शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानवीय सेवासँग पनि जोडौँ तीज पर्वलाई

मङ्गलबार, १४ भदौ २०७९, १३ : १२
मङ्गलबार, १४ भदौ २०७९

तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थान उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरियाणा, गुजरात लगायतका स्थानमा करोडौ करोड धर्मालम्वीहरूले मनाउँदै आएका छन् । तीजलाई हरियाली तीज, कजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि नामबाट पनि मनाइन्छ । नेपाल लगायत भारतका विभिन्न स्थानमा धुमधामसंग हरितालिका तीज मनाइन्छ । यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित हँुदै गरेको देखिन्छ ।

तीज पर्वको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व रहेको छ । स्वयं माता पार्वतीले पनि नारीले आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यवहारिक रूपमा स्थापित गराउन तपस्या गरेर आफू अनुकूल वर छानी ब्यवहारिक रूपमा समाजमा अधिकार स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सकिन्छ । यो चाडले साँस्कृतिक रितिरिवाज परम्परा एवं गीत संगीत अनि भेषभूषालाई संरक्षण र सम्बद्र्धन गर्दै आएको छ । 

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ । श्रद्धापूर्वक श्रद्धालुहरू व्रत बस्ने, शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गरिन्छ । हाम्रो वैदिक षड्दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृति तत्व (जड तत्व)संग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात गरेको छ । तात्विक रूपमा प्रकृति र पुरूष (आत्मा) तत्वको मिलनको चाड हो यो । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपर्लाइ नै हाम्रा दर्शनले ब्रह्म भनेका र मानेको छ । 

तीजको दिन निराहार र निर्जला व्रत बस्न अघिल्लो दिनको साँझ र राती सात्विक खानेकुरा खाने प्रचलनलाई ‘दर’खाने भनिन्छ । तन मन पवित्र बनाउँदै व्रत बस्नु भन्दा अगाडि सात्विक खाना दर खाने चलन आफैमा ब्यवहारिक र वैज्ञानिक छ । तर अचेल महिनौ अगाडिदेखि दर खाने नाममा भोजभतेर चल्न थाल्छ ।  जाँड, रक्सी, माछामासु जस्ता तामसी खाना खाने खुवाउने चलन बढेको छ । यसले दरको नाममा विकृति छाएको छ ।  

तीज मनाउने नाममा पहिरन तथा गहना प्रदर्शन मौलाउँदै आएको छ । अनावश्यक भौतिक तडक भडकले समाजमा अस्वस्थ प्रतिस्पर्धा चलाउनुको साथसाथै, असक्षम नारीहरूका निम्ति आत्मस्वाभिमानमा चोट पुर्याएको छ । तसर्थ जति सकिन्छ, सादगी तवरले तीज पर्व मनाऔं । अनावश्यक देखावटी आडम्बरमा खर्च गर्ने पैसा असक्षम अति आवश्यक दिदीबहिनीहरूलाई तीजको उपहारस्वरूप साडी चोली किनेर दिऊँ । वालगृह, वृद्धााश्रम तथा गौशालाहरूमा दान गरौं । पढ्ने रहर र प्रतिभा भएका तर आर्थिक अभाव भएका छोरी नानीहरूलाई पढ्न सहयोग गरौं ।

दर खाने क्रमसँगै तीजको महिमा तथा ऐतिहासिक पृष्ठभूमिको बारेमा आपसी छलफल विचार विमर्श गर्न जरूरी छ । तीज पर्व मनाउदै धार्मिक तथा सांस्कृतिक कर्तब्य पुरा गर्नुको साथै, सामाजिक तथा मानवीय सेवासंग जोड्न आवश्यक छ । अन्यथा मनोरञ्जनका नाममा जानअञ्जानमा गरिने विकृतियुक्त कर्मले ऐतिहासिक महत्व बोकेको तीज पर्वलाई नै कालान्तरमा बदनाम गराउने छ । 

पण्डितज्यूहरूका अनुसार तीज मनपरेको पति पाउन र पतिको दीर्घायुका निम्ति निराहार तथा निर्जला व्रत बसेर पूजाआजाका साथ मनाउने चाड हो । यही भनाइ स्थापित हुँदै आयो । तर नारी अधिकारको प्रत्याभूति तथा सुनिश्चितताको दिवस पनि हो भन्ने महत्वपूर्ण कुराहरू जानअञ्जानबस भनिएन र भनिदैन । जसले गर्दा नारी अधिकार, स्वतन्त्रता र गौरवले भरपुर पर्वको वास्तविक महत्व उजागर हुन सकेन । 
लाखौं लाख तीजका व्रतालुहरू र श्रद्धालुहरूलाई व्रत र पूजाको साथसाथै नारी जागरण, अधिकार, सामाजिक तथा मानवीय सेवामा जोड्न र प्रेरित गर्न सके समाज, संस्कृति र सभ्यतालाई नै ठूलो लाभ पुग्ने छ । यिनै कमजोरीहरूका कारण हाम्रो धर्म र संस्कृतिलाई कमजोर बनाउन चाहनेहरूले, पुरूषका निम्ति नारीलाई भोको बसाउने नारी शोषणको चाड भनेर लाञ्छना लगाउनसम्म भ्याएको देखिन्छ । 

तसर्थ पण्डितज्यूहरूले पूजाआजा र ब्राह्मण दक्षिणाको अलावा आवश्यक जन तथा वालगृह, वृद्धाआश्रम अनि गौशालाहरूमा पनि दान सहयोग गर्दा राम्रो हुनुका साथै धर्म पनि हुन्छ भन्न हिच्किचाउन भएन । 
समय परिवर्तनशील छ । यो संगसंगै मानव समाज र सभ्यता परिवर्तन हुँदै आएको छ । तीज पर्व पनि  समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरी परिवर्तन हुन आवश्यक छ । हिजो माइती घर, ब्रत, पूजा, पंधेरो, चौतारो अनि मन्दिरहरूमा सीमित हुने पर्व आज सहर, बजार, बस्ती, ब्यवसाय, विद्युतीय सञ्चार माध्यम, सामाजिक सञ्जाललगायत हुँदै ब्यापकता लिएको छ ।

हिजो डम्फु, मादल,थपडी र मुर्चुङ्गामा गाइने तीजका भाका आज आधुनिक बाजागाजामा लयबद्ध छ । तीज गीतको माध्यमबाट आफ्ना दुःख, पीडा, अधिकार र स्वतन्त्रताको लय बाँध्दै समाजलाई जागरूक गराउने पर्व हरेक क्षेत्र र समुदायको पर्व बन्दै आएको छ । एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगीतिक उपलब्धि हासिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यी सकारात्मक पक्ष हुन् ।

हरेक पर्व महत्वपूर्ण हुन्छ । तथापि तीज पर्वले मातृसंसार अर्थात् आमा, छोरी अनि दिदीबहिनीहरूको ममतालाई उजागर गर्छ । व्रतालु तथा श्रद्धालुहरूको आभाबाट ममताको प्रकाश पुञ्जित भइरहेको हुन्छ । उक्त पवित्र निश्चल मानसिक एवं भावनात्मक अवस्थामा धार्मिक तथा आध्यात्मिक समर्पण र  कर्मका साथसाथै, सामाजिक एवं मानवीय सेवाको भावलाई मिसाउन सकेमा असहाय तथा अति आवश्यक जनहरूलाई सहयोग र सद्भाव मिल्ने छ । 

तर विगत केही वर्षदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता  तथा सजिलो आय आर्जनको लोभमा तीज जस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । यस्ता दुइअर्थी लाग्ने गलत सन्देशको गीत रोक्न सरकारी निकाय, संस्कृतिप्रेमी, कलाकार,गीतकार, संगीतकार, गायकहरू, सम्पूर्ण नागरिक समाज लागिपर्न जरूरी छ । अन्यथा वैभवशाली हाम्रा संस्कार, संस्कृति तथा चाड पर्वलाई हाम्रा आउने पुस्ताले भोलि इतिहासका पानामा उच्छृंखलताका फोहोरले पुरिएर नष्ट भएको अवस्थामा पाउने खतरा छ ।

तसर्थ सबै मिलेर हाम्रा वैभवशाली चाडबाडको महत्व उजागर गर्दै मनाऔं । संरक्षण, सम्वद्र्धन र विकास गरौं । आध्यात्मिक तथा धार्मिक कर्मका साथसाथै चाडपर्वलाई सामाजिक तथा मानवीय सेवा र सद्भावको रूपमा पनि मनाऔं । अनि मात्र चाडबाडसंगै हाम्रो सद्भाव, सौहार्द, संस्कृति अनि हाम्रोपन मौलाउने छ र जीवन्त रहदै अरूका निम्ति पनि उदाहरणीय बन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप