मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

विद्युत निर्यातले व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदानः ऊर्जामन्त्री

मङ्गलबार, १४ भदौ २०७९, १५ : २६
मङ्गलबार, १४ भदौ २०७९

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन् । मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

मन्त्री भुसालले  देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् । 
 मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् । उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् । 
उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन् । 

मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन् । 

उनले भनिन्, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुक भित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । अर्को नेपालमा विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने जस्तो विद्युतीय भएको छैन । विद्युतीय सवारीको माग पनि बढेको छ । पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या भनेको ऊर्जा हो । विश्वका धेरै देशहरुलाई डिजेल  र पट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ नेपालमा डिजेल र पट्रोलको विकल्प रहेको छ । नेपालको विद्युत धेरै सस्तो रहेको छ । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । यो भन्दा विद्युत १० गुणा सस्तो रहेको छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन् । उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्यधिक रहेको बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप