शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका युवा पुस्तालाई प्रश्न : भावी प्रधानमन्त्रीमा एमालेभित्र ओली किन निर्विकल्प ?

मङ्गलबार, १४ भदौ २०७९, १८ : ०६
मङ्गलबार, १४ भदौ २०७९

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा समानुपातिक सांसद भइसकेका र राष्ट्रियसभा सदस्य तथा स्थानीय निर्वाचनमा उम्मेदवार भएकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । भदौ १२ गते सम्पन्न पार्टीको चौथो केन्द्रीय कमिटी बैठकले एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी नदिने गरी यस्तो निर्णय गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा भने यो मापदण्ड लागु नहुने भएको छ ।

ओलीलाई भने जुनसुकै बेला अवसरको ढोका खुला रहने नीति एमालेले लिएको देखिन्छ । यहाँसम्म कि, नवौं महाधिवेशनमा एमालेले ७० वर्षे उमेर हद लागू गरे पनि ओलीकै लागि सहज हुने गरी १० औं महाधिवेशनले सो प्रावधान हटाएको थियो । आसन्न निर्वाचनमा पनि एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने देखिन्छ । पार्टीलाई पाको नेतृत्व नै आवश्यक हो भने पनि ओलीकै उमेरको हाराहारीमा रहेका तथा उनी जत्तिकै संघर्ष गरेका अन्य नेता एमालेमा नभएको भने होइन ।

यो निर्णयले एमालेमा अध्यक्ष ओलीबाहेकका नेता, त्यसमाथि पनि युवा पुस्ता सरकारको नेतृत्व गर्न असफल हुन् ? भन्ने प्रश्नसमेत उब्जाएको छ । झण्डै दुई तिहाई बहुमतको सरकार टिकाउन नसकेको, पार्टी एकता जोगाउन नसक्नुका साथै एमाले पनि विभाजन गराएको र दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप ओलीमाथि लाग्दै आएको छ । झण्डै नौ लाख सक्रिय सदस्य रहेको एमालेले यो चुनावमा ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने बाध्यता के आइलाग्यो ? के युवा पुस्ता ओलीका सामुन्ने असफल नै भएका हुन् ? भनेर एमालेका केही युवा नेतालाई रातोपाटीले प्रश्न गरेको छ ।

यो प्रश्नमा सबैजसो युवा नेताले राष्ट्रियता जोगाउने, समृद्धि र विकासको लक्ष्य पूरा गर्ने सवालमा अध्यक्ष ओली आवश्यक रहेको ठानिएकाले उनलाई नै अघि सारिएको बताएका छन् । ‘पार्टीको चुनावी कमाण्डर जो हो, उसैले नेतृत्व गर्नुपर्छ भन्ने मान्यता हो,’ एमाले केन्द्रीय सचिव योगेश भट्टराई भन्छन्, ‘स्वाभाविक हिसावले पार्टीको नेतृत्व पनि अध्यक्षले नै गरेकाले भावी प्रधानमन्त्रीका रुपमा पनि उहाँलाई अघि सारिएको हो ।’

अर्का युवा नेता तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे एमालेमा नेतृत्व गर्नसक्ने युवा नेताहरु एक से एक भए पनि अहिलेको अवस्थामा ओली राष्ट्रिय आवश्यकता भएको बताउँछन् । ‘अध्यक्षमात्रै नभएर उहाँको सबैलाई समेट्न सक्ने क्षमता र समस्याहरूमा जुध्न सक्ने ल्याकत छ’, गैरेले भने, ‘विकास र समृद्धिका विषयमा पार्टीले अघि सारेका योजना र कार्यक्रमको लक्ष्य हासिल गर्न पनि अध्यक्ष ओलीलाई अघि सार्ने कुरा स्वाभाविक हो ।’

अर्का युवा नेता तथा संघीय सांसद यज्ञराज सुनुवार पनि भट्टराई र गैरेको भनाइसँग सहमत छन् । ‘हिजोका दिनमा केपी ओलीले अघि सार्नुभएको देशको विकास र समृद्धिका अधुरा काम पूरा गर्न र सुखी नेपाली, सम्मृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न पनि उहाँ नै अघि सर्नु उपयुक्त हुन्छ भन्ने मान्यता हो’, सुनुवारको भनाइ छ । युवा नेता माधव ढुंगेल समकालीन राजनीतिमा केही आकांक्षा, दृष्टिकोण र सपना बोकेको पात्रका रुपमा रहेकाले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको बताउँछन् ।

राष्ट्रियताको जगेर्ना तथा विकास र समृद्धि हासिल गर्न पनि ओलीले अझै एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने आम मान्यता रहेकाले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारिएको अर्का युवा नेता महेश बर्तौलाको भनाइ छ । ‘राष्ट्रियता, विकास र समृद्धिका सवालमा उहाँले जुन अडान राख्नुभयो र कामहरु सुरु गर्नुभयो, त्यसका आधारमा पनि उहाँले नै यो मुलुकको नेतृत्व फेरि एकपटक गर्नुपर्छ भन्ने पार्टीको मात्र नभएर आम युवाको मत रहँदै आएको छ’, बर्तौलाले भने ।

पूर्व विद्यार्थी नेता ऐनसिंह महर पनि देशको परिवर्तनका लागि ओलीले हिजो अघि सारेको योजना र विकासको लक्ष्य हासिल गर्न ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताउँछन् । ‘हिजो उहाँले देशको परिवर्तनका लागि जुन योजना, दृष्टिकोण र सपना अघि सार्नुभयो, ती देशका अवश्यकता थिए’, उनले भने, ‘तिनै योजना पूरा गर्न ओलीलाई अघि सारेका हौं ।’

प्रस्तुत छ, युवा नेताहरुको भनाइ जस्ताको तस्तै:

चुनावी कमाण्डर जो हो उसैको नेतृत्व : योगेश भट्टराई 

पार्टीको चुनावी कमाण्डर जो हो, उसैले चुनावपछि बन्ने सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता हो । स्वाभाविक हिसावले पार्टीको नेतृत्व पनि अध्यक्षले नै गरेकाले भावी प्रधानमन्त्रीका रुपमा पनि उहाँलाई अघि सार्नु अनौठो होइन । सबैका आआफ्नै जिम्मेवारी छन् । युवाले पनि जिम्मेवारी पाएका छन् । तर पार्टीले चुनावी कमाण्डर अध्यक्षलाई नै बनाएकाले भावी प्रधानमन्त्री अर्थात् चुनावपछि बन्ने सरकारको नेतृत्व पनि उहाँले नै गर्नुपर्छ भनेर एमालेले उहाँलाई अघि सारेको हो ।

विकास र समृद्धिको लक्ष्य पूरा गर्न ओली आवश्यक : ठाकुर गैरे

केपी ओली देशको पूर्व प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत हो । अध्यक्षमात्रै नभएर उहाँको सबैलाई समेट्न सक्ने क्षमताका कारण र समस्याहरूमा जुध्न सक्ने ल्याकत भएकाले भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई अघि सारिएको हो । यसको अलावा अघिल्लो कार्यकालमा गर्न खोजेका र पूरा हुन नसकेका काम सम्पन्न गर्नका लागि पनि अध्यक्ष ओली नै भावी प्रधानमन्त्री उपयुक्त हो । विकास र समृद्धिका विषयमा पार्टीले अघि सारेका योजना र कार्यक्रमको लक्ष्य हासिल गर्न पनि अध्यक्ष ओली नै आवश्यक देखिन्छ । जहाँसम्म युवा पुस्ता असफल भएका हुन् भन्ने प्रश्न छ, यो सत्य होइन । युवा पुस्तालाई सँगसँगै लैजानुपर्छ भन्ने उहाँको दृष्टिकोण छ । यद्यपि पार्टीबाट प्रधानमन्त्री हुनसक्ने योग्यता पुगेका नेताहरु प्रशस्त हुनुहुन्छ । यति हुँदाहुँदै पनि अहिले समयको माग ओलीलाई नै अघि सार्नु उपयुक्त र सान्दर्भिक हुन्छ भन्ने पार्टी नेताहरुको बुझाई छ । यसको मुख्य कारण उहाँले मुलुकको विकासको अवधारणा जसरी अघि सार्नुभएको छ र पार्टी महाधिवेशनले अघि सारेको विचार दृष्टिकोणको नेतृत्व समेत उहाँले नै गरेकाले सरकारको नेतृत्व पनि उहाँले नै गर्दा लक्ष्य पूरा गर्न सकिन्छ भन्ने हो ।

चुनौती सामना गर्न फलदायी : यज्ञराज सुनुवार 

सवाल युवा र उमेरको होइन, सवाल ऊर्जाको हो । नेकपा एमाले देशमा रहेका सबै पार्टीभन्दा एकतावद्ध र सुदृढ पार्टी हो । यो पार्टीसँग विचार प्रस्ट र संगठन सुदृढ छ । एमालेलाई आन्तरिक र बाह्य अनेकौं घेराबन्दी गर्न खोजिएको छ । यो घेराबन्दीका बीचमा पार्टी अध्यक्षलाई कमाण्डर बनाएर हामी निर्वाचनमा होमिएका छौं । यस्तो अवस्थामा विविध चुनौती सामना गर्न अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा उपयुक्त हुन्छ भनेर अघि सारिएको हो ।

अर्को कुरा, पार्टी अध्यक्षसमेत ओली नै भएकाले उहाँलाई अघि सार्नु अनौठो होइन । हिजोका दिनमा केपी ओलीले अघि सार्नुभएको देशको विकास र समृद्धिका अधुरा काम पूरा गर्न र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न पनि उहाँ नै अहिलेको सन्दर्भमा प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । उहाँकै नेतृत्वमा स्थानीय चुनावमा चौतर्फी घेराबन्दी हुँदा पनि एमालेले लोकप्रिय मत ल्याउन सफल भएको इतिहास छ । त्यो अनुभवका आधारमा पनि पुनः ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा ट्याकल गर्न सकिन्छ भन्ने हो । केपी ओलीलाई अघि सार्दैमा युवा वा अरु नेताहरु असक्षम वा असफल भन्ने कुरा हुँदैन । एमालेमा अरु पनि एक से एक नेताहरु हुनुहुन्छ । ओलीकै नेतृत्वले युवाहरुलाई धेरै अवसर र नेतृत्वमा ल्याउने कामसमेत गरेको छ । यसले भोलिका दिनमा पनि युवाहरुको नेतृत्व विकास हुँदै जाने कुरामा दुईमत छैन भन्ने देखाउँछ ।

दृष्टिकोणमा नविनता, विचारमा स्पस्टता, कार्यशैलीमा पारदर्शीता र युवाहरुलाई समेट्न सक्ने खुबी भएकाले युवाहरुले उहाँलाई पूरापूर साथ दिन्छन् । यसको अर्थ युवाहरु अयोग्य भन्ने होइन तर भएकाहरुमध्ये पार्टी कमाण्डमा सबैभन्दा उपयुक्त भएकाले केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा चुनावी कमाण्डर र भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो ।

प्रतिस्पर्धाको हिसाबले ओली नै उपयुक्त : माधव ढुंगेल

आजको समकालीन राजनीतिमा उपयुक्त ठानेर नै अध्यक्ष ओलीलाई  भावी प्रधानमन्त्रीका रुपमा पार्टीले अघि सारेको हो । प्रतिस्पर्धाको हिसाबले पनि ओली नै उपयुक्त पात्र हुनुहुन्छ । अहिलेको समकालीन राजनीतिमा केही आकांक्षा, दृष्टिकोण र सपना बोकेको पात्रको रुपमा हामीले हाम्रो पार्टीभित्र अध्यक्षलाई लिएका हौं । फेरि पार्टीभित्र विवाद भएर वा छलफल भएर बहुमत अल्पमत पनि भएको होइन । सर्वसम्मत हिसावले पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने साझा निर्णय हो । त्यसले अहिलेको गठबन्धनको एमालेमाथिको एक सूत्रीय आक्रमणलाई निस्तेज पार्न केपी ओलीको नेतृत्व नै उपयुक्त हुन्छ भन्ने हो ।

नेकपा जोगाउन नसकेको वा संसद विघटन गरेको भन्नेजस्ता आरोप लगाउनुको कुनै अर्थ छैन । यसको दोष केपी ओलीलाई लगाएर अरु नेताहरु पानीमाथिको ओभानो हुने प्रयास गर्ने गरे पनि जनताले यसबारे बुझिसकेका छन् । तपाईले भनेका दुबै विषयमा प्रचण्ड वा माधव नेपालको पनि दोष छ । केपी ओलीलाई ५ वर्ष चलाउन दिएको भए यो अवस्था नै आउने थिएन । त्यसकारण ओलीप्रतिको तृप्ति राष्ट्रले प्राप्त गरिसकेको छैन भने उहाँले राष्ट्र विकासका लागि अघि सारेका योजना र अवधारणाले पनि साकार रुप लिइसक्न पाएका छैनन् । यदि उहाँले ५ वर्षको कार्यकाल पूरा गरिसकेको भए बेग्लै कुरा हो, त्यसकारण त्यो पूरै समय काम गर्न नपाएको हुनाले पनि ओली नै फेरि प्रधानमन्त्री हुने तथा विकास र समृद्धिको सपना पूरा गर्न उहाँको नेतृत्व आवश्यक ठानिएको हो ।

राष्ट्रिय आवश्यकता हो : महेश बर्तौला

केपी ओली अहिलेको राष्ट्रिय आवश्यकता नै हो । समकालीन राजनीतिमा देखिएका फिगरहरुमध्ये केपी ओलीले अरु एक कार्यकाल मुलुकको नेतृत्व गर्नु हितकर हुन्छ । त्यो राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न नै ओलीको उपस्थिति जरुरी हो । हिजो उहाँले दुई पटक सरकारको नेतृत्व गर्नुभयो । त्यस क्रममा राष्ट्रियता, विकास र समृद्धिका सवालमा जुन अडान राख्नुभयो र कामहरु सुरु गर्नुभयो, त्यसका आधारमा पनि उहाँले नै यो मुलुकको नेतृत्व फेरि एकपटक गर्नुपर्छ भन्ने पार्टीको मात्र नभएर आम युवाहरुको मत रहँदै आएको छ । यो मतका कारण पनि पार्टीका तर्फबाट एक कार्यकाल भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई अघि सार्नुपर्छ भन्ने आवश्यकता बोधका आधारमा निर्णय गरिएको हो ।

जहाँसम्म संसदमा युवा पुस्ताको उपस्थिति के हुन्छ भन्ने प्रश्नमा बढीभन्दा बढी युवाको उपस्थिति बढाउने कुरामा पनि एमाले प्रस्ट छ । स्वाभाविक रुपमा गणतन्त्र प्राप्तिका लागि आन्दोलन गर्ने पुस्ताहरू अहिलेको निर्वाचनबाट ठुलो संख्यामा जोडिनेवाला छ । अबको एक कार्यकालपछि भावी नेतृत्वमा चाहे त्यो सरकार होस् वा पार्टीकै नेतृत्व किन नहोस्, २०६२÷६३ को आन्दोलनबाट खारिएको पुस्ता अघि आउनेछ भन्नेमा दुईमत नहोला तर अझै एक कार्यकाल ओलीको आवश्यकता मुलुकले खोजिरहेको छ ।

योजना, दृष्टिकोण र सपना पूरा गर्न : ऐनसिंह महर

केपी ओलीलाई युवा असफल भएर भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको होइन । देशको र पार्टी आन्दोलनको समेत आवश्यकता भएर हो । हिजो उहाँले देशको परिवर्तनका लागि जुन योजना, दृष्टिकोण र सपना अघि सार्नुभयो, ती देशका अवश्यकता थिए । राष्ट्रियता, विकास र समृद्धि उहाँको योजना र मुल मन्त्र हो । ती योजना र सपनाहरु पूरा हुन सकिरहेका छैनन् । २०७४ सालमा हामी दुई पार्टी मिलेर चुनावमा जाँदा बहुमत ल्यायौं र पछि पार्टी एकता पनि भयो तर त्यो टिक्न सकेन । त्यसकारण राष्ट्रिय आवश्यकता बनेको न्यायसहितको समृद्धिको सपना साकार पार्न एमालेले बहुमत ल्याउनुपर्छ र ती योजना पूरा गर्नुपर्छ । त्यसका लागि ओलीको नेतृत्व आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप