बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित

मङ्गलबार, १४ भदौ २०७९, १७ : २४
मङ्गलबार, १४ भदौ २०७९

काठमाडौं केन्द्रित पर्यटकीय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । 

ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना पनि ल्याएको छ । नयाँनयाँ पर्यटकीय गन्तव्य विस्तारमा सरकार लागि परेको छ । तर लामो समयदेखि पर्यटक बस सेवा सञ्चालन गर्दै आएका व्यवसायी भने राज्यले आफूप्रति उपेक्षा गरिरहेको बताउँछन् । 

पर्यटक बस सेवा सञ्चालन गर्दै आएको व्यवसायीले केन्द्रीय पर्यटक बस टर्मिनल निर्माण गरिदिन आग्रह गरेको वर्षौं भयो । केही स्थानमा जग्गा पहिचान पनि भए । तर अहिलेसम्म केन्द्रीय पर्यटक बस टर्मिनलले मूर्तरूप लिन सकेको छैन । बसपार्क नहुँदा अहिले पनि व्यवसायीले सडकमै बस रोकेर गरेर पर्यटक चढाउने र ओराल्ने गरेका छन् । लामो समयसम्म कान्तिपथबाट पर्यटक बसले यात्रु चढाउने गर्दथे । विस्तारै यात्रु र व्यवसायीको सङ्ख्या पनि बढ्न थाल्यो । यात्रु र बसको चापका कारण कान्तिपथ क्षेत्रमा ट्राफिक जाम हुन थालेपछि केही वर्षअघिदेखि सरकारले सो क्षेत्रबाट पर्यटक बसले यात्रु चढाउन रोक लगायो । व्यवसायी सोह्रखुट्टे क्षेत्रबाट यात्रु चढाउने गर्न थाले । 

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष इश्वर शर्माले पर्यटक बस व्यवसायीलाई राज्यले उपेक्षा गरेको बताए । लामो समयदेखि केन्द्रीय पर्यटक बस टर्मिनल बनाउन सरकारसँग अनुरोध गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ छ । “सुरुआतमा व्यवसायीको सङ्ख्या र पर्यटकको सङ्ख्या थियो, पछिल्ला समय बजार विस्तार भएको छ, पर्यटकका साथै व्यवसायीको सङ्ख्या पनि बढेको छ”, उनले भने, “सडकमा पार्किङ गरेर यात्रु चढाउनुपर्ने बाध्यता छ, यसले ट्राफिक जामका साथै जोखिम पनि बढाएको छ ।”

सडकमै रोकेर पर्यटक चढाउँदा अन्तर्राष्ट्रियस्तरमा नेपाली पर्यटन क्षेत्रको सन्देश राम्रो नगएको अध्यक्ष शर्माको भनाइ छ । पर्यटक बस सेवालाई व्यवस्थित बनाउनुपर्छ भनेर व्यवसायीहरुले नै काठमाडौं महानगरपालिका–१६ बालाजु आसपासमा केन्द्रीय बस टर्मिनल बनाउन भन्दै जग्गा पहिचान पनि गरे । बस टर्मिनल बनाउन भनेर काठमाडौं महानगरपालिकामा प्रस्ताव पनि पठाइयो । तर तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यको पालामा बस टर्मिनल निर्माणको प्रक्रिया अघि बढ्न सकेन् । 

व्यवसायीले कामपाका प्रमुख बालेन्द्र साहलाई बस टर्मिनल बनाउन पुनःप्रस्ताव गरेका छन् । “वर्तमान प्रमुख साहले सार्वजनिकरुपमा पनि पर्यटक बस सञ्चालनका लागि छुट्टै ‘टर्मिनल’ बनाउने बताउँदै आउनुभएको छ”, टिवानका अध्यक्ष शर्माले भने, “हामीलाई आशा छ, अहिलेको नगर प्रमुखले व्यवसायीका समस्यालाई समाधान गर्नुहुनेछ ।” नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल नै मानिएको छ । विदेशी पर्यटक प्रायःठमेल क्षेत्रमा नै बसोबास गर्छन् । ठमेल बस्ने पर्यटकलाई लक्षित गरेर व्यवसायीले सोही क्षेत्र आसपास नै बस टर्मिनल बनाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । पोखरा र चितवनमा भने छुट्टै पर्यटक बस टर्मिनलन सञ्चालनमा छन् । जहाँबाट यात्रुले सहजरुपमा सेवा लिन सकेका छन् । 

अहिले काठमाडौंबाट विभिन्न पर्यटकीय गन्तव्यमा पुग्ने बस बिहान आठ  अगावै छुटिसक्छन् । काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, भैरहवा र जनकपुरमा दैनिक यात्रुवाहक पर्यटक बस सञ्चालन हुँदै आएका छन् । ती बस बिहानै यात्रु लिएर छुट्छन् । बसपार्कको स्थायी प्रबन्ध नहुँदा विभिन्न समयमा सेवा दिन नसकिएको उनको भनाइ छ । अहिले काठमाडौंबाट विभिन्न गन्तव्यका लागि दैनिक १५० बढी ठूला पर्यटक बस सञ्चालन हुँदै आएका छन् । सबैभन्दा धेरै बस पोखराका लागि छुट्छन् । चालीसभन्दा बढी कम्पनीले ठूला पर्यटक बसमार्फत पर्यटकलाई गन्तव्यमा पु¥याउँदै आएका छन् । पर्यटक ओसारपसार गर्ने साना ठूला सवारीसाधनको सङ्ख्या करिब पाँच हजार छन् । नयाँनयाँ पर्यटकीय गन्तव्यमा सेवा दिने गरी निजी क्षेत्र अगाडि बढेको अध्यक्ष शर्माले बताए । राजधानी बाहिर पनि अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै व्यवसायीले काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रीकृत गर्न थालेका छन् । 

“अहिले नयाँ गन्तव्यमा पनि पर्यटक बस सञ्चालन हुन थालेको छ, प्रदेश नं १ का र मधेस प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गरेर पर्यटक बस सञ्चालन हुन थालेका छन्”, उनले भने, “भारतीय पर्यटकलाई लक्षित गरेर पनि सीमा क्षेत्रबाट पर्यटक बस सञ्चाल गर्ने व्यवसायीको तयारी छ ।” व्यवसायीकै पहलमा काठमाडौं–जनकपुर पर्यटक बस सञ्चालनमा आइसकेको छ । छिट्टै बर्दियामा पनि बस सेवा सञ्चालन गर्ने तयारी छ । 

सरकारले स्वीका¥यो, ऐनले छेक्यो

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालको जुनसुकै भूगोलमा भ्रमण गर्ने नेपालीलाई पनि आन्तरिक पर्यटककैरुपमा स्वीकार गरिएको छ । स्वदेशी पर्यटक बोकेर हिँड्दा पर्यटक बसमा किन नेपाली बोकेको भनेर दुःख दिने प्रवृत्तिमा अझै कमी आएको छैन ।  

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई पर्यटकीय सवारी भनिने उल्लेख छ । ऐन संशोधन नहुँदा अझै पनि व्यवसायीले विभिन्न बहानामा दुःख पाइरहेको अध्यक्ष शर्माको गुनासो छ । व्यवसायीले यस विषयमा सरकारसँग विभिन्न चरणमा छलफल गरे । सरकारले आन्तरिक पर्यटकलाई पनि पर्यटक नै मान्यो । तर ट्राफिक प्रहरीले कहिलेकाहीँ पर्यटक बसले नेपाली चढाएको भन्दै दुःख दिने क्रम रोकिएको छैन । 

पर्यटकीय ‘सिजन’ र चाडवाडको आश

कोरोना महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । कति व्यवसायी पलायन भए । हजारौँले रोजगारी गुमाए । कोरोना महामारी विस्तारै शान्त हुँदै गएपछि पर्यटन क्षेत्र पुनःपहिलेकै अवस्थामा फर्कने व्यवसायीको आशा छ । 

“कोरोनापूर्वकै अवस्थामा व्यवसाय फर्कन सकेको छैन, कोरोना महामारी ओरालो लाग्न थालेसँगै विस्तारै व्यवसाय बढ्ने आशा गरेका छौँ”, अध्यक्ष शर्माले भने, “सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटकीय याम हो । यहीबीचमा नेपालीको मुख्य चाड तीज, दशैँ र तिहार पर्छन्, व्यवसाय फस्टाउने अपेक्षा छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप