शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागलुङ–बेनी सडक सञ्चालन

मङ्गलबार, १४ भदौ २०७९, २१ : १२
मङ्गलबार, १४ भदौ २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले ब्याकुहोलोडर परिचालन गरेर सडकमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन हुन थालेको जानकारी दिए । पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो । 

हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुङ्गाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो । 

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । 

पहिरो पन्छाए पनि पहिरोको जोखिम कायमै रहेकाले आवतजावतका क्रममा सावधानी अपनाउन पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो ।

गत बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिला चोट लागेर घाइते हुनुभएको थियो । पहिरोले गुब्डिरहेका सवारी साधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पु¥याएको छ । 

हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत असारमा खबरा र हाँडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप