बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत

बुधबार, १५ भदौ २०७९, २२ : ४४
बुधबार, १५ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ ।​ लोसपाका एक नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं । उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं । संवाद सकारात्मक नै छ ।’

पाँच दलीय गठबन्धनभित्र मधेस प्रदेशमा सिट बाँडफाँटको सहमति हुन नसक्ने लोसपाको बुझाइ छ । गठबन्धनको कार्यदलमा भएको छलफलमा पनि मधेसको सिट बाँडफाँट सबैभन्दा जटिल देखिएको छ ।

मधेसको एउटै निर्वाचन क्षेत्रमा कांग्रेस, जसपा, माओवादी र एकीकृत समाजवादी गरी ४ दलको दाबी छ । मधेस प्रदेशमा गठबन्धनभित्र तालमेल हुन नसकेको अवस्थामा कांग्रेसले आफूसँग तालमेल गर्ने लोसपाको अपेक्षा छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार वर्तमान परिदृश्य हेर्दा मधेस प्रदेशमा पाँच दलबीच गठबन्धन हुने सम्भावना कम छ । कांग्रेस पनि मधेसमा लोसपालाई साथमा लिएर गठबन्धनका बाँकी दलसँग मैत्रिपूर्ण प्रतिस्पर्धाको पक्षमा छ । तर मधेस प्रदेशमा गठबन्धन नहुँदा पाँच दलीय गठबन्धन देशभर भाँडिने भय कांग्रेसमा छ ।

कांग्रेसका ती पदाधिकारीले भने, ‘मधेसमा उपेन्द्र यादव, माधव नेपाल लगायतका केही नेतालाई सहयोग गर्न हामीलाई केही गाह्रो थिएन । तर प्रतिनिधिसभाका ३२  र प्रदेशसभा ६४ सिट बाँडफाँट गर्न बढो गाह्रो भएको छ । तर मिलाउने कोसिस भने भइरहेको छ ।’

ती पदाधिकारीका अनुसार लोसपालाई गठबन्धनमा सामेल गराउने विषयमा प्रधानमन्त्री देउवा प्रस्ट देखिन्छन् । उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउने विषयमा उहाँ प्रस्ट देखिनुहुन्छ । तर कसरी मिलाउने भन्नेबारे केही भन्नु भएको छैन ।’

राष्ट्रपतिको आशयमा लोसपा असहमत

यसबीचमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । लोसपा स्रोतले भन्यो, ‘नागरिकता विधेयकका विषयमा सरकारले अघि बढाएको प्रक्रियाप्रति राष्ट्रपति असन्तुष्ट देखिनुभयो, तपाईंहरुले भेटेर कुरा गर्दा केही सहज हुन्छ कि भनेर सत्ता गठबन्धनका नेताहरुले हामीलाई भन्नुभयो ।’

त्यसपछि प्रधानमन्त्री देउवासँगको सल्लाहमा लोसपाका नेताले राष्ट्रपतिसँग भेट गरेको ती नेताको भनाइ छ । राष्ट्रपति भण्डारी र लोसपाका शीर्ष नेताबीच नागरिकता विधेयकका विषयमा छलफल भएको थियो । राष्ट्रपति भण्डारीले लोसपाका नेतालाई नागरिकता विधेयक अब प्रमाणीकरण हुने बताइएकी थिइन् ।

 

सोमबार कांग्रेस नेतासँगको छलफलमा पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत दिएकी थिइन् । तर छलफलमा राष्ट्रपति भण्डारीले लोसपालाई एमालेसँग तालमेलका लागि सुझाएको लोसपाका एक नेताले रातोपाटीलाई बताए ।

ती नेताका अनुसार सत्ता पक्षले निषेधको राजनीति थालेको आशय व्यक्त गर्दै राष्ट्रपतिले प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकी थिइन् । यद्यपि लोसपाका नेताहरुले भने राष्ट्रपतिको उक्त सुझावलाई खासै वास्ता गरेका छैनन् ।

यसैबीच सोमबार राष्ट्रपतिलाई भेटेका राप्रपाका नेताले एमालेसँग तालमेल गरेर जाने बताउन थालेका छन् । चुनावी तालमेल नेकपा एमाले र राप्रपा दुवैका लागि आवश्यक रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप