शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निमित्त आईजीपीको निर्देशन : ‘कुनैपनि स्वरूपको गुण्डागर्दी नियन्त्रणमा निर्मम हुनुस्’

चाडपर्वमा चोरी र लुटपाट रोक्न निर्देशन
मङ्गलबार, १४ भदौ २०७९, १८ : ३५
मङ्गलबार, १४ भदौ २०७९

निमित्त प्रहरी महानिरीक्षक सहकुल थापाले कुनैपनि स्वरूपको गुण्डागर्दी नियन्त्रणमा निर्मम हुन मातहतलाई निर्देशन दिएका छन् । मंगलबार सवै प्रदेशका डिआईजीपीहरू र हेडक्वार्टरका विभागीय प्रमुख, निर्देशनालय र महाशाखा प्रमुखहरुलाई निर्देशन दिँदै थापाले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन भनेका हुन् । प्रहरी प्रधान कार्यालयबाट निर्देशन संवोधन गर्दै उनले भने–‘ कुनैपनि स्वरूपको गुण्डागर्दीको नियन्त्रणमा निर्मम हुनुस् ।’

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन अमेरिका भ्रमणमा छन् । सिंहको अनुपस्थितिमा कार्यबाहक आईजीपीको जिम्मेवारी लिएका थापाले प्रहरी कमाण्डरहरुलाई पहिले आफू नमुना र उदाहरणीय बन्न निर्देशन दिए । ‘कमाण्डरले संगत गर्ने मानिसको पृष्ठभूमिले सेवाग्राही र मातहत दर्जाले कमाण्डरको मुल्यांकन गर्छन्’ थापाले भनेका छन्–‘गुण्डागर्दी तथा आपराधिक पृष्ठभूमि भएकासँगको नेक्सस किमार्थ सह्य हुँदैन् ।’

नदिजन्य पदार्थको अवैध उत्खनन र अवैध गिटी बालुवामा प्रहरीको मिलेमतो हुन नदिन निमित्त प्रहरी प्रमुख थापाले प्रदेशका डिआईजीहरुलाई आग्रह गरेका छन् । प्रदेश प्रहरी कार्यालयका डिआईजी, नेपाल प्रहरी प्रदेश कार्यालयका एसएसपीहरु र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरु भर्चुअल माध्यमबाट निर्देशन सम्बोधनमा सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

विगतमा भएका निर्वाचनको कमजोरी पहिचान गरेर मंसिर ४ मा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी तयारी गर्न थापाले मातहतलाई आग्रह गरेका छन् । थापाको भनाई उदृत गर्दै प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले भने–‘सवै राजनीतिक दलहरूसँग समदुरी कायम गरेर संभावित झडप र हिंसाको पुर्वआकलन गर्नुस् ।’

नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वमा हुनसक्ने चोरी र लुटपाट लगायतका घटना हुन नदिन योजनाबद्ध रुपमा प्रहरी परिचालन गर्न थापाले निर्देशन दिएका छन् । चाडपर्वमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन दुर्घटनामा पर्न सक्ने भन्दै थापाले प्रभावकारी चेकजाँच गर्न निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप