले छोडेपछि भएको उपनिर्वाचनमा भने नेपाली काँग्रेसका दीपक कुँइकेल विजयी भएका थिए । 

यस्तै २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमाले माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनका उम्मेदवार रहेका उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

गत स्थानीय तहको निर्वाचनको मत हेर्दा यो क्षेत्रमा नेता नेपालको दल तेस्रो स्थानमा रहेको छ । काठमाडौँको शंखरापुर नगरपालिकामा नेपाली काँग्रेससँग गठबन्धन गर्दा नगर प्रमुखका उम्मेदवार एलपी श्रेष्ठले दोस्रो स्थान हासिल गरेका थिए भने कागेश्वरी मनोहरा नगरपालिकामा भने राम्रो नतिजा ल्याउन सकेन । स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा एकीकृत समाजवादी तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १७ हजार ३२८ मत पाएको छ । दोस्रो स्थानमा रहेको काँग्रेसको १४ हजार १२८ मत, तेस्रो स्थानको एकीकृत समाजवादीले ७ हजार ९११ मत, चौथो स्थानमा रहेको राप्रपाको ७ हजार २०० मत र माओवादी केन्द्रले ३ हजार १३१ मत पाएको थियो । 

काँग्रेस माओवादीसँग गठबन्धन बनाएर चुनावमा जाँदा काठमाडौँ २ पनि नेता नेपालको लागि अनुकूल देखिएपनि उनको ध्यान भने रौतहट तिर सोझिएको छ । उनले आफू कुन क्षेत्रबाट चुनावमा उठ्ने भन्नेबारेमा हालसम्म केही खुलाएका छैनन् तर उनको सक्रियता भने रौतहटमा बढको छ । गत साउन १९ गते सहरी विकास मन्त्री मेटमणि चौधरी सहित रौतहटको गौरमा उनले ४२ करोड रुपैयाँ लागतका विभिन्न योजनाहरूको शिलान्यास गरेका थिए । उनले त्यहाँ सहरी विकास मन्त्रालयको बजेटमा टाउन हल, धर्मशाला, विवाह भवन तथा विभिन्न सडकहरूको शिलान्यास गरेका थिए । यसरी विकासका विभिन्न योजनाहरू रौतहटमा लगेका कारण नेपाल सोही क्षेत्रबाट उम्मेदवारी दिने मनस्थितिमा छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप