आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकामा मनपरी : कांग्रेसनिकट संस्थालाई वर्षैपिच्छे अनुदानको ओइरो

श्वेत पत्रमा लुकाइयो विवरण
मङ्गलबार, १४ भदौ २०७९, १९ : १९
मङ्गलबार, १४ भदौ २०७९

केही दिन अगाडि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आर्थिक अवस्था जर्जर भएको भन्दै १०६ पृष्ठको श्वेत पत्र सार्वजनिक गरे । उक्त पत्रमा २२ बुँदे निष्कर्ष उल्लेख छ । त्यहाँ कर्मचारी धेरै भएको, विगत ५ वर्षमा ठुला काम नभएको, जथाभाबी नगरपालिकाको जग्गा वितरण गरेको, महानगरपालिकाको आन्तरिक आय मापदण्ड अनुसार नपुगेको, बजेट खर्च हुन नसकेको लगायतका थुप्रै विषय उल्लेख छ । तर, श्वेत पत्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानलाई जथाभाबी बाँडिएको रकमको भने कुनै विवरण छैन ।

यो विवरण लुकाउनुमा स्वयं नागेश कोइरालाको पनि स्वार्थ देखिन्छ । किनकि सबैभन्दा धेरै त विराटनगर महानगरपालिकाले कांग्रेसका नेता शेखर कोइराला संरक्षक रहेको संस्था नोना कोइराला स्मृति प्रतिष्ठानको नाममा खर्च गरेको देखिन्छ ।

कांग्रेस नेता शेखर कोइराला संरक्षक रहेको नोना कोइराला स्मृति प्रतिष्ठान, सुजाता कोइराला संरक्षक रहेको जिपी कोइराला फाउण्डेसन, कांग्रेस नेतृ मृदुला कोइरालाको नेतृत्वमा रहेको सुशील कोइराला स्मृति फाउण्डेसन र रमेशजंग रायमाझीको नेतृत्वमा रहेको कृष्णप्रसाद भट्टराई स्मृति फाउण्डेसनले प्रत्येक बजेटमा अनुदान पाउने गरेका छन् । 

महानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ सालदेखिको बजेटमा कांग्रेस निकटका उल्लेखित फाउण्डेसन, प्रतिष्ठान र संघ संस्थालाई विभिन्न नाममा बर्सेनि लाखौँ बजेट दिइने गरेको छ । हालसम्म ती संस्थाहरूलाई झन्डै ७ करोड रुपैयाँ दिइएको छ । त्यति मात्रै होइन महानगरपालिकाले दुई संस्थाका लागि ९ कठ्ठा जग्गा पनि उपलब्ध गराएको छ । 

अर्को कुरा त प्रतिष्ठान, फाउन्डेसन आदिको नाममा बजेट दुरुपयोग गर्ने कार्यमा कांग्रेस नेतृत्वलाई एमालेको समेत साथ र साझेदारी देखिएको छ । एमालेसँग जोडिएका मदन भण्डारी स्पोर्टस एकेडेमी र मनमोहन अधिकारीका नाममा पनि बजेट छुट्याइएको छ । 

विराटनगर महानगरपालिकाले केही दिन अगाडि वेबसाइटमा राखेको अहिलेको चालू वर्षको बजेटमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा मात्रै विभिन्न चार शीर्षकमा बजेट छुट्याएको छ । कांग्रेस नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूका लागि मात्र यो वर्ष झन्डै २ करोड रुपैयाँ सञ्चालन तथा पुँजीगत अनुदानको व्यवस्था गरिएको छ । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको नाममा महानगरले विभिन्न चार शीर्षकमा ४५ लाख ७५ हजार रुपैयाँ बजेट छुट्याएको हो । गिरिजाप्रसाद कोइराला प्रतिष्ठान भवन निर्माण गर्न २८ लाख ७५ हजार रुपैयाँ, पुस्तिका प्रकाशन गर्न ५ लाख रुपैयाँ, बालश्रम सम्बन्धी काम गर्न ५ लाख रुपैयाँ, र गिरिजाप्रसाद कोइराला हक्की प्रतियोगिता सञ्चालन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाको नाममा स्थापना भएको सुशील कोइराला फाउन्डेसनको भवन निर्माणका लागि ५७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । फाउन्डेसनको भवन विराटनगर-८ मा बन्ने उल्लेख छ । 

कांग्रेस नेता डा. शेखर कोइरालाकी आमा स्वर्गीय नोना कोइरालाको नाममा स्थापना भएको नोना कोइराला प्रतिष्ठानको भवन निर्माणका लागि महानगरले ५७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । उक्त भवन विराटनगर-४ मा निर्माण गरिनेछ । 

यतिमात्र होइन पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरिएको कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको भवन निर्माणका लागि २८ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यी प्रतिष्ठानहरूलाई दिने सबै बजेट समानीकरण अनुदानबाट उपलब्ध गराइने गरी स्रोत सुनिश्चित गरिएको छ । 

चालु आर्थिक वर्ष २०७९/८० मा कांग्रेस निकट नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरूका लागि करिब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको महानगरपालिकाले तिनै प्रतिष्ठान र फाउन्डेशनहरुले गत वर्ष सम्पन्न गरेको कामको भुक्तानी गर्न भन्दै थप १ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ । 

गत आर्थिक वर्षमा नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निर्माणमा खर्च भएको ७३ लाख ०२ हजार ९३५ रुपैयाँ भुक्तानी दिन बाँकी शीर्षकमा बजेट विनियोजन गरिएको छ । यस्तै गत वर्ष गिरिजाप्रसाद कोइराला फाउन्डेसनको भवन निर्माणका लागि महानगरले दुई वटा शीर्षकमा बजेट छुट्याएर काम गराएको थियो । फाउन्डेसनको तला थप गर्दा खर्च भएको १६ लाख ५० हजार  २६३ रुपैयाँ र वडा नम्बर १ बाट सोही शीर्षकमा खर्च गरेको ९ लाख ५९ हजार १७२ रुपैयाँ चालु वर्षमा भुक्तानी गर्ने गरी बजेटको व्यवस्था गरिएको छ । 

यसैगरी गत वर्ष विराटनगर ८ स्थित सुशील कोइराला फाउन्डेसनलाई भुक्तानी दिन ३८ लाख ८२ हजार रुपैयाँ चालु वर्षको बजेटमा विनियोजन गरिएको छ । यी प्रतिष्ठान र फाउन्डेसनका लागि गत वर्ष र चालू आर्थिक वर्षको गरी महानगरले ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । 

यता, नेकपा एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीको नाममा स्थापना भएको मदन भण्डारी फाउन्डेसनको नाममा पनि चालु वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । फाउन्डेसनको भवन भने उर्लाबारीमा बन्दैछ । चालु वर्षको बजेटमा मदन भण्डारी फाउन्डेसनको संरचनागत विकासका लागि ७ लाख रुपैयाँ र मदन भण्डारी फाउन्डेसन उर्लाबारीको भौतिक संरचना निर्माणका लागि २३ लाख रुपैयाँ विनियोजन गरिएको हो । 

यस्तै आर्थिक वर्ष २०७७/०७८ को रातो किताबमा पनि विराटनगर महानगरपालिकाले उल्लेखित संघ संस्था तथा प्रतिष्ठानलाई मनग्ये अनुदान दिएको थियो । उक्त वर्ष नोना कोइराला स्मृति भवन निर्माणको लागि ४८ लाख ५० हजार, नोना कोइराला ट्रष्ट कै नाममा पुनः ९ लाख ३३ हजार ३०२ रुपैयाँ छुट्याइएको थियो । यस्तै नोना कोइराला स्मृति प्रतिष्ठान सचेतना कार्यक्रमका लागि ७ लाख, मदन भण्डारी स्पोर्टस एकेडेमीका लागि १० लाख, संघ संस्थागत पुँजीगत योजनामा पुनः नोना कोइराला स्मृति प्रतिष्ठान भवन निर्माणको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमा संघीय सरकारको समानीकरण अनुदानमार्फत २७ लाख र जनसहभागिताबाट ३ लाख रुपैयाँ लगानी हुने उल्लेख छ । 

सोही वर्ष जिपी कोइराला स्मृति भवन निर्माणको नाममा २० लाख रुपैयाँ र सुशील कोइराला फाउन्डेसनको नाममा ३० लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो । 

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को रातो किताबमा पनि विराटनगर महानगरपालिकाले ती संस्थाहरूलाई उल्लेख्य बजेट दिएको छ । महानगरले संस्थागत चालू अनुदानतर्फ सो वर्ष मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ७ लाख, सुशील कोइराला आश्रमको नाममा ५ लाख, पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्का लागि २ लाख, जिपी कोइराला फाउन्डेसन व्याडमिन्टन प्रतियोगिताका लागि २ लाख, मनमोहन अधिकारी, शैलजा आचार्य स्मृति खेलकुद कार्यक्रमका लागि संयुक्त ८ लाख रुपैयाँ प्रदान गरेको छ । 

सो वर्ष जिपी कोइराला संग्रहालय निर्माणका लागि भन्दै २५ लाख, जिपी कोइराला स्मृति भवन निर्माणका लागि २० लाख र नोना कोईराला ट्रष्ट भवन निर्माणका लागि ५० लाख रकम संस्थागत पुँजीगत अनुदान तर्फ विनियोजन गरेको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ को दायित्व सरेर आएको जिपी फाउन्डेसनको नाममा भुक्तानी गर्न बाँकी पनि १४ लाख ९३ हजार ६४४ रुपैयाँ देखिन्छ । 

महानगरले अनुदान मात्रै होइन सुशील कोइराला फाउण्डेसन र सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको कृष्ण प्रसाद भट्टराई फाउन्डेसनलाई जग्गा पनि दिएको छ । सुशील कोइराला फाउन्डेसनलाई विराटनगर ८ मा रहेको ३ कठ्ठा र कृष्ण प्रसाद भट्टराई फाउन्डेसनलाई विराटनगर ४ मा रहेको ६ कठ्ठा जग्गा दिएको महानगरपालिकाले जनाएको छ । 

भुक्तानी गर्नै ४० करोड बाँकी, आम्दानी भने ४९ करोड

जम्माजम्मी ४९ करोड आन्तरिक आम्दानी गर्न सफल विराटनगर महानगरपालिकाले गत वर्ष सञ्चालन गरेको योजनाको भुक्तानी गर्नै ४० करोड रुपैयाँ बाँकी छ । यस्तै चालु वर्षमा विभिन्न संघ संस्थाहरूलाई उपलब्ध गराउने सञ्चालन तथा पुँजीगत अनुदान रकम ८ करोड भन्दा बढी छ । जुन गत आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आम्दानी बराबर हो । 

चालु वर्षमा महानगरपालिकाले करको दर घटाएको छ । करको दर घटेको र दायरा खासै फराकिलो नभएको अवस्थामा महानगरको आन्तरिक आम्दानीमा उल्लेख्य सुधार हुने अवस्था देखिँदैन । वार्षिक सरदर २ अर्ब ६० करोड आम्दानी गर्दै आएको महानगरपालिकाले चालू आर्थिक वर्षका लागि पनि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप