शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा नेपाली मेला सम्पन्न, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, १४ भदौ २०७९, १४ : ५४
मङ्गलबार, १४ भदौ २०७९

 नेपाल र नेपालीको संस्कृति, रहनसहन र पहिचान बोकेको  १३ औं संस्करणको नेपाली मेला लन्डनको  केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न भयो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेलामा जातीय तथा सामाजिक संघसंस्थाले आ-आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परालाई झल्काउने खालका विविध प्रस्तुतिहरुको प्रदर्शन गरेका थिए । मेलामा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो । यसैगरी मेयर काउन्सिलर, नेपाली व्यवसायीलगायत हजारौं नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तमुधिं यूकेको आयोजनामा नेपाली दूतावास लण्डनको समेत सहकार्यमा हुँदै आएको नेपाली मेलाका प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र नेपालीको धर्म, संस्कृत र परम्परालाई विश्वमाझ चिनाउन पुर्याएको योगदानको लागि आयोजकलाई विशेष धन्यबाद दिए । 

नेपाली मेलामा आफूले सिंगो नेपाल नै देखेको बताउँदै विदेशमा रहेर पनि नेपाली परम्परा र संस्कृतिलाई उजागर गर्दै विभिन्न संघसंस्थाबीच भएको एकताले नेपाली कला संस्कृतिको प्रतिनिधित्व र विश्वसामू पहिचान दिएको उनले बताए । मेलामा प्रस्तुत गरिने झाँकी तथा नृत्यले थप उर्जावान बनाउने आचार्यले बताए । प्रवासमा बसेर पनि नेपाली कला संस्कृति, परम्परा, भेषभूषा र भाषालाई जगेर्ना गर्न यस मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ।

यसैगरी आयोजक संस्था तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले नेपाली मेला सबै नेपालीको साझा भएको र सबैको साथ र सहयोगले सन् २००९ देखि यहाँसम्म आउन सफल भएको बताए । आर्थिक रुपमा निकै खर्चिलो भएपनि सम्पूर्ण संघसंस्था व्यवसायीहरुको साथ र सहयोगले यसलाई निरन्तरता दिन्दै आएको र भावी दिनमा पनि निरन्तरता दिने उनले बताए ।

नेपाली संस्कार संस्कृतिको जगेर्ना, नयाँ पुस्तालाई मेलामार्फत कुलतमा नलाग्न प्रेरित गर्ने, स्थानीय समुदायसँग मित्रता बढाउने र अन्तरघुलन गर्ने उद्देश्यले नेपाली मेलाको आयोजना गरिएको तमुधिं यूके महासचिव परशुराम गुरुङले बताए ।

मेलामा संघसंस्थाले आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परालाई झल्काउने विभिन्न खालका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्षको सहभागिता निकै उल्लेखनीय रह्यो ।

मेलामा प्रदर्शनी गरिएका नृत्य र झाँकीहरुमध्येबाट सर्वोत्कृष्ट बन्न सफल घान्द्रुक समाज यूकेले यस वर्षको एम्बासडर कप हात पर्न सफल भयो । ११ सय पाउण्ड नगद र कपसहितको एम्बासडर कप’ लाई नेपाली दूतावास लन्डनले प्रायोजन गरेको हो । यसैगरी दोस्रो र तेस्रो हुने क्रमश: सिक्लेस पार्चे समाज यूके र तमु समाज यूकेले ७ सय र ५ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे ।

मेलामा प्रस्तुत झाँकीमध्ये सिक्लेस पार्चे समाज यूके पहिलो भयो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः घान्द्रुक समाज यूके र किरांत राई यायोक्खा रहेका थिए । संस्कृतिक नृत्यतर्फ तमु समाज यूके उत्कृष्ट बन्दै बन्न सफल भयो भने घान्द्रुक समाज यूके दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो।झाँकी र नृत्य दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने संस्थाले क्रमशः पांच सय, तीन सय र दुई सय पाउन्ड नगद पुरस्कार प्राप्त गरे ।

नेपाली मेलामा प्रस्तुत गरिएका झाँकी प्रतियोगिताको मूल्यांकनको लागि विमला सेने, गोमा राना, प्रमिला लाबुङ राई, पदम गुरुङ र कल्पना राईले निर्णायक मण्डलको भूमिका निर्वाह थिए । यसैगरी नृत्य प्रतियोगितामा निर्णायकको भूमिकामा सरु रानामगर, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङले निर्णायक मण्डलको जिम्मेवारी सम्हालेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके शाखाले पनि ‘एफएनजेयूके ’ लोगो अंकित टिशर्ट लगाएर ब्यानरसहित नेपाली मेलामा ऐक्यबद्धता जनाएको थियो । यसैगरी नेपालबाट बेलायत भ्रमणमा आएका पत्रकारहरु पनि मेलामा सहभागी थिए । नेपाली तारा दीपक लिम्बु, भ्वाइस अफ नेपालका उपविजेता तारा श्रीष मगरलगायतका विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

मेलामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध  नेपालीहरुले आ-आफ्नो व्यवसायको  प्रचार प्रसार तथा  प्रबर्धन गरेका थिए । नेपाली खानपान अन्तर्गतका मम, सेलरोटी, चटपटे लगायतका विविध परिकारहरुको दर्जनौं स्टलहरु राखिएका थिए । यसैगरी नेपाली भेषभूषालाई प्रतिनिधित्व गर्ने नेपाली दौरा सुरुवाल, सारी चोलो, ढाकाटोपी लगायतका नेपाली पहिरन पनि राखिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप